असदद्वारा अमेरिकामाथि तेल चोरी गरिरहेको आरोप



वासिङटन (एजेन्सी)।

सिरियाका राष्ट्रपति बसर अल असदले अमेरिकामाथि तेल चोरी गरिरहेको आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैनिकहरू सिरियामा रहिरहनुले तेलबाट हुने आम्दानीले देशलाई हरेक महिना लाखौं डलर फाइदा हुने बताएका थिए।

ट्रम्पको उक्त टिप्पणीलाई लिएर असदले उक्त जवाफ दिएको हो। त्यसैगरी असदका प्रमुख समर्थक रुसले यसलाई ‘अन्तर्राष्ट्रिय डाका’ को संज्ञा दिएकोछ।

अमेरिकाले गत अक्टोबरमा उत्तरी सिरियाबाट आफ्ना सेना हटाउने घोषणा गरेको थियो तर पछि उनले कुर्द नेतृत्वमा रहेको बलसँग तेलको सुरक्षाका लागि ५ सय अमेरिकी सैनिक त्यहाँ राखिराख्ने बताएका थिए।
हाल सिरियाको तेल उत्पादनको लाभ कुर्द नेतृत्वमा रहेको शक्तिलाई प्राप्त भइरहेको छ।

अमेरिकी रक्षा मन्त्री मार्क एस्परले अमेरिकी सैनिक इस्लामिक स्टेटका लडाकुको मात्र नभई रुसी तथा सिरियाका सरकारी सैन्य बल विरुद्ध पनि तैनाथ रहेको बताए।

सिरियामा सैन्य परिचालनमा महत्वपूर्ण भुमिकामा रहेको रुसी सेना त्यहाँको तेल उत्पादन नियन्त्रण गर्ने प्रयास केन्द्रीत रहेका छन्। दुई देशबीच सन् २०१८ मा ऊर्जा सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए।

जसमा रुसलाई सिरियाको तेल तथा ग्यास क्षेत्रको पुनर्निर्माणलाई लिएर विशेष अधिकारी दिएको थियो।
राष्ट्रपति ट्रम्पले यसै सन्दर्भमा अमेरिकी सैनिकले सुरक्षा दिइरहेको तेलबाट वासिङ्टनलाई फाइदा हुने सम्भावना भएको बताएका थिए।

मध्यपूर्वमा अन्य देशको तुलनामा सिरियाको तेल भण्डार अत्यन्त सानो हो। तर देशको राजस्वको स्रोतका रूपमा तेल र ग्यास क्षेत्रमा यसको महत्वपूर्ण योगदान रहेको छ।

सन् २०१८ मा साउदी अरबियाको २ सय ९७ अर्ब ब्यारेल, इरानको १ सय ५५ अर्ब ब्यारेल र इराकको १ सय ४७ अर्ब ब्यारेलको तुलनामा सिरियासँग मात्र अनुमानित २ अर्ब ५० करोड ब्यारेल तेल भण्डार रहेको छ।

सिरियाको पूर्वी इलाका इराकी सीमा नजिक डेर अल जोर र हसकामा तेल भण्डार रहेको छ। तर सन् २०११ मा द्वन्द्व शुरू भएपछि तेलको उत्पादनमा गिरावट आएको हो।विश्व ऊर्जामा काम गर्दै आइरहेको ब्रिटिस पेट्रोलियमले सन् २०१९ को समीक्षाअनुसार सन् २००८ मा सिरियाले दैनिक ४ लाख ६ हजार ब्यारेल तेल उत्पादन गथ्र्यो।

सन् २०११ मा यसको उत्पादनमा ३ लाख ५३ हजार ब्यारेल कमी आएको र सन् २०१८ मा मात्र २४ हजारमा सीमित रहेको उल्लेख छ। यो कुल उत्पादनमा करिब ९० प्रतिशतले कमी आएको हो।

गृहयुद्धपछि सन् २०१४ को अन्त्यसम्ममा इस्लामिक स्टेटले एज–जोर प्रान्तस्थित देशकै सबैभन्दा ठूलो आयल फिल्ड अल ओमारसमेत पूर्वी सिरियाको अधिकांश तेलका कुवा आफ्नो कब्जामा लिएका थिए।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार सन् २०१५ मा तेल बिक्रीबाट उक्त कट्टरपन्थी समूहले ४ करोड डलर प्रतिमहिना आम्दानी गरेको थियो।

सन् २०१७ मा कुर्दको नेतृत्वमा अमेरिका समर्थित सिरिया डेमोक्र्याटिक फोर्स (एसडीएफ) सँग आफ्नो अन्तिम गढ हारेपछि आईएसको ती तेल क्षेत्रमाथिको नियन्त्रण समाप्त भयो।

प्रतिक्रिया दिनुहोस्