खराब मौसममा फसेको विमान सुरक्षित निकालियो



इस्लामाबाद (एजेन्सी)।

पाकिस्तानको हवाइ ट्राफिक कन्ट्रोलरले जयपुरबाट मस्कटका लागि उडानमा रहेको ओमान एयरलाइन्सको विमानलाई आपतकालिन स्थितिबाट सुरक्षित निकालेको छ । उक्त विमान त्यतिबेला पाकिस्तानको हवाई क्षेत्रबाट उडिरहेको थियो ।

खराब मौसमका कारण विमान टर्बुलेन्समा फसेको थियो । पाइलटले मद्दतका लागि अलर्ट बटन डबाए । त्यसको लगत्तै पाकिस्तानी अधिकारीहरुले तत्काल प्रतिक्रिया दिए र विमानलाई सुरक्षित निस्कन मद्दत गरे ।

विमानमा १ सय ५० यात्री सवार थिए ।विमानस्थलका अधिकारीका अनुसार दक्षिणी सिन्ध प्रान्तको चोर इलाकामा चट्यांग पर्न थालेपछि विमान आकश्मिक रुपमा ३६ हजार बाट ३४ हजार फिटमा झर्न पुगेको थियो ।

त्यसपछि पाइलटले प्रोटोकल सन्देश मार्फत हवाइ ट्राफिकसँग मद्दत मागेका थिए । अधिकारीले पाइलटलाई खराब मौसमबाट बाहिर निस्कन आवश्यक निर्देशन दिएका थिए ।

गत फेब्रुअरी २६ मा बालाकोट हवाइ आक्रमणपछि पाकिस्तानले भारतिय विमानहरुका लागि आफनो हवाइ क्षेत्र बन्द गरेको थियो । यद्यपी जुलाइ १६मा यसलाई खुला गरिएको थियो ।

पाकिस्तानले गत महिना मात्रै भारतिय प्रधानमन्त्रीको भीभीआईपी उडानलाई पनि साउदी अरब जानका लािग आफनो हवाई मार्ग प्रयोग गर्न दिन अस्विकार गरेको थियो ।

जम्मु काश्मिरबाट भारतिय संविधानको अनुच्छेद ३७० हटाएपछि पाकिस्तानले भारतसँग राजनितिक संम्बन्ध अत्यन्त कम पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्