सरकारमा फेरबदलको विषयले पुँजी बजार प्रभावित



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार पनि घटेको छ। साताको शुरुदेखि नै घटेको नेप्से बुधबार विहान सुधार हुने संकेत देखिएको थियो। तर, कारबोर बन्द हुँदा नेप्से १.६५ अंकले घटेर परिसूचक ११२८.३४ बिन्दुमा झरेको छ।

सरकारमा फेरबदलको विषयले पुँजी बजारमा प्रभाव पारेको सरोकारवालाको भनाइ छ।सानातिना राजनीतिक घटनाक्रमले पुँजी बजारलाई प्रभाव पार्न नहुने बताए पनि सरकारमा सामान्य फेरबदलको विषयले पुँजी बजारमा प्रभाव पार्ने गरेको छ।

बुधबार सरकारका मन्त्रीहरू फेरिने चर्चासँगै बढेको परिसूचक नफेरिने चर्चासँगै पुनः ओरालो लागेको हो। बुधबार कुल १६५ वटा कम्पनीको १० लाख ९७ हजारभन्दा बढी कित्ता शेयर ३० करोड ३७ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ।

परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढी हो। यस दिन कारोबारमा आएका समूहमध्ये बैकिङ र व्यापार समूहबाहेक बाँकी सबै समूह घटेका छन्।

जसमध्ये बैंकिङ समूह ०.५७ र व्यापार समूह ३२.९९ अंकले बढ्दा होटल समूह ६.६२, विकास बंैक २.३८, जलविद्युत् २.८१, वित्त ०.७७, निर्जीवन बीमा २४.२५, उत्पादन १६.५८, अन्य २.७१, लघुवित्त ३.४४, जीवन बीमा ३०.३७ र सामूहिक लगानी कोषको शेयर ०.०५ अंकले घटेको छ।

यस दिन पनि एनएमबि बैंकको कारोबार सबैभन्दा धेरै अर्थात ३ करोड ५४ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ। गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेपछि यस बैंकको कारोबार उच्च हुँदै आएको छ।

अघिल्ला दिनमा जस्तै बुधबार पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ।

पछिल्ला केही दिनयता यस कम्पनीको शेयर मूल्यमा व्यापक वृद्धि हुँदै आएको छ। यस कम्पनीको दिनहुँ १० प्रतिशतको हाराहारीमा शेयर मूल्य बढ्दै गएको छ।

बुधबार रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको शेयर मूल्य करिब सात प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्