तीन महिनामा बैंकहरूको नाफा सवा १६ अर्ब



नेपाल समाचारपत्र, काठमाडौं । 

चालू आर्थिक वर्षको तीन महिनामा २८ वाणिज्य बैंकले नाफामा ६ दशमलव २६ प्रतिशतको वृद्धि गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणलाई हेर्दा यस अवधिमा १६ अर्ब १७ करोड रुपियाँ नाफा आर्जन गरेका छन्।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले १५ अर्ब २२ करोड रुपियाँ नाफा गरेका थिए। यो बैंकको नाफा वृद्धिदर ३० प्रतिशतभन्दा माथि रहेको थियो।

यस वर्ष सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले धेरै नाफा कमाएको छ। पहिलो त्रैमासमा यस बैंकले गत वर्षको पहिलो त्रैमासको तुलनामा शून्य दशमलव ७६ प्रतिशतले नाफा वृद्धि गरेको छ।

पहिलो त्रैमासिकमा यस बैंकले १ अर्ब १२ करोड नाफा आर्जन गरेको छ। गत वर्षको सोही समयमा यस बैंकको नाफा १ अर्ब ११ करोड रहेको थियो।

त्यस्तैे नबिल बैंकले पनि १ अर्ब १२ करोड नाफा आर्जन गरेको छ। यद्यपि, गत वर्षको सोही समयमा बैंकको नाफा १ अर्ब ५ करोड रहेको थियो। गत वर्षको तुलनामा अहिले यस बैंकले ६ दशमलव ७६ प्रतिशत नाफा वृद्धि गरेको छ।

एनआईसी एसिया बैंकले गत वर्षको पहिलो त्रैमासको तुलनामा ३४ दशमलव १३ प्रतिशतले नाफा वृद्धि गरेको छ। यस वर्षको पहिलो त्रैमासमा बैंकले १ करोड ९६ लाख रुपियाँ नाफा आर्जन गरेको छ।

गत वर्षको सोही समयमा यस बैंकले ७५ करोड २६ लाख रुपियाँ नाफा आर्जन गरेको थियो। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले ८४ करोड ४४ लाख रुपियाँ नाफा आर्जन गरेको छ।

गत वर्षको सोही समयको तुलनामा यस वर्ष बैंकले १९ दशमलव ९४ प्रतिशतले घाटा व्यहोरेको छ। गत वर्षको सोही समयमा बैंकले १० करोड ५४ लाख नाफा आर्जन गरेको थियो।

यस वर्षको पहिलो त्रैमासमा एनएमबी बैंकले ८१ करोड ५१ लाख रुपियाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही समयमा ५५ करोड ५ लाख रुपियाँ नाफा आर्जन गरेको थियो। गत वर्षको तुलनामा यस वर्ष बैंकले ४८ दशमलव शून्य ६ प्रतिशतले नाफा वृद्धि गरेको छ।

ग्लोबल आइएमई बैंकले ७५ करोड ३१ लाख रुपियाँ नाफा आर्जन गरेको छ।गत वर्षको पहिलो त्रैमासमा यस बैंकले ५३ करोड ५८ लाख नाफा आर्जन गरेको थियो।

गत वर्षको तुलनामा यस वर्ष बैंकले ४० दशमलव ५५ प्रतिशतले नाफा वृद्धि गरेको छ।हिमालयन बैंकले चालू वर्षको त्रैमासमा ६९ करोड ४२ लाख नाफा आर्जन गरेको छ। गत वर्षको पहिलो त्रैमासमा यस बैंकले ६४ करोड ९६ लाख रुपियाँ नाफा आर्जन गरेको थियो।

यस वर्ष बैंकले ६ दशमलव ८६ प्रतिशतले नाफा वृद्धि गरेकोछ। यस्तै चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एभरेष्ट बैंक, प्राइम बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, प्रभु बैंकले नाफा वृद्धि गर्दा कृषि विकास बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, बैंक अफ काठमान्डू, सिटिजन बैंक, एनसीसी बैंक, सिभिल बैंकको नाफामा गिरावट आएको छ।

यसैगरी पहिलो त्रैमासमा नाफा बढाउनेमा सानिमा बैंक, सिद्धार्थ बैंक, सन्राइज बैंक, सिद्धार्थ बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ«े बैंक, सेञ्चुरी बैंक र जनता बैंक रहेका छन्।

पहिलो त्रैमासमा सार्वजनिक वित्तीय विवरण अनुसार २८ वाणिज्य बैंकमध्ये ११ बैंकको निष्कृय कर्जा बढेको छ। सेञ्चुरी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा बढेको छ।

प्रतिक्रिया दिनुहोस्