पूर्वाधार निर्माणको पर्खाइमा पाँचपोखरी



मधुसूदन रायमाझी

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा रहेका पोखरीहरूले धेरैलाई लोभ्याउने गरेका छन्। चपोखरी तथा जट्टापोखरी प्रकृतिका उपहार हुन्।

२०२० सम्म २० लाख पर्यटन नेपालमा ल्याउने लक्ष्य राखेको छ। नेपालमा आउने पर्यटकलाई गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको पर्यटकीय क्षेत्र जट्टापोखरी र पाँचपोखरीमा भित्रयाउन सके रामेछाप जिल्लाकै आर्थिक समृद्धिका लागि टेवा पुग्न सक्ने उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार बताउनुहुन्छ।

पाँचपोखरीको चर्चा हुने गरे पनि चुचुरेमा रहेका जट्टापोखरी, जुम्ल्याहापोखरी, कालपोखरी, जोरपोखरी, दूधपोखरी, रत्नपोखरीको भने उचित प्रचार हुन सकेको छैन।

प्राकृतिक स्रोत र साधनको उचित व्यवस्थापन गर्नका लागि भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढ्न नसक्दा देशकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेका पाँचपोखरी ओझेलमा पर्दै आएको छ।

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१ चुचुरे विभिन्न क्षेत्रमा रहेका पोखरी नै पर्यटन आकर्षणको प्रमुख गन्तव्य हुन्। रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाले यस क्षेत्रलाई नै समृद्धिको आधार बनाएको छ।

यस क्षेत्रले धार्मिक ऐतिहासिकसँगै जडिबुटीको खानीको रूपमा समेत पहिचान बनाएको छ। यस क्षेत्रमा बहुमूल्य जडिबुटी पाइने विभिन्न अध्ययनले देखाएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार बताउनुहुन्छ।

उहाँले दर्जनौं पोखरीको उचित प्रचार गरेर देशकै पर्यटक गन्तव्यका रूपमा चिनाउने कार्यमा आफूहरू जुटेको बताउँदै भन्नुभयो– ‘चुचुरेमा रहेको पोखरीलाई उचित प्रचारप्रसार गर्न सके गाउँपालिका मात्र होइन देशले नै ठूलो फाइदा लिन सक्छ, हामी योजना बनाएर नै काम अगाडि बढाउँदै छौं।’

जट्टापोखरी, पाँचपोखरी, बौलापोखरी, भालेपोखरी, भूतपोखरी, जुम्ल्याहपोखरी, कालपोखरी, जोरीपोखरी, दूधपोखरी, रत्नपोखरीको प्रचारको पर्खाइमा रहेका छन्। पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोके पनि भौतिक पूर्वाधारलगायतका सेवासुविधाको अभाव छ।

गाउँपालिकाले यस क्षेत्रको उचित प्रचारसँगै भौतिक पूर्वाधार निर्माणको कार्यलाई प्राथमिकतामा राखे पनि आवश्यक बजेट नहुँदा योजना कार्यान्वयन गर्नका लागि कठिनाइ रहेको बताएको छ।

होटल, सडक, सञ्चारबिजुलीलगायतका अत्यावश्यकीय सेवा उपलब्ध गराउने कार्यमा गाउँपालिकाले ध्यान दिएको बताउँदै अध्यक्ष सुनुवारले यस क्षेत्रको गुरुयोजना बनाएरै बनाएर पयर्टन उद्योगको विकास गर्ने योजनामा लागेको बताउनुहुन्छ।

समुद्री सतहबाट ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको यस क्षेत्रमा चौरी प्रशस्त रूपमा पाइन्छन्। यस क्षेत्रमा लोडसल्ला, चिराइतो पाखनवेद, ठूलो ओखती, पाँचऔले, जटामसी, सुनापति, विषमारलगायतका जडिबुटी प्रचुर मात्रामा पाइन्छन्।

पाँचपोखरीमा जनैपूर्णिमाको दिन मेला लाग्ने गर्दछ। सरकारले सन् २०२० सम्म २० लाख पर्यटन नेपालमा ल्याउने लक्ष्य राखेको छ। नेपालमा आउने पर्यटकलाई गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको पर्यटकीय क्षेत्र जट्टापोखरी र पाँचपोखरीमा भित्रयाउन सके रामेछाप जिल्लाकै आर्थिक समृद्धिका लागि टेवा पुग्न सक्ने उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार बताउनुहुन्छ।

यस क्षेत्रमा पछिल्लो समयमा आन्तरिक पर्यटकको वृद्धि भए पनि बाह्य पर्यटकहरू आर्कषित हुन सकेका छैनन्। विश्वको सर्वाेच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे निस्कने मार्ग पनि यसै क्षेत्रबाट पर्ने भएकाले रामेछाप हुँदै लुक्लासम्मको पद मार्गलाई पनि ध्यानमा राखेर प्रवद्र्धन गर्नुपर्ने गोकुलगंगा गाउँपालिकाका प्रवक्ता बलराम खड्का बताउनुहुन्छ।

‘खिम्ती खोलाको शिर रहेको पाँचपोखरी र जट्टापोखरी धार्मिक पर्यटनका दृष्टिले निकै महत्तवपूर्ण छन्,’ उहाँले भन्नुभयो–‘खहरेबाट जट्टापोखरीसम्म केबुलकारको योजना बनेको छ।’गोकुलगंगा गाउँपालिका–१ चुचुरेको खहरेसम्म हाल सडक सञ्जाल जोडिएको छ।

तर वर्षाको समयमा सञ्चालन गर्न कठिनाइ छ। खहरेबाट जट्टापोखरीसम्म जानका लागि एक दिन लाग्छ। जट्टापोखरीसम्म सडक लैजाने विषय निकै कठिन भएको गोकुलगंगा गाउँपालिकाका प्रवक्ता खडकाले बताउनुभयो।

यस क्षेत्रको विकासका लागि सम्भाव्यता अध्ययनको काम अगाडि बढाउन गाउँपालिकाले योजना अगाडि सारेको बताउँदै आवश्यक भौतिक पूर्वाधार निर्माणमा ध्यान दिने बताउनुभयो। उहाँले भन्नुभयो– ‘खहरेबाट जटापोखरीसम्म केबुलकार बनाउने योजनामा जुटेका छौं।’

पर्यटकीय क्षेत्रको राम्रो सम्भावना बोकेको यस क्षेत्रको विकास गर्न सकेको अवस्थामा रामेछाप जिल्लाको आर्थिक विकासमा नै टेवा पुग्नेछ।

पाँचपोखरीका विशेषता

४२ सय ५० मिटर उचाइमा अवस्थित पाँचपोखरीबाट मनोरम दृश्यँवलोकन गर्न सकिन्छ। भालेपोखरी (बौलापोखरी, जट्टापोखरी र पाँचपोखरी अवलोकन गर्न सकिन्छ।

उमाकुण्ड गाउँपालिकाको देउराली हुँदै रमणीयस्थल सेरदिडंमा बास बसेर एक दिनमा पाँचपोखरी पुग्न सकिन्छ। उकाली ओराली गर्दै रमाइलो पदयात्रा गर्न पाउँदा झनै आनन्दको अनुभूति गर्न सकिने स्थानको रूपमा रहेको यस क्षेत्रमा पाँचऔले, कुटकी, पाडंवर, ठूलो ओखती, यार्सागुम्बालगायतका जडीबुटी पाइन्छन्।

पाँचपोखरीमा पुग्न जति गाह्रो हुन्छ, त्यो भन्दा कयौं गुणा त्यहाँको रमणीयस्थलको अवलोकनबाट आनन्द प्राप्ति गर्न सकिने गोकुलगंगा गाउँपालिकाका स्थानीय ओम लामा बताउनुहुन्छ।

उहाँका अनुसार पाँचपोखरीको चिसो पानीमा स्नान गर्दा विभिन्न किसिमको रोग निको हुने विश्वास रहेको छ। पाँचपोखरीको दर्शन गर्दा आफूले मागेको कुरा पूरा हुने जनविश्वास छ। भदौको पूर्णिमामा हजारांै दर्शनार्थीले मेला भर्न गएमा चौरीको दूध, घिउ, चीज आदि पाउन सकिन्छ।

सुधार गर्नुपर्ने काम

गोरेटो बाटो पुनर्निर्माण र व्यवस्थित गर्नुपर्ने, बाटोमा दिशा निर्देशन संकेत राख्नुपर्ने। खाना र बास बस्नका लागि सार्वजनिक भवन निर्माण गरी व्यवस्थापन गर्नुपर्ने।

पोखरी वरिपरि डस्बिन राखी फोहोरमैला व्यवस्थापन गर्नुपर्ने। सबै पोखरीको नाम, उचाइ, र आकार लेख्दा दर्शनार्थीले सजिलै जानकारी प्राप्त गर्ने सकिने गरी राख्नुपर्ने।

बहुमूल्य जडिबुटीको संरक्षण र यसलाई कसरी बढाउन सकिन्छ भनेर अध्ययन एवं अनुसन्धान गर्नुपर्ने। चौरी गोठहरूलाई व्यवस्थापन गरी चौरीको दूध, घिउ, छुर्पी, चिजलगायतका सामान बिक्री केन्द्र स्थापना गरी सर्वसुलभ गर्नुपर्ने।

सञ्चार, सुरक्षा, एम्बुलेन्सको समेत सुविधा दिनुपर्ने। पर्यटक सूचना केन्द्र, खोज तथा उद्धार केन्द्र स्थापना आदि प्राथमिक काम हुन्। होटल व्यवसायलाई होटल खोल्न सरकारी तहबाट प्रोत्साहन गर्नुपर्ने यस क्षेत्रका होटल व्यवसायी बताउँछन्।

गोकुलगंगा गाउँपालिकाले नेपाल भ्रमण वर्ष २०२० मा भ्रमण गर्नुपर्ने ठाउँमध्ये रामेछापको पाँचपोखरीलाई समावेश गर्नुपर्ने माग गरेको छ। पाँचपोखरीमा प्रचारात्मक कार्यक्रम गरेर आन्तरिक एवं वाह्य पर्यटकलाई आकर्षित गर्नुपर्छ।

सम्भाव्यता

केबुलकारको स्थापना गर्न सकियो भने देश विदेशबाट लाखौं दर्शनार्थीले दर्शन गर्ने अवसर प्राप्त गर्नेछन्। तर लगानी ठूलो लाग्ने भएकाले स्रोतको सुनिश्चितता गर्ने काम भने सहज छैन।

जडिबुटीलाई व्यवस्थित र संरक्षण गरी आयमूलक काम गर्न सक्ने हो भने मात्र पनि यस क्षेत्रबाटै स्थानीय सरकारले वार्षिक करोडौं आम्दानी गर्न सक्छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसारप्रसार गरी पर्यटक भित्रयाउने योजना गाउँपालिकाले प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ।

व्यवसायिक चौरीपालन गरेर दुग्धजन्य पदार्थ निर्यात गर्न सकिने प्रवल सम्भावना रहेकाले सरकारले किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्छ।

१२ महिना नै पर्यटक जाने वातावरण सृजना गर्न सकेको अवस्थामा पर्यटन क्षेत्रको रूपमा यस क्षेत्रको विकास हुनेमा कुनै दुविधा छैन।

 

प्रतिक्रिया दिनुहोस्