बैतडीमा उपनिर्वाचनको तयारी तीव्र नमुना मतदान सम्पन्न, जनशक्ति विवरण माग



विनोद सिंह विष्ट, बैतडी।

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा नमुना मतदानको आयोजना गरिएको छ। उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौंडी नगरपालिका–४ मा नमुना मतदानको आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

मंगलबार सुर्नया गाउँपालिका–१ हटैराजमा भएको नमुना मतदानमा एकमात्रै भोट बदर गएको छ। मतदाताले दिएको मत बदर नहोस् भन्नका लागि आयोजना गरिएको नमुना मतदानमा सहभागी ३६ जनामध्ये ३५ भोट सदर भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिनुभयो।

मतदाताहरूलाई मतदानको महत्व, मतदान गर्ने तरिकालगायतका विषयमा जानकारी दिनका लागि नमुना मतदानको आयोजना गरिएको हो।

यसअघि सोमबार बैतडीको दोगडाकेदार–४ मा आयोजना गरिएको नमुना मतदानमा भने ६ जनाको मत बदर गएको निर्वाचन अधिकारी फुँयालले बताउनुभयो।

बुधबार पुर्चौंडी नगरपालिका–४ स्थित पहोरोल मावि बागा भटनामा नमुना मतदानको आयोजना गरिने छ।
चार हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिए।उपनिर्वाचनमा बैतडीमा ४ हजार बढी मतदाता सहभागी हुने छन्।

जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने ३ वडामा कुल ४ हजार ३३६ मतदाता सहभागी हुने भएका छन्।जसमा दोगडाकेदार गाउँपालिका ४ मा १ हजार ८०८ सुर्नया गाउँपालिका १ मा ६ सय १९ र पुर्चौडी नगरपालिका–४ मा १ हजार ९ सय ९ मतदाता रहेका निर्वाचन अधिकारी माधव फँुयालले जानकारी दिनुभयो।

निर्वाचन हुने ३ वडामा ५ वटा मतदान केन्द्र तोकिएका छन्। दोगडाकेदार ४ मा केदारनाथ मावि पिपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका–१ मा गाविस भवन गुर्केली र पुर्चौडी नगरपालिका ४ मा महादेव मावि सिवावो, पहरोल मावि बांगा मतदान केन्द्र तोकिएका छन्।

पिपलकोट माविमा १ हजार २ सय २९, हुनैनाथ माविमा ५ सय ७९, गाविस भवन गुर्केलीमा ६ सय १९, महादेव माविमा ८ सय ६५ र पहरोल मावि मतदान केन्द्रमा १ हजार ४४ मतदाताले मतदान गर्न पाउने छन्। यसै वर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउने छन्।

८ जना चुनावी मैदानमा

मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा ८ जना चुनावी मैदानमा रहेका छन्।जिल्लाको दोगडाकेदार–४ मा नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीले उम्मेदवारी दिनुभएको छ।

यस्तै सुर्नया–१ मा नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

उता पुर्चौडी–४ मा नेकपाबाट शैलेन्द्र धानुक, कांग्रेसबाट गोविन्दबहादुर धामी र स्वतन्त्रबाट चन्द्रबहादुर बोहराले उम्मेदवारी दर्ता गराएका छन्।

वडाध्यक्ष रित्त रहेका बैतडीका ३ वडामा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका उम्मेदवारी दिएका राजनितिक दलहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

प्रतिक्रिया दिनुहोस्