उपनिर्वाचनमा घरदैलो गर्दै शीर्ष नेता



सिर्जना पन्त, बाग्लुङ। 

वडाको निर्वाचनमा शीर्ष नेताको बाक्लो उपस्थिति देख्दा साच्चै नेताहरू फुर्सदिला बनेको आँकलन गर्न सकिन्छ। पाँच वर्षको लागि स्थायी सरकार बनेकाले पनि नेताहरू फुर्सदिला बनेका हुनसक्छन्।

त्यसैले बागलुङ जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश (ख) र बडिगाड गाउँपालिका–१ को उपनिर्वाचनमा शीर्ष नेताको लहर स्पष्टै देख्न सकिन्छ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री कृष्ण सिटौला यतिबेला बडिगाडको वडा अध्यक्षका उम्मेदवार दिलबहादुर रानालाई भोट माग्न व्यस्त हुनुहुन्छ। उहाँसँगै नेपाली कांग्रेसका अन्य नेताहरू जनताको घरदैलो गरिरहेका भेटिन्छन्।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री कृष्ण सिटौला यतिबेला बडिगाडको वडा अध्यक्षका उम्मेदवार दिलबहादुर रानालाई भोट माग्न व्यस्त हुनुहुन्छ। उहाँसँगै नेपाली कांग्रेसका अन्य नेताहरू जनताको घरदैलो गरिरहेका भेटिन्छन्।

सिटौला मात्र होइन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबादेखि युवा नेता गगन थापासम्म आउने कार्यक्रम रहेको जिल्ला सभापति दिपेन्द्र थापाले बताउनुभयो।

जिल्लाको उपनिर्वाचनका लागि केन्द्रीय स्तरबाटै बाम गठबन्धन गरेका नेकपा र राष्ट्रिय जनमोर्चाले पनि शीर्ष नेतालाई निर्वाचन क्षेत्रमा ल्याउने कार्यक्रम निश्चित गरेका छन्। आगामी मंसिर ७ गते नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा महासचिव विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी ढोरपाटनको बुर्तिबाङमा हुने विशाल सभामा सहभागी हुने तय भएको नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताउनुभयो।

समाजवादी पार्टीले मंसिर ८ गते पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई ल्याउने कार्यक्रम तय भएको जिल्ला नेता चित्र सापकोटाले बताउनुभयो। वडा र प्रदेश सदस्यको उपनिर्वाचनमा पनि शीर्ष नेता आउने र ल्याउने होडबाजीले चुनाव भड्किलो र खर्चिलो बनाउने देखिएको स्थानीय कमल पौडेलले गुनासो गर्नुभयो।

‘लोकतान्त्रिक अभ्यासका रुपमा चुनावलाई लिनुपर्छ,’ उहाँले भन्नुभयोे, ‘चुनावलाई बिस्तारै भड्किलो हुनबाट रोक्नुपर्छ। अहिलेको उपनिर्वाचनको छनक हेर्दा पनि यो क्रम तत्काल रोकिने अवस्था देखिएन।’

बागलुङ क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा नेकपा र राजमोर्चाबीच बाम गठबन्धनबाट राजमोका खिमविक्रम शाही चुनावी मैदानमा हुनुहुन्छ भने नेपाली कांग्रेस एकल रुपमा प्रतिस्पर्धामा उत्रिएको छ।

नेकपाबाट बागी उम्मेदवारी दिएका शेरमान घर्तीले सार्वजनिक वक्तव्य मार्फत उम्मेदवारी फिर्ता लिए पछि बाम गठबन्धनका शाही र नेपाली कांग्रेसका जितबहादुर शेरचनबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। समाजवादी पार्टीका अशोककुमार विक पनि त्यस क्षेत्रमा प्रभावशाली उम्मेदवार मानिनुहुन्छ।

यस क्षेत्रमा २०७४ को प्रदेशसभा निर्वाचनमा पनि साविकको नेकपा एमाले, राजमो र माओवादी केन्द्र बामगठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका थिए। जसमा राजमोका उम्मेदवार टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरी विजयी हुनुभएको थियो।

घर्तीका प्रत्यासी नेपाली कांग्रेसका जित शेरचन जो अहिले पनि उम्मेदवार हुनुहुन्छ। उहाँले ८ हजार ६ सय ६४ मत प्राप्त गर्नुभएको थियो। उक्त चुनावमा ३ हजार २ सय ६० मतको अन्तर थियो। २०७० सालको निर्वाचनमा भने जिल्लाका तिनै क्षेत्रमा कांग्रेसले जित हात पारेको थियो।

उपनिर्वाचनमा आठ राजनीतिक दलसहित एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। ठूला दलका अतिरिक्त राप्रपा संयुक्तबाट निमबहादुर भण्डारी, राप्रपाबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मंगोल नेसनल अर्गनाइजेसनबाट मित्रबहादुर मगर र स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारी हुनुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्