कांग्रेसले भन्यो – सत्ताघटक दलले आचारसंहिता उल्लंघन गरे

निर्वाचन आयोगको ध्यान जाओस्



रामकृष्ण चापागाईं, काठमाडौं।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार स्वयं र सरकारको नेतृत्व गरेको राजनीतिक दल, सो दलबाट निर्वाचित जनप्रतिनिधिबाट निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भइरहेको जनाएको छ।

मंसिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले कात्तिक ८ गतेदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता लागू गरेको थियो।

पछिल्लो समयमा निरन्तर आचारसंहिताविपरीत सत्ताको दुरुपयोग गरी उपनिर्वाचनलाई प्रभावित गर्ने काम भइरहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आरोप लगाएको हो।

उपनिर्वाचनको सन्दर्भलाई लिएर कांग्रेसले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पाँच सदस्यीय उपनिर्वाचन–२०७६ अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको थियो।

कांग्रेसले उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीका जिल्ला कार्यसमितिका निर्वाचित सचिवको संयोजकत्वमा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ (डीएलए)का जिल्ला अध्यक्ष र एक महिलासहित जम्मा पाँच जना रहने गरी अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको थियो।

यो अनुगमन समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आचारसंहिता उल्लंघनबारे निर्वाचन आयोगको पनि ध्यानाकर्षण गरिसकेको जनाएको छ। स

मितिका संयोजक लेखकले भन्नुभयो– ‘स्वतन्त्र, निष्पक्ष, भयरहित र धाँधलीरहित वातावरणमा सम्पन्न होस् भन्ने उद्देश्यका साथ निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसंहिता सरकार र सरकारघटक दलहरूले लगातार उल्लंघन गरिरहेका छन्।’

अनुगमनका क्रममा उपनिर्वाचन हुने स्थानहरूमा सरकार र सो सम्बद्ध पार्टीका सार्वजनिक पद धारण गरेका व्यक्ति निर्वाचन प्रचारप्रसारमा लागेको भन्दै लेखकले भन्नुभयो– ‘उनीहरूले विभिन्न स्थानमा पूर्वकार्यक्रममा नभएका नयाँ योजना, कार्यक्रम दिने, त्यस्ता आश्वासन दिने, बजेट दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभावित पार्ने कामसमेत गरिरहेका छन्।’

मतदाताको मौलिक अधिकारको प्रत्याभूति र विवादरहित निर्वाचनको सुनिश्चितताका लागि हरेक निर्वाचनमा निर्वाचन आयोगद्वारा राजनीतिक दलहरू, दलका सदस्य प्रतिनिधिहरू र अन्य सबै सरोकारवाला निकायका लागि लागू हुने गरी निर्वाचन आचारसंहिता बनाई जारी गरेको हुन्छ भन्दै कांग्रेसको अनुगमन समितिले भनेको छ– ‘आचारसंहिता विपरीत निर्वाचनलाई प्रभावित गर्ने कार्यहरू नगर्न सम्बन्धित सबैलाई आग्रह गर्दै निर्वाचन आयोगलाई पनि आचारसंहिताविपरीत हुने गरेका क्रियाकलाप रोक्न तदारुकताका साथ कार्य गर्न ध्यानाकर्षण गराउँछौं।’मंसिर १४ गते ३७ वटा जिल्लाको ५२ स्थानमा उपनिर्वाचन हँुदै छ।

जसमा प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र वडा अध्यक्ष ४३ रहेको छ।

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुनका लागि निर्वाचन ऐन, नियम र निर्वाचन आयोगद्वारा जारी गरिएको निर्वाचन आचारसंहिताको इमानदारीपूर्वक पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व र कर्तव्य हुने प्रतिपक्ष दल कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्