आमा बितेपछि उम्मेदवारको सहभागिताबिनै काँग्रेसको घरदैलो कार्यक्रम



भक्तपुर,(नेस) ।

नेपाली काँग्रेस उप निर्वाचन मूल तयारी समिति प्रदेश सभा १ क भक्तपुरले चाँगुनारायण नगरपालिका वडा नं ८ सुडालमा घरदैलो कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रमकै क्रममा अधिकारी टोल, सुडालमा कोणसभा आयोजना गरीएको थियो ।

कोणसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद पुष्पा भुसालले देशमा ब्याप्त रहेको महंगी, कर, बलात्कार, भ्रष्टाचार, अधिनायकवादबाट जनताहरु आजित भइसकेकोले जनताले परिवर्तन चाहेको बताउनुभयो ।

दुई तिहाइको कम्युनिष्ट सरकारले समृद्धिको खोक्रो नारा दिएर जनतालाई भुलाइरहेको उहाँले बताउनुभयो । भत्केकोपाटी कमल विनायक नगरकोट सडक खण्डको दुरावस्थाले नै चाँगुनारायण प्रदेशमा कम्युनिष्टहरुको विकासको प्रतिवद्धता आश्वासन मात्र देखिएकोले फेरी पनि जनताहरुलाई भ्रममा नपर्न सजग गराउनुभयो ।

उहाँले कालापानी र लिपुलेकलाई समावेश गरेर भारतले आफ्नो नक्सामा समेट्दा पनि ओली सरकारले मन्त्रीपरिषद्को बैठकबाट त्यसको जवाफको लागि निर्णय गर्न नसकेको बताउनुभयो ।

त्यसैगरी कोणसभामा आमन्त्रीत केन्द्रीय सदस्य रमा पौडेल र नेपाल तरुणदलका पूर्व केन्द्रीय अध्यक्ष विनोद प्रकाश कायस्थले पनि काँग्रेलाई जिताउनको लागी कुनै कसर बाँकी नराख्न कार्यकर्ता पंक्तिलाई अनुरोध गर्नुभएको थियो ।

कोणसभामा नेपाली काँग्रेसका भक्तपुर जिल्ला सचिव निशान ढुंगेल, क्षेत्रीय सभापति जीबन खत्री, लगायत जिल्लाका पदाधिकारी, क्रियाशील सदस्यहरु, शुभेच्छुक तथा वडाका स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।

क्षेत्रीय सचिव जनक खत्रीका अनुसार सशस्त्र प्रहरीका पूर्व प्रहरी उपरिक्षक भिमसेन अधिकारी, नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठनका उपत्यका पोलिट ब्युरो सदस्य दिपेश दुलाल सहित अन्य पार्टीहरु परित्याग गरी २० जना नेपाली काँग्रेसमा प्रवेश गर्नु भएको छ ।

नव प्रवेशीहरुलाई प्रमुख अतिथी भुषालले टिका र खादा ओढाएर स्वागत गर्नुभएको थियो ।नेपाली काँग्रेस उप निर्वाचन प्रदेश सभा १ क भक्तपुरका उम्मेदवार कृष्णलाल भँडेलका माता सेतीदेवी भँडेलको मंसिर १ गते निधन भएकोले उम्मेदवार बिना नै नेपाली काँग्रेसले घरदैलो कार्यक्रमलाई एक दिन स्थगित गरी फेरि निरन्तरता दिएको निर्वाचन परिचालन समिति संयोजक एवं क्षेत्रिय सचिव उद्धव खड्काले बताउनुभयो ।

संशोधित कार्यतालिका अनुसार कार्तिक २५ गते चाँगुनारायण नगरपालिका वडा नं १ बाट शुरु भएको घरदैलो कार्यक्रम मंसिर ३ गते ताथली, मंसिर ४ गते बागेश्वरी, मंसिर ६ गते भक्तपुर नगरपालिका वडा नं १० मा गएर सम्पन्न गरिनेछ भने मंसिर ११ गते विशाल आमसभा गरेर चुनावी प्रचार प्रसार सम्पन्न गरीने जानकारी पनि उहाँले दिनुभयो । सो अवसरमा प्रजातन्त्रका सेनानी तुलाबहादुर अधिकारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्