विद्युत् उत्पादन बढाउनुस्, खपत गर्ने बजारको चिन्ता लिनुपर्दैन: इप्पान



काठमाडौं ।

देशमा उत्पादित विद्युत् खेर जान्छ कि भन्ने चासो बढिरहेका बेला सरोकारवालाहरूले उत्पादन बढेपछि स्वतः माग सिर्जना हुँदै जाने बताएका छन् । ऊर्जा सम्मेलन, २०१९ को अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।

सम्मेलनको पहिलो सत्रमा बोल्दै भारतका पूर्वऊर्जा सचिव आरभी शाहीले विद्युत खपतका लागि चिन्ता लिनु नपर्ने बताए ।

‘हिजो बिहारमा पनि यही समस्या देखिएको थियो तर त्यहाँ उत्पादन बढ्दै गयो माग पनि सिर्जना हुँदै गयो,’ बिहारको उदाहरण दिँदै उनले भने, विद्युत खपत वा बजार समस्या होइन ।’

भारत–भुटान प्रसारण लाइन सञ्चालनमा रहेको, फेब्रुअरीसम्म ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइन ४०० केभी सञ्चालनमा आउने र २०२१ सम्ममा भारत–बंगलादेश डेडिकेटेड प्रसारण लाइन बन्ने उनले जानकारी दिए । उनका अनुसार भुटान, बंगलादेश, नेपालसँग ग्रीड सिंक्रोनाइज भई बिबिआइएन नै सिंक्रोनाइज हुनेछ ।

सीमापार बजारको ढोका खुल्ने हुँदा दक्षिण एसियामा मिश्रित ऊर्जाको विकास मात्र नभई बजार समेत विस्तार हुने शाहीको भनाइ थियो ।

अन्तरदेशीय विद्युत् व्यापारको कुरा चलिरहँदा निजी क्षेत्रले उत्पादन गरेको विद्युत्को दर के हुन्छ, कस्ले किन्छ भन्ने चिन्ता बढिरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव आशिष गर्गले बताए ।

‘प्रसारण लाइन कुन ढाँचामा प्रयोग हुन्छ, लगानी कहाँबाट आउँछ तथा नीतिगत व्यवधान कसरी हल हुन्छ भन्ने चिन्ता यथावत छ,’ उनले भने, ‘सरकारले सहजीकरण नगर्ने हो भने निजी क्षेत्रको अर्बौं लगानी खेर जाने खतरा समेत देखिन्छ ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रत्येक घण्टा मागमा उतार चढाव आइरहेको तर आपूर्ति निश्चित रहेको बताए ।

यो समस्या समाधान गर्न विद्युत्को क्षेत्रीय आदान प्रदान आवश्यक रहेको र डे अहेड तथा टाइम अहेड मार्केट त्यसका लागि प्रभावकारी हुने उनको तर्क थियो ।

यसैगरी, भुटानको ड्रुक ग्रीन पावर कर्पोरेशन लिमिटेडका प्रबन्ध निर्देशक छेवाङ रिन्जिनले देशमा ठूला लगानीकर्ता पाउन गाह्रो भए पनि भारतले सघाउनुका साथै उसैलाई बिक्री गरेर राम्रो आय गर्न सकेको बताए ।

‘हामीले सानो परियोजनाबाट भारतको बजार पाउन प्रयास गरेका थियौं,’ उनले भने, ‘अहिले भारतले, डे अहेड, टाइम अहेड जस्ता धेरै विकल्प ल्याएको छ, यसबाट धेरै सहज भएको छ ।’

बंगलादेशका सरकारका सहसचिव मोहम्मद रोकुन उल हुसेनले आफ्नो देशमा स्वच्छ ऊर्जाको सम्भावना रहेको सोलार पावर राख्दा कृषि योग्य जमिनमा नोक्सानी हुने भएकाले पनि जलविद्युत्मै जोड दिएको बताए । यसका लागि नेपालबाट समेत जलविद्युत् किन्ने प्रयास भइरहेको उनको भनाइ थियो ।

विद्युत व्यापारका लागि द्विपक्षीय तथा त्रिपक्षीय समझदारीमा जोड

दक्षिण एसियाको विद्युत विकास तथा आवद्धता (कनेक्टिभिटी) को विकास गर्न द्विपक्षीय र बहुपक्षीय समक्षदारी अवश्यकता रहेको औंल्याइएको छ । काठमाडौंमा सञ्चालन भइरहेको सातौं ऊर्जा सम्मेलनमा सहभागी अधिकांशले उक्त धारणा राखेका हुन् ।

नेपालको विद्युत विकास तथा कनेक्टिभिटीको विस्तारमा दक्षिण एसियाली देशले विशेष जोड दिनुपर्ने बताएका छन् । भारतको एकिकृत अनुसन्धान तथा विकासका कार्यकारी निर्देशक पंकज भट्टले नेपाल, भारत, बंगलादेश, भुटान तथा म्यानमार मिलेर ऊर्जा विकास गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, भारतमा रहेर युएसएआइडीको स्वस्छ ऊर्जा हेर्ने निर्देशक माइकल साटियाले नेपालमा भइरहेको जलविद्युत आयोजना निर्माणको अवस्था हेर्दा यस क्षेत्रमा द्विपक्षीय वा त्रिपक्षीय विकासको सम्भावना बढेर गएको बताए ।

नर्ड पुल कन्सल्ट्यान्ट नर्बेका प्रमुख कन्सल्टेन्ट विलहेम सेडरसेमले नेपालले उत्पादन गरेको विद्युत बढी भए इनर्जी एक्सचेन्जमा बिक्री गर्न सक्ने बताए ।

यही अभ्यास नर्बेले युरोपभरि विकास भइरहेको र हाल भारतले पनि अनुशरण गरिरहेको बताए । जसमा राजनीतिक इच्छाशक्ति, मूल्य, बजार र कनेक्टिभिटि अपरिहार्य रहेको उनको धारणा थियो ।

सम्मेलनमा पावर ट्रेडिङ इन्डिया कम्पनी लिमिटेडका कार्यकारी निर्देशक हरिष शरणले ऊर्जा विकासमा द्विपक्षीय, त्रिपक्षीय तथा बहुपक्षीय अवधारणालाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

‘भारतमा कुनै पनि कम्पनीले खुलारूपमा बिजुली अदान–प्रदान गर्न र बिक्री वितरण गर्न सक्छन्,’ उनले भने, ‘नेपाल तथा बंगलादेशले पनि यो मोडलको अनुशरण गरे भविष्यमा ऊर्जाको बजार विस्तार तथा व्यवस्थापन गर्ने वातावरण तयार हुन सक्छ ।’

यसैगरी, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका प्रमुख इन्जिनियर एडि महबुर रहमानले भारतले त्रिपक्षीय कामका लागि अग्रसरता लिनुपर्नेमा जोड दिए । ‘अहिले बंगलादेशले भारतबाट एक हजार मेगावाटभन्दा बढी बिजुली किनिरहेको छ र भविष्यमा नेपालबाट बिजुली लैजाने गृहकार्य गरिरहेको छ,’ उनले भने, ‘भारत तथा नेपालबाट पर्याप्त बिजुली लैजान लागि हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम भइरहेको छ ।’

उनका अनुसार नेपालका पाँचवटा नदीहरू दूधकोसी, सुनकोसी दोस्रो तथा तेस्रो, तल्लो अरूण र तमोरबाट बिजुली लैजाने गृहकार्य भइरहेको छ । त्यस्तै, इनर्जी एक्सचेन्ज भारतका डाइरेक्टर राजेशकुमार मडिरट्टाले नेपालको इनर्जी एक्सचेन्जसँग सहकार्य गर्न तयार रहेको बताए ।

उनले नेपालले भारतीय इनर्जी एक्सचेन्जबाट धेरै कुरा सिक्न सक्ने भन्दै इनर्जी एक्सचेन्जको काम अगाडि बढाउन सक्ने बताए । उनले नेपाललाई चाहिने आवश्यक प्राविधिक सहयेग गर्न तयार रहेको पनि बताए ।

यता राष्ट्रिय योजना अयोगका सदस्य कृष्णप्रसाद ओलीले पछिल्लो समय नेपालले नीतिगत क्षेत्रमा व्यापक सुधार गरेको दाबी गरे । सरकारले विद्युत विकास गर्न कुनै पनि कसर बाँकी नराख्ने र हरसम्भव काम गरिरहेको बताए ।

‘नेपालले जलवायु परिवर्तनको मुद्दामा धेरै सुधारका कामको सुरूवात गरेके छ,’ उनले भने, ‘नेपालका राजनीतिक पार्टीहरू विकासको मुद्दामा एक ढिक्का भएर अगाडि बढिरहेकाले विदेशी लगानिकर्ताहरूले यहाँ ढुक्कले लगानी गर्न सक्छन् ।’

इप्पान

प्रतिक्रिया दिनुहोस्