जङ्गे पिलर आँगनमै पर्नेगरी सिमा क्षेत्रमा घर



सरोज यादव, विराटनगर।

नेपाल भारत सिमा क्षेत्रको मोरङ जिल्लामा रहेका सिमास्तम्भहरु अतिक्रमणको चपेटामा परेका छन् । सिमाक्षेत्रका बासिन्दाले जङ्गे पिलर आँगनमै पर्नेगरी घर बनाएका छन् । मोरङको जहदा गाँउपालिका–७ स्थित तरिगामा र भारतको अररिया जिल्लाको तारिकमणि गोदाम छुट्याउने सिमाक्षेत्रको पिल्लर आगनमै रहेको छ ।

नेपाल र भारतको सिमाना छुट्याउने सो पिलर भारतीय नागरिकले बनाएको घरटहराको आँगनमै छ । पिलर रहेको स्थानबाट पाँच–पाँच गज दायाँबायाँ कुनै पनि संरचना र मानविय बसोबास गर्न नपाईने नियम रहे पनि पिलरलाई आँगनमै पार्नेगरि टहरो बनाइएको छ ।

जहदाको तरिगामा गोदाम क्षेत्रमा मात्र नभई सो क्षेत्रका अन्य ठाँउहरुमा समेत नेपाल र भारत दुवैतर्फका नागरीकले टहरा र छाप्रो बनाई बसोबास गर्ने गरेको जहदा गाँउपालिका १ का उमेश साहले जानकारी दिनुभयो ।

तरिगामामा नेपालतर्फ धुले कच्ची सडक रहे पनि भारततर्फ भने कंक्रीटको ढलान गरि सडक निर्माण गरिएको छ । त्यहाँ दशगजासँगै टाँस्सिएको भारतीय प्रहरी र नजिकै भारतीय सिमा सुरक्षा बल एसएसबीको क्याम्पसमेत छ ।

तरिगामामा यतिखेर प्रहरीको कुनै चौकीसमेत छैन । त्यहाँभन्दा पश्चिममा रहेको आईसिपीभित्र बसेको सशस्त्र प्रहरीको बिओपी टोलीले नियमित गस्तीमार्फत सिमा सुरक्षा गर्ने गरेको सम्बन्धित स्रोतले जनाएको छ ।

उता मोरङको सिमावर्ती क्षेत्रका १४ स्थानमा दजगजामा झोपडी र टहराहरु बनाएर बसोबास गरिरहेको निरीक्षणका क्रममा भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसरी बसोबास गर्नेमा भारतीय र नेपाली दुवै छन् ।

भारतसँगको मोरङको कुल सिमाक्षेत्र ६३ दशमलव ४ किलोमिटर रहेकोमा साना, मझौला, ठुला पिलर तथा एउटा रिफरेन्स पिलर गरि जम्मा १ सय २४ वटा पिलरहरु रहेका छन् ।

दशजगा क्षेत्रमा बनाइएका झुप्राहरुको सम्बन्धमा लगत संकलन गरेर केन्द्रमा पठाईने मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । सशस्त्र प्रहरीले नियमित रुपमा सिमास्तम्भहरुको निरीक्षण गर्ने गरेका सिमास्तम्भ हराउने लगायतका समस्या नहुने उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्