निगमको प्रादेशिक कार्यालयमा थप चार नयाँ लोडिङ्ग पोइन्ट निर्माण



यमलाल भुसाल, बुटवल ।

नेपाल आयल निगम ५ नम्वर प्रदेश प्रादेशिक कार्यालय भलवारी रुपन्देहीमा लोड अनलोडको क्षमता विस्तारका लागि लोडिङ्ग अनलोडिङ्ग (लोडिङ्ग पोइन्ट)सेड निर्माण गर्न लागिएको छ ।

स्थापना काल देखि चार वटा लोडिङ्ग पोइन्ट(टि एल एफ सेड)बाट ईन्धन लोड अनलोड गर्दै आईरहेको निगमले निगम हाता भित्र थप चार वटा नयाँ लोडिङ्ग पोइन्ट निर्माण गर्न लागेको हो ।

नयाँ बन्न लागेको लोडिङ्ग पोइन्टको निगमका ५ नम्वर प्रदेश प्रादेशिक कार्यालयका प्रमुख ईन्जिनियर सूरज शाहले बिहिबार एक कार्यक्रम वीच शिलान्याश गर्नुभयो ।

सो अवसरमा बोल्दै प्रमुख शाहले ढिलै भएपनि निगम ब्यवस्थापनले लोडिङ्ग पोईन्ट विस्तारको आवश्यक्तालाई महशुस गरेको र नयाँ सेड निर्माण पछि ब्यवसायी र उपभोक्ताको माग अनुसार ईन्धनको ब्यवस्थापन गर्न सहज हुने वताउनु भयो ।

उहांले भण्डारण क्षमताको हिसावले दयनिय अवस्थामा रहेको भलवारी डिपोमा सेड निर्माणका लागि गोपिनी गँगा ईन्जिनियरिङ्ग निर्माण एण्ड सप्लायर्स प्रा लि संग १ करोड ५ लाखमा चार महिना भित्र निर्माण कार्य सम्पन्न हुने गरी ठेक्का संझौता भएको जानकारी गराउनु भयो ।

निगमका प्रवन्धक शैलेन्द्र भुसालले यस क्षेत्रमा दैनिक १६–१७ लाख डिजल र ३–४ लाख पेट्रोलको माग रहेको भन्दै सो मागलाई सम्वोधन गर्न र सहज रुपमा उपभोक्ता सम्म ईन्धन पुर्याउने उद्देश्य अनुरुप नयाँ लोडिङ्ग पोइन्ट निर्माण कार्य अगाडि बढाईएको बताउनु भयो ।

निगम भित्र आवश्यक भौतिक संरचना निर्माण गर्ने जिम्मेवारी निगमको आफ्नै भएपनि यस क्षेत्रका ब्यवसायीहरुको अथक प्रयाशका कारण यसले मुर्तरुप लिएको भन्दै प्रवन्धक भुसालले सेड निर्माण संगै ईन्धनको ब्यवस्थापनमा धेरै सुधार र सहजता हुने बताउनु भयो ।

उहांले निगम भित्र आवश्यक भौतिक संरचना निर्माणका लागि प्रयाप्त ठाउं नभएपनि ब्यवसायीहरुको माग सुविधाका लागि क्यान्टिन, शौचालय निर्माण र पार्किङ्ग ब्यवस्थापनका टेण्डर आह्वान भैसकेको जानकारी गराउनु भयो ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले ब्यवसायीको पहलमा ब्यवसायीहरुले इन्धन ढुवानीका लागि निजि गाडी राख्न सफल भएको र नयाँ लोडिङ्ग सेड निर्माण संगै ब्यवसायीको सपना साकार भएको बताउनु भयो ।

विगतमा ईन्धनको लागि निकै सास्ती खेपेका यस क्षेत्रका पेट्रोलियम ब्यवसायीहरुले निगमको कुशल ब्यवस्थापनका कारण अहिले ठूलो राहतको महशुस गरेको वतानु भयो ।

पश्चिमाञ्चल ट्याँकर ढुवानी ब्यवसायी संघका अध्यक्ष राकेश कशौधनले नयाँ सेड निर्माण पछि लोडिङ्ग अनलोडिङ्गमा धेरै सहज हुने भन्दै भारतको बैतालपुर र मुगलसरायमा गाडीको संख्या बढाउन निगम ब्यवस्थापन संग आग्रह गर्नुभयो ।

निगमका सहायक प्रवन्धक काँशिराम ओलीको संचालन भएको कार्यक्रममा निर्माण कम्पनी गोपिनी गँगाका प्रोप्राईटर केशव दाहालले ठेक्का सम्झौता अगाडी नै निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।

निगममा पेट्रोलको भण्डारण क्षमता एक दिनलाई पनि नपुग्ने रहेकाले निगम ब्यवस्थापनले पेट्रोलको भण्डारण क्षमता बृद्धिका लागि मट्टितेलको ट्याँकीमा पेट्रोल भण्डारण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्