धुलिखेलका ७ वटा वडा एकै पटक बालमैत्री घोषणा हुँदै



मोतीराम तिमल्सिना, काभ्रे । 

धुलिखेल नगरपालिकाले चालु आर्थिक वर्ष भित्रै ७ वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको छ । गत आर्थिक वर्षमा वडा नम्वर १० लाई नगरपालिकाले बालमैत्री वडा घोषणा गरेको थियो ।

धुलिखेल नगरपालिकाले वडा नम्वर २,३,४,५,६,७ र ११ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । ‘विकास भौतिक पुर्वाधार मात्रै नभई समुन्नत राष्ट्र निर्माणका लागि बालमैत्री ब्यवहार हो’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘नगरका सबै योजनाहरुको छनौट र कार्यान्वयन बालमैत्री हुनेछन् ।’ नगरपालिका भित्र बाल सहभागिता,बाल बिकास,बाल संरक्षण सम्वन्धि सूचकहरु पुरा हुँदै गएकाले चालु वर्षमा ७ वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने र आगामी वर्षमा बाँकी रहेका सबै वडाहरु बालमैत्री वडा घोषणा गर्ने तयारी रहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

नगरपालिकाले वडा भित्र बाल सहभागिता सम्वन्धि ६ वटा, बालबिकास सम्वन्धि ५ वटा, बाल संरक्षण सम्वन्धि ५ वटा र बाल बचाउ सम्वन्धि ९ वटा सूचकहरु पूरा गर्दै गएको छ । बालमैत्री स्थानीय शासनयुक्त घोषणाका लागि टोल स्तरीय, वडा स्तरीय समिति र विद्यालय स्तरीय समितिहरु गठन शुरु गरिएको छ । नगर स्तरीय बाल भेला तथा बाल दुब्र्यवहार न्युनिकरण सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम धुलिखेलमा आयोजना गरेको हो । बाल संरक्षण अन्तरगत हिंसा दुव्र्यवाहार, बाल बिकास अन्तरगत शिक्षा, बाल सहभागितमा स्वास्थ्य सम्वन्धित सूचकहरुलाई नगरपालिकाले कार्यान्वयन गरेको छ । वडा भित्रका केहि विद्यालयमा विद्यार्थीका अनुपातमा बालमैत्री सौचालय निर्माण, टोलमा बालमैत्री पार्क निर्माण र बालबालिकाहरुका लागि आवश्यक पर्ने पुर्वाधारहरु निर्माण शुरु भएको छ ।

नगर स्तरीय भेलामा प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेल, सामाजिक विकास समितिका संयोजक विष्णु धिताल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला बाल सञ्जालका अध्यक्ष रञ्जन पौड्याल, नगर समितिका अध्यक्ष पवन गौतम, उपाध्यक्ष नमुना पौड्याल लगायतले बालबालिकाहरुमा हुने दुब्यर्वहार तथा प्रविधिका कारण भोग्नु परेका पीडाहरु कम गर्दै अधिकार र कर्तब्य पुरा गर्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्