घूस लिँदै गर्दा जस्पाउ पक्राउ



काभ्रे, (नेस)।

मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा ११ वर्षदेखि एउटै शाखामा कार्यरत नायब सुब्बा रोसकाजी जस्पाउलाई सेवाग्रहीसँग घूस लिँदालिँदै रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

‘काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका स्थित होक्सेमा भइरहेको जग्गा प्लटिङको खरिद बिक्रीका क्रममा पटकपटक दुःख दिँदै काम गरिदिने शर्तमा पैसा मागेपछि अख्तियार गुहारेका हांै,’ –पीडितले भने– ‘अख्तियारको सहयोगमा घूस लिँदालिँदै रजिस्टे«सन ‘क’ मा राजस्व लिने जस्पाउ पक्राउ परे।’

जस्पाउले सेवाग्रहीसँग केही दिनअघि काम गरेको पैसा मागेका थिए। मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा ११ वर्षदेखि कार्यरत जस्पाउ बनेपा–९ भोलाखाटोल निवासी हुन्।

बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म उनी मालपोत कार्यालयमै भेटिने गरेका थिए।‘विशेषगरी उनले जग्गा प्लटिङवाला र ठूलो कारोबारीसँग राजस्व मारेर व्यक्तिगत रकम मोलतोल गरिरहेका हुन्थे’, सेवाग्रहीले भने– ‘जुनसुकै कार्यालय प्रमुख र प्रमुख जिल्ला अधिकारी आए पनि उनलाई कारबाही हुँदैन थियो।’

अख्तियारको टोलीले जस्पाउलाई बुधबार दिउँसो १ बजे रंगेहात पक्राउ गरेको थियो। २० हजार घूस लिँदालिँदै पक्राउ परेका जस्पाउको साथमा रहेका अन्य कागजात र घूस रकमसमेत अख्तियार टोलीले छापा मारेको छ।

उनलाई भ्रष्टाचारसँगै सम्पति शुद्धिकरणमा समेत मुद्दा दर्ता हुनेछ। वडाध्यक्ष रोमीप्रसाद ब्याञ्जू कार्यालय प्रमुुख शालिकराम आचार्यलगायतले पक्राउ गरेको पुष्टि गर्दै सनाखत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्