विपीनको अनौठो अवतार



अभिनेता विपीन कार्कीलाई किङ अवतारमा प्रस्तुत गरिएको फिल्म सेल्फी किङको पोस्टर सार्वजनिक गर्दै आगामी माघ २४ गतेका लागि रिलिज डेट तोकिएको छ।

हालै मात्र रियल लाइफमा छोरीको पिता बनेका विपीनलाई फिल्मको सेल्फी किङको पोस्टरमा मपाईं स्वरूपमा चित्रित गरिएको छ।

सेल्फी किङ नामले परिचित एक चर्चित टेलिभिजन हास्य कलाकारले कला यात्राका दौरान पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइने निर्माता दिनेश राउतले बताए।

ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्म विशाल सापकोटाको डेब्यु निर्देशनमा बनेको छ। फिल्ममा विपीनसँगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बासतोला, कमल देवकोटा, राजेश बिसुराललगायतले अभिनय गरेका छन् भने अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन्।

गत वर्षको सफल फिल्म प्रसादका निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्तरूपमा निर्माण गरेको फिल्ममा निर्देशक विशालकै लेखन, बी पाण्डेको शब्द, सुवास भुसालको संगीत, अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, सुसन प्रजापतिको छायांक र जीवन थापाको सम्पादन रहेको छ। फिल्ममा राजेश बिसुराल र प्रवल कोइरालाको सहनिर्माण रहेको छ।

प्रतिक्रिया दिनुहोस्