महाभारत र खानिखोलामा ५ वटा प्रहरी भवन निर्माण शुरु



मोतीराम तिमल्सिना, काभ्रे ।

सशस्त्र युद्ध, भुकम्प तथा अन्य कारणबाट प्रहरी विहिन भवनहरु निर्माण शुरु भएको छ । चालु आर्थिक वर्षमा जिल्लामा नयाँ थप भएका दुई ईलाका सहित ८ वटा प्रहरी भवन बन्न लागेका हुन् ।

ईलाका प्रहरी कार्यालय बनेपाको भवन शिल्यान्यास सँगै दुर्गम गाउँपालिका महाभारतमा कायम भएका नयाँ दुई ईलाका बनखु देविटार र गोकुले प्रहरी चौकी निर्माण गर्न लागिएको छ । गृह मन्त्रालयले जिल्लाको महाभारतका दुई ईलाकालाई नयाँ दरवन्दी कायम गर्दै ईलाका थप गरेको हो । पनौतीको कोलाँती प्रहरी चौकी, भुम्लु गाउँपालिकाको सल्ले भुम्लुको गाउँपालिका केन्द्र, चौरी देउराली गाउँपालिकाको ढाँडखर्क प्रहरी चौकी, तेमाल गाउँपालिकाको पोखरीनारायणस्थान नयाँ स्थायी कायम भएका हुन् ।

ईलाका प्रहरी कार्यालयमा ४० जना प्रहरीको दरबन्दी कायम गरिएको छ भने प्रहरी चौकीमा १५ जना प्रहरी दरवन्दी कायम गरिएको छ । दरवन्दी अनुसार जिल्लामा २ सय ३५ प्रहरीको संख्या कम भएको प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिनु भयो । नयाँ स्यायी प्रहरी चौकीहरुका लागि दरबन्दी थप भएको छ । महाभारतको बनखु इलाकाका लागि नयाँ सवारी साधनको समेत ब्यवस्था गरिएको छ । सडक सञ्जालको अभाव र भौतिक पूवार्धार निर्माण नभई सकेका कारण डाँडापारीको प्रहरी चौकीमा आवश्यक दरवन्दी अझै पठाउन सकेको छैन ।

ईलाका प्रहरी कार्यालय बनेपाको भवन बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले शिल्यान्यास गर्नु भएको थियो । नगरपालिका आफैले उपलब्ध गराएको जमिनमा साढे २ तल्ले आधुनिक पक्कि भवन निर्माण हुनेछ । ५ करोड ८४ लाख ७५ हजार रुपैयामा निर्माण हुने भवन २०७७ पौष १३ भित्र निर्माण सम्पन्न गर्ने गरी किरातेश्वर आर एण्ड सि जेभीले सम्झौता गरेको छ ।

भवनको शिल्यान्यास कार्यक्रममा नगर प्रमुख बादे, प्रहरी प्रमुख एसपी जयराज सापकोटा, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निरञ्जन भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख दामोदर सिलवाल लगायतको सहभागिता रहेको थियो । भवन अभाव हुँदा इलाका प्रहरी कार्यालय बनेपाले धेरै थुनुवा हुँदा जिल्ला तथा प्रहरी चौकी पनौती पठाउँदै आएको थियो । अरनिको राजमार्गको बनेपा नालादोवाटोमा रहेको कार्यालय सानो र भौतिक पूर्वाधारमा जिर्ण थियो ।

जिल्लाकोे बनखु र गोकुले ईलाकासँगै महाभारतकै फोक्सिङ्गटार प्रहरी चौकी निर्माण हुनेछ । चालु वर्षमा भुम्लु गाउँपालिकाको फलाँटे प्रहरी चौकी, खानीखोला गाउँपालिकाकोे केन्द्रमा रहेको ताल्ढुंगा र फलामेटार प्रहरी चौकी निर्माण हुनेछन् । त्यस्तै तेमाल गाउँपालिकाको तेमाल बेशीमा पनि प्रहरी चौकीको नयाँ भवन निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्