डेनमार्क यूरोकपमा छनोट



लन्डन, (एजेन्सी) । 

यूरोकप छनोट अन्तर्गत सोमबार भएको समूह डी को खेलमा आयरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएपनि डेनमार्क यूरोकपमा छनोट भएको छ। डेनमार्कको ८ खेलबाट १६ अंक जोड्दै छनोट हुन सफल भएको हो।

यता बराबरीमा रोकिएसँगै १६ अंकसहित तेस्रो स्थानमा रहेको आयरल्यान्डको प्ले अफबाट छनोट हुने सम्भावना जिवितै छ। यसै समूहको अर्को खेलमा स्विट्जरल्यान्डले पनि छनोटको समूह चरणको अन्तिम खेलमा जिब्राल्टारमाथि शानदार जित निकाल्यो।

सोमबार राति भएको खेलमा स्विट्जरल्यान्डले घरेलु टोलीमाथि ६–१ को शानदार जित निकालेको हो। स्विट्जरल्यान्डको आधा दर्जन गोलमा सेड्रिक इटेनले दुई तथा रुवेन भर्गास, क्रिस्टियन, लोरिस बेनिटो र ग्रानिट जाँहाले गोल गरे। यता जिब्राल्टरको तर्फबाट स्टेचिले एक गोल फर्काए।

त्यस्तै स्पेनले शत प्रतिशत जित निकाल्दै छनोटको सुखद अन्त्य गरेको छ। समूह ‘एफ’ अन्तर्गत सोमबार राति भएको छनोटको अन्तिम खेलमा रोमानियामाथि ५–० को जित निकाल्दै स्पेनले सुखद अन्त्य गरेको हो।

वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जेरार्ड मोरेनोले २ तथा फावियान र मिकेल ओयारजावालले समान १ गोल गरे। एक गोल उपहार पाएको थियो। छनोटमा स्पेनले १० खेलबाट २६ अंक जोड्यो।

जसमा ८ जित र २ बराबरीको नतिजा छ। रोमानिया १४ अंकसहित चौथो स्थानमा रह्यो। यही समूहको अर्काे खेलमा स्वीडेनले फरोह आइल्यान्डमाथि ३–० को तथा नर्वेले माल्टामाथि २–१ को जित निकाल्यो। स्वीडेन २१ अंकसहित दोस्रो तथा १७ अंकसहित नर्वे तेस्रो स्थानमा रह्यो।

युरोकप छनोटमा स्थान बनाइसकेको इटालीले पनि समूह चरणको अन्तिम खेलमा अदभुत प्रदर्शन गर्दै अर्मेनियामाथि ९–१ को शानदार जित निकालेको छ। २०१८ को विश्वकपमा स्थान बनाउन असफल इटालीले युरोकप छनोटमा अपराजित रहँदै कीर्तिमान समेत बनायो।

समूह ‘जे’ मा अपराजित रहेको इटालीले १० खेलबाट ३० अंक जोड्दै छनोटमा सुखद् अन्त्य गरेको छ।यस्तै इटालीले १९४८ पछि यति ठुलो अन्तरमा जित निकालेको हो। त्यतिबेला इटालीले अमेरिकामाथि ९–० को जित निकालेको थियो।

पालेर्माेमा सोमबार राति भएको खेलमा इटालीको जितमा सिरो इम्मोबाइल र निकोलो जानिओलोले समान २–२ गोल गरे। निकोलो बारेला, एलेसियो रोमाग्नोली, जर्गिन्हो, रिकार्डाे ओर्सि्लिनी र फेडरिको चेइसाले समान १–१ गोल गरे। अर्मेयिाका इडगर बाबायानले सान्त्वना गोल गरे।

पराजित अर्मेनिया १० अंकसहित पाँचौ स्थामा रह्यो। यो समूहबाट फिनल्यान्डले पहिलोपटक युरोकपमा स्थान बनाउन सफल भएको छ।

फिनल्यान्ड ग्रीससँग २–१ ले पराजित भएको थियो। त्यस्तै अर्काे खेलमा बोस्निया एन्ड हर्ज गोभिनाले लेचेस्टाइनमाथि ३–१ को जित निकाल्यो।

प्रतिक्रिया दिनुहोस्