प्रदूषणले मरियो सरकार !



मुलुकमा स्थानीय जनप्रतिनिधि आएपछि जनताले विगतमा भोग्दै आएको समस्या समाधान हुन्छ भन्ने सोचमा तुषारापात भएको छ। हिजोभन्दा आज झन् बढी प्रदूषणको मात्रा बढ्दै गएको छ। काठमाडौं महानगरपालिकालगायत राजधानीका कुनै पनि स्थानीय निकायले त्यसतर्फ ध्यान दिएको पाइँदैन।

चुनावताका व्यक्त गरिएका प्रतिबद्धतालाई सबैले धोती लगाइदिएका छन्। अहिले विश्वका प्रमुख प्रदूषित शहरमध्ये काठमाडौं सातौं स्थानमा पर्दा पनि प्रदूषण नियन्त्रणमा सरकार तथा स्थानीय निकायले ध्यान दिन नसक्नुले मुलुकको अवस्था भयावह हुँदै गएको छ।

प्रदूषणका कारण राजधानीवासीमा विभिन्न प्रकारका रोग संक्रमण भई राजधानीका प्रायः सबै अस्पताल भरिभराउको अवस्थामा हुँदा पनि प्रदूषण नियन्त्रणमा सरकारले ध्यान दिन नसक्नु पक्कै पनि राम्रो कुरा होइन। पछिल्लो समय डेंगुले काठमाडौंवासीलाई साताएको उदाहरण त हामीसँग छँदै छ।

जनताको सुरक्षा गर्ने जिम्मा सरकारको हो। तर, सरकारले त्यसतर्फ ध्यान दिन नसक्दा राजधानीवासी अकालमा ज्यान गुमाउन बाध्य भएका छन्। राजधानीमा प्रदूषणका कारण हावाको मात्रामा कमी आएको र अहिलेको अवस्थामा बिहान मर्निङ वाक नगर्नसमेत चिकित्सकले सुझाव दिएका छन्।

यस्तो भयावह अवस्था आइसक्दा पनि सरकार भने कानमा तेल हालेर बसेको देखिन्छ। अब जनता पनि यसतर्फ सजग हुनुपर्ने अवस्था आइसकेको छ। जनप्रतिनिधि आएपछि राजधानीको सबै समस्या समाधान हुने अपेक्षा राखेका जनतालाई निराश बनाउने काम बन्द गर्नुपर्ने बेला आइसक्दा पनि उनीहरू कानमा तेल हालेर बसेको देखिन्छ।

सरोकारवाला निकायले समयमा नै समस्याको समाधान नगर्ने हो भने काठमाडौं उपत्यका मानवबस्तीका लागि अयोग्य नहोला भन्न सकिन्न। यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ।

– सुनिता दुलाल, लैनचौर, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्