बेपत्ता पत्रकार तेजुको परिचयपत्रसहित कंकाल भेटियो



बाजुरा ।

बाजुराको बूढीनन्दा दर्शन गरेर फर्किने क्रममा बेपत्ता पत्रकार तेजु खड्काको परिचयपत्रसँगै मानव कंकाल भेटिएको छ । बाजुराको बूढीनन्दा नगरपालिका–३ मा पर्ने लौरीबिनायकको जंगलमा खड्काको परिचय खुल्ने सामग्री भेटिएको प्रहरीले जनाएको छ ।

 

 

सामाग्री भेटिएकाले तेजुको मृत्यु भएको हुन सक्ने प्रहरी आशंका छ । यद्यपी कंकाल उनको हो–होइन मेडिकल रिपोर्टपछि मात्रै जानकारी हुनेछ ।

स्थानीयकै खबरका आधारमा प्रहरी टोली लौरीबिनायकको जंगलतर्फ गएको र त्यहाँबाट सामग्री संकलन गरिएको सुदूरपश्चिम प्रदेशका डीआईजी तारणी लम्सालले बताए ।

अन्य सामग्री बरामद भएकै स्थानमा दुईवटा हड्डीसमेत फेला परेको छ । खड्का हराएको क्षेत्रमा तीव्र गतिमा हावा चल्ने भएकाले हावाले उडाएर भीरमा लडाएको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

स्थानीयले दिएको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी ,स्थानीय बासिन्दा लगायत पत्रकारको टोली आईतवार विहानदेखि खोजीकार्यमा घटनास्थल तर्फ परिचालन गरिएको थियो ।

 

तेजुको वास्तविक अबस्थाबारे जानकारी लिन उनकी आमा सहित मंगलवार साँझ डोटीबाट आफन्तजन बाजुरा हिडेको नेपाल पत्रकार महांसंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायर जानकारी दिनुभयो ।

पत्रकार तेजु बुढिनन्दा माताको दर्शन गर्न गएको वेला गतवर्ष भाद्र ९ गते देखि बुढिनन्दा पहाडबाट बेपत्ता भएका थिए । बेपत्ता खड्काको खोजी कार्य तीव्र पार्न नेपाली सेनाको हेलिकोप्टर सहित सेना प्रहरी र स्थानीय वासिन्दालाई पटक पटक घटना स्थलतर्फ परिचालन गरिएको थियो ।

यद्यपी जडिबुटी संकलन गर्ने क्रममा गत साता स्थानीयले झोला भएको ठाउँमा केहि कंकाल पनि भएकाले मृत्यु भएको आशंका गरिएको पत्रकार खड्काको सो सामान लौरीविनायक भन्ने स्थानमा भेटाएको स्थानिय पदम रोकायाले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्