समावेशी क्याबिनेट



ठूलो चर्चालाई चिर्दै अन्ततः कम्रेड ओलीको मन्त्रिपरिषद् गोडमेल भएको छ। स्वच्छ छवि र इमानदार भनिएका मन्त्री किकआउट भएका छन् भने अचाक्ली आलोचना बेहोरेका गोडमेलमा परेनन्।

फलना–फलना क्याबिनेटका खुङ्खार धमिरा हुन् भन्ने जान्दाजान्दै ओलीले फेरि किन काखी च्याप्या हुन् उनै जानुन्।

गोठमेल पनि अचम्मैको छ भन्या। महिला मन्त्रालय तर पुरुष मन्त्री, मन्त्री हुने चर्चैमा नरहेका त्रिपाठी मन्त्री, संविधान संशोधनबारे सधैं बखेडा झिकिरहने उपेन्द्रलाई स्वास्थ्यबाट कानुनमा सरुवा। अब कानुनको डाडुपन्यु उनै यादवलाई दिएसी फ्याटफ्याटी संविधान संशोधन हुन्छ त होला नि !

मास्कवादी चिन्तक भनिएका भुसालले कृषिको जिम्मेवारी पाएका छन् भने २५ सदस्यीय मन्त्रिमण्डलमा दुई मात्रै महिला, अरू सबै सुकिला भएसी मन्त्रिमण्डल पूर्णसमावेशी नै भयो क्यारे !

कृषिको यान्त्रीकरण गर्दै कृषि क्रान्ति गर्ने चर्चा भइरहेका बेला कृषिमन्त्री भुसालले कृषिको चिन्तन कसरी गर्छन् हेर्न बाँकी छ।

अन्य बेला टाइसुट लाउने तर शपथका लागि चप्पल पड्काउँदै शीतल निवास पुग्ने त्रिपाठीको ताल देख्दा धरहरा मात्रै होइन आम नेपाली तीनछक पर्या छन्। यस्तै अनेक चटक देख्न पाइने भएर त होला नी नेपाललाई चार जात छत्तीस वर्णको फूलबारी भन्या।

प्रतिक्रिया दिनुहोस्