पोखरिया अस्पतालको कन्तबिजोग



कृष्णउदास खनाल, पर्सा। 

पर्सा जिल्लाको पोखरीयामा रहेको जिल्ला अस्पताल माल पाएर पनि चाल नपाएजस्तो भएको छ। स्थानीय तह र स्वास्थ्यकर्मीको लापरबाहीका कारण लथालिङ्ग छ। २०६९ सालमा २ करोड ५० लाख रुपियाँ लागतमा बनेको जिल्ला अस्पताल अहिले थला परेको हो।

१५ शैयाको उक्त अस्पताललाई जिल्ला अस्पतालकै रुपमा स्तरोन्नति गरे पनि बिरामी र सेवाग्राहीले त्यसअनुसारको उपचार सेवा भने पाउन सकेका छैनन्।

अस्पताल भौतिक पूर्वाधारका रुपमा निकै सुविधा सम्पन्न भए पनि चिकित्सक र स्वास्थ्यकर्मी नभएका कारण अस्पताल थला परेको छ।

जिल्ला जनस्वास्थ्य केन्द्र मातहतमा रहेको यो अस्पताल स्थानीय तहको निर्वाचनपछि पोखरीया नगरपालिकाको मातहतमा आएको छ। तर, नगरपालिकाले पनि चासो नदेखाएका कारण अस्पताल लथालिङ्ग छ।

अस्पतालको स्तरोन्नति भए पनि सात वर्षदेखि यहाँ कुनै विभाग र वार्ड पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन्। अस्पतालमा ९ औं र ८औं तहका गरी ३ जना एमबीबीएस डाक्टरको दरबन्दी छ।

तर, ८औं तहका एक जना मात्र चिकित्सक डा. अनिल यादव कार्यरत हुनुहुन्छ। यादव पनि केही दिनदेखि अध्ययनका लागि भन्दै बिदामा बसेकाले निमित्त मेसुको जिम्मा छात्रवृत्तितर्फका चिकित्सक डा. आलोक यादवले पाएका छन्।

स्टाफ नर्स र अनमी गरी १० जनाको दरबन्दी रहे पनि अहिले अस्पतालमा ५ जना मात्र कार्यरत छन्। २ अहेबको दरबन्दीमा पनि एकजना मात्र कार्यरत छन्।

अहिले कार्यरत चिकित्सक र नर्सहरू पनि कार्यालय समयमा अस्पतालमा नआएपछि उपचारका लागि अस्पतालमा पुगेका बिरामी र सेवाग्राही दिक्क छन्।

पोखरिया अस्पतालमा चिकित्सकहरू नभएपछि स्थानीयहरू उपचारका लागि छिमेकी देश भारत जान बाध्य भएको पर्साकै पोखरियाका स्थानीयवासी धर्मेन्द्र चौरसियाले बताउनुभयो।

नेपालको पहाडी जिल्लाबाट नर्सहरू पोखरिया अस्पतालमा जागिरका लागि आउने गरेको र उनीहरू यहाँको वातावरणमा रम्न नसकेपछि काजमा फेरि सरुवा हुने प्रबृत्ति बढेका कारण पनि स्वास्थ्यकर्मीहरू पाउन समस्या भएको नगरपालिकाकी उपमेयर सलमा खातुनले बताउनुभयो।

अस्पतालमा धेरै समस्या रहेको तर अहिले आफूले धेरै कुरामा सुधार गरेको मेसु डा. आलोक यादवले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्