ए मेरो हजुर–४ मा फेरि अनमोल र सुहाना



नायक अनमोल केसीले समय दिने भएपछि ए मेरो हजुरको सिरिज ए मेरो हजुर– ४ पनि निर्माण हुने भएको छ। गत वर्ष रिलिजमा आएको ए मेरो हजुर–३ मन पराइएपछि निर्माता दम्पती सुनिलकुमार थापा र झरना थापाले ए मेरो हजुर–४ निर्माण गर्न लागेका हुन्।

ए मेरो हजुर– ४ मा पनि अनमोल केसीको जोडीका रुपमा नायिका सुहाना थापाले अभिनय गर्ने भएकी छिन्। फिल्ममा हालसम्म अनमोल केसी र सुहाना थापा मात्र अनुबन्धित भएका छन्।

निर्माता सुनिलकुमार थापाका अनुसार अब संगीत सिर्जना, बाँकी कलाकार र प्राविधिक चयनलगायतको कार्यमा निर्माण पक्ष जुट्नेछ। चलचित्रको छायांकन आगामी २० माघबाट शुरु हुनेछ।

यो फिल्मको छायांकन नेपालसँगै हल्यान्ड र ओमनमा गरिने निर्देशक झरना थापाले जानकारी गराएकी छिन्। गत चैत २९ मा रिलिज भएको अनमोल केसी र सुहाना थापा अभिनित ए मेरो हजुर–३ ले राम्रो व्यापार गरेपछि अनमोल ए मेरो हजुर–४ मा खेल्न तयार भएका हुन्। हाल यो फिल्मको स्क्रिप्ट लेखन कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्