नेपालगन्जमा किन बन्दैन क्रिकेट मैदान ?



नेपाल समाचारपत्र, बाँके।

क्रिकेट भन्ने बित्तिकै नेपालगन्जको नाम अगाडि आउँछ। महिला क्रिकेटको कुरा गर्दा त नेपालगन्जलाई नजोडी हुँदैन। यहींबाट महिला क्रिकेटको उदय भएको हो। पुरुष क्रिकेटमा पनि नेपालगन्जको इतिहास लामै रहेको छ।

यी सबै इतिहास एउटा स्कुलको मैदानमा खेलेर भयो। नेपालगन्जको मंगलप्रसाद मावि (एमपी) को मैदानले यत्तिका क्रिकेटर उत्पादन गर्यो। महिला क्रिकेटसम्म आइपुग्दा कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानले केही हिस्सा ओगट्न आइपुगेको थियो।

नेपाली क्रिकेटका दोस्रो कप्तान (सन् १९९८) एलबी क्षेत्रीले एमपी स्कुलकै मैदानबाट शुरुआती खेल खेले। यद्यपि, उनी भारतको ‘ए’ डिभिजन क्रिकेट खेलेर आइसकेका थिए।

नेपालमा आएर खेल्दा एमपी स्कुलको मैदानमा उनले बल र ब्याट छोएका हुन्। क्षेत्री कोहलपुरमा बस्छन्। उनकै जोडबलले गर्दा कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनिसकेको छ।

महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापाको त एमपी स्कुलको मैदान घरजस्तै रह्यो। उनले पहिलोपटक बल र ब्याट नै यही मैदानमा समाइन्। यही मैदानमा प्रतियोगिता खेलेर लामो समयसम्म राष्ट्रिय टिमको नेतृत्व गरिन्। टिममा रहिरहिन्।

एमपी स्कुलको मैदानले यत्तिका खेलाडी उत्पादन गरेको कतै छिपेको छैन। तर, कहिलेसम्म एमपी स्कुलको मैदानको भरपर्ने ? प्रश्न यहाँनिर उब्जिएको छ। नेपालगन्जमा खोई त क्रिकेट मैदान ?

बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले क्रिकेट मैदानका लागि कराउँदा–कराउँदा थाकिसकेको बताउनुभयो।

‘हामीले मैदान चाहियो भनेर नेपालगन्ज उपमहानगरपालिकामा कराइरहेका छौं। तर, सुनुवाइ भएको छैन’, ५ नम्बर र कर्णाली प्रदेशका अध्यक्षसमेत रहेका थापाले भन्नुभयो– ‘मैदान नै नहुँदा नेपालगन्जमा क्रिकेट खस्किने खतरा बढेको छ।’

एमपी स्कुलको मैदान सिनियर खेलाडीका लागि सानो रहेको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार मैदान छैन। शिक्षकसमेत रहेका थापाले एमपीको मैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नरहेको अवस्थामा नेपालगन्जमा अर्को मैदान नै नहुँदा साह्रै समस्या भएको बताउनुभयो।

नेपालगन्ज फुल्टेक्रामा १० बिगाह बढी खाली जमिन रहेको छ। त्यो जग्गामा क्रिकेट मैदान बनाउन मेयर डा. धवलशमशेर राणाले छलफल चलाएका पनि हुन्।

त्यो जग्गा मुस्लिम र हिन्दू धर्मावलम्बीले ओगटेकाले सहमति जुट्न सकेको छैन। ‘क्रिकेटमा त हिन्दू र मुस्लिम भन्ने नै हुँदैन। सबैले खेल्ने हो। सबैको साझा हो’, क्यानका ५ नम्बर र कर्णाली प्रदेशका अध्यक्ष थापाले भन्नुभयो– ‘दुवै पक्षलाई अलि–अलि जग्गा दिएर बाँकीमा क्रिकेट मैदान बनाउँदा राम्रो हुन्थ्यो।’

नेपालगन्जमा एउटा पनि क्रिकेट मैदान नहुनु दुःखद हो। फुटबलका लागि नेपालगन्ज रंगशाला मात्रै होइन, वडा नं. १, धम्बोझीमा एकेडेमी नै बनिरहेको छ।

क्रिकेटका लागि अहिलेसम्म कुनै वडा (नगरपालिका) ले जग्गा उपलब्ध गराउन सकेको छैन। फुटबल संघका पदाधिकारीले जग्गा फेला पर्दा क्रिकेट संघका पदाधिकारीले किन खोज्न सकेनन् भन्ने प्रश्न पनि आउँछ। यो विषयमा क्रिकेट पदाधिकारीको कमजोरी देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्