जिल्लाका प्रतिष्ठानमा ५४,५७५ जनशक्ति कार्यरत



मोतीराम तिमल्सिना, काभ्रे।

राष्ट्रिय आर्थिक गणना २०७५ मा जिल्लाको आर्थिक क्रियाकलापको क्षेत्र, प्रतिष्ठानका अवस्थाका बारेमा प्राप्त नतिजा सार्वजनिक गरिएको छ। राष्ट्रिय आर्थिक गणनामा प्राप्त उपलब्धिलाई धुलिखेलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

जिल्लामा रहेका सबै व्यावसायिक आर्थिक इकाइहरूमा पुगी गणना गरिएको थियो।नेपालमा रहेका अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणमा उल्लिखित क्षेत्रका आर्थिक इकाइहरू एकैपटक समेटिने गरी २०७५ मा आर्थिक गणना सञ्चालन गरिएको थियो।

जिल्लामा कृषि, वन तथा माछापालन व्यवसाय ७ सय ३६, औद्योगिक उत्पादन १ हजार ९ सय १४, खानी तथा उत्खनन, विद्युत्, ग्यास, वाफ तथा वातानुलित आपूर्ति, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप र निर्माणमा १ सय ६९, थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मतमा ६ हजार १ सय ३५, यातायात तथा गोदाम र सूचना तथा सञ्चार ८४, आवास सुविधा तथा खाना व्यवस्थामा २ हजार ६ सय ४३, वित्तीय तथा बीमामा ४ सय ९७, शिक्षामा ७ सय २०, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापमा ३ सय ९८, घरजग्गा कारोबार, पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप, प्रशासनिक तथा सहयोगी क्रियाकलाप अन्य सेवा क्रियाकलाप, कला मनोरञ्जन तथा मनोविनोद क्रियाकलाप र सञ्चालन गर्ने प्रतिष्ठानमा ९ सय ८६ वटा गरी १४ हजार २ सय ८२ प्रतिष्ठान गणनामा समावेश भएका छन्।

जसमा ७ हजार ३ सय २७ प्रतिष्ठान दर्ता भएका छन् भने ६ हजार ९ सय ५५ प्रतिष्ठान दर्ता भएका छैनन्। प्रतिष्ठानमा ५४ हजार ५ सय ७५ जनशक्ति कार्यरत छन्। २० हजार ७ सय ६ पुरुष र १५ हजार २ सय २ महिला प्रतिष्ठानमा कार्यरत छन्।

जिल्लाका १३ तहमध्ये सबैभन्दा कम खानीखोला गाउँपालिकामा २ सय ४९ प्रतिष्ठान रहेका छन्।

जसमा १ सय ९ वटा दर्ता भएका छन् भने १ सय ४० वटा दर्ता भएका छैनन्। महाभारतमा २ सय ६८ वटा प्रतिष्ठान दर्ता भएका छन्। १ सय ३३ वटा दर्ता भएका छन् भने १ सय ३५ वटा दर्ता भएका छैनन्।

भुम्लु गाउँपालिकामा ४ सय ४७, चौरीदेउराली गाउँपालिकामा ४ सय ६०, तेमाल गाउँपालिकामा ४ सय ६३, बेथान्चोक गाउँपालिकामा ५ सय २ र रोशी गाउँपालिकामा ७ सय ४४ वटा प्रतिष्ठान छन्।

सबैभन्दा धेरै बनेपा नगरपालिकामा ४ हजार ३ सय २९ प्रतिष्ठान रहेका छन् भने पनौती नगरपालिकामा १ हजार ९ सय १ वटा प्रतिष्ठान रहेका छन्। पाँचखालमा १ हजार ४ सय ६२, धुलिखेलमा १ हजार ४ सय २२, नमोबुद्ध नगरपालिकामा १ हजार २१ र मण्डनदेउपुर नगरपालिकामा १ हजार १४ वटा प्रतिष्ठान रहेका छन्।

प्रतिशतका आधारमा ५१ प्रतिशत दर्ता भएका र ४९ प्रतिशत दर्ता नभएका प्रतिष्ठानको संख्या रहेको छ।

तथ्यांकका आधारमा परम्परागतरूपमा सञ्चालन हुँदै आएका ऐतिहासिक बजारहरूको संख्या घट्दै गएको छ। जिल्लाभर २ सय ८ वटा प्रतिष्ठान मात्रै परम्परागत बजारमा सञ्चालन भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्