हिमाल पुगेपछि फेरिए आर्यन



आगामी शुक्रबार अल नेपाल रिलिजमा आउने फिल्म च च हुईमा लामो समयपश्चात् देखिन लागेका नायक आर्यन सिग्देल पछिल्लो समय फिल्म छनोट र निर्माणमा निकै होस् पुर्याउन थालेका छन्। ‘केही समय साथीभाइ भनेर फिल्म खेलियो।

तर अब आफ्ना लागि आफै सचेत हुनुको विकल्प छैन। त्यसैले अब सोचविचार गरेर मात्र फिल्म गर्छु।’ –हालैको एक साक्षात्कारमा आर्यनले भने।साम्तेन भुटियाको निर्देशन तथा सम्पादनमा बनेको फिल्ममा आर्यनले प्रेमको भूमिका निर्वाह गरेका छन्।

नेपालबाट सानैमा हङकङ पुगेका हुन्छन् प्रेम। काम र जीवनलाई गम्भीररूपमा नलिने प्रेम मोजमस्तीमै व्यस्त छन्। उनको जीवनमा कुनै उद्देश्य नै छैन, न त जीवनमा कोही।

उनका नातेदार भनौं वा साथी भोला नै छ, जोसँगै उनी काम गर्छन्। यिनै प्रेम एउटा परिस्थिति सिर्जना भएपछि नेपाल फर्किन्छन्।

नेपाल फर्किएर उनी हिमाल पुग्छन्। त्यसपछि उनको जीवनले नयाँ मोड लिन्छ। प्रेमले धेरै दर्शकलाइ रिलेट गर्ने उनको बुझाइ छ। त्यसो त फरक फिल्म गर्दै आएका साम्तेनलाई उनले कमर्सियल निर्देशक मान्छन्।

‘मैले उहाँमा आर्ट त पाएँ। तर मान्छे पूर्णतया कमर्सियल’, आर्यनले भने– ‘शुरूमा मलाई डर लागेको थियो कि मलाई थ्रिलर वा हरर फिल्म अफर आउने हो कि भनेर।

तर पहिलो भेटमै कमर्सियल गर्दै छु भन्ने सुनेपछि म ढुक्क भएँ।’ आर्यन र साम्तेनले एक अर्कासँग काम गर्न चाहे पनि संयोग जुरेको थिएन। ‘आर्यन एक पूर्ण अभिनेता हुन् त्यसैले काम गर्ने रहर त थियो।

तर स्क्रिप्ट उनलाई सुहाउने पाएको थिइनँ’, साम्तेनले भने– ‘मैले प्रेममा आर्यनलाई देखें र उनले क्यारेक्टरमा जीवन भरेका छन्।’ आर्यनले साम्तेनको कुरामा थपे– ‘बलिउड अभिनेता सलमान खानलाई फलो गर्ने भएकाले पनि प्रेम पात्र आर्यनको नजिक छ।

प्रेम अलि चुलबुले छ तर भावनात्मक छ।’फिल्ममा हिमाली भेगको सुन्दरतामा झनै खुलेकी छिन् मिरुना मगर। उनले आर्यनसँग पहिलो पटक जोडी बाँधेकी हुन्। ‘आर्यन दाइले निकै राम्रोसँग कोएक्टरलाई पनि गाइड गर्नु हुन्छ।’ –उनले भनिन्।

आफूले च च हुई छायाँकनको दौरान धेरै सिकेको उनले बताइन्। जीवनको पिङ च च हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई फिल्ममा देखाइएको साम्तेनले सुनाए। आर्यन र भोला हङकङमा काम गरिरहेका दुई युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगकी युवतीको भूमिकामा छिन्।

फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ। एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको फिल्ममा सुसन प्रजापतिको छायांकन रहेको छ भने पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन्।

फिल्ममा राजनराज शिवाकोटी र रोशन थापाको संगीत, श्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्