पिको हाइड्रोबाट १७ किलोवाट विजुली



मोतीराम तिमल्सिना, काभ्रे। 

काभ्रेपलान्चोक र मकवानपुर जिल्लाको विकट क्षेत्रमा पिको हाईड्रोबाट १७ किलोवाट विजुली निकालिएको छ। दुई गाउँपालिकाका १ सय ४९ घरधुरी उक्त विजुलीको सेवाबाट लाभान्वित भएकाछन्।

प्रति किलोवाट ३ लाख रुपियाँ खर्च भएको उक्त परियोजनाका लागि सभासद् रामहरी सुवेदीको विकास कोषमार्फत १० लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइएको थियो।

विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाईन नपुगेको काभ्रेपलान्चोक जिल्लाको खानिखोला गाउँपालिका– ६ स्थित नारायणखोला पिको हाईड्रो विद्युतीकरण आयोजना उपभोक्ता समितिले ७ दशमलव ५ किलोवाट र मकवानपुर जिल्लाको राक्सिराँङ गाउँपालिका– ६ मा रहेको डिङनाखोला पिको हाईड्रो उपभोक्ता समितिबाट ९ दशमलव ६ किलोवाट विजुली उत्पादन गरेको छ।

खानिखोला गाउँपालिकाका ५३ घरधुरी र राक्सिराँङ गाउँपालिकाका ९६ घरधुरी उक्त आयोजनाबाट लाभान्वित भएका छन्। साइमन्पु फाउण्डेशन र इको इनर्जि फिनल्याण्डको आर्थिक सहयोग, ग्रामिण प्रविधि केन्द्र ललितपुरको प्राविधिक सहयोग, घट्टधनी संघ काभ्रेको सामाजिक सहयोगबाट उक्त परियोजना सम्पन्न भएको हो।

परियोजना सम्पन्न भएपछि स्थानीयले विजुलीको माध्यमबाट वातावरणमैत्री सुधारिएको घट्ट, कुखुरापालन, सिलाई व्यवसाय, अन्य उत्पादन र आयमुलक कार्य शुरु गरेका छन्।

२०१८ जुलाईबाट शुरु भएको उक्त आयोजना २०१९ को सेप्टेम्बरमा सम्पन्न भएको थियो। सामुदायिक विद्युतीकरण र लघुउद्यम विकासमार्फत स्वच्छ उर्जा पहुँच र दिगो विकाससहित ग्रामिण जनजीवन सुधारका लागि उक्त परियोजना महत्वपूर्ण भएको ग्रामिण प्रविधि केन्द्रका वरिष्ठ निर्देशक डा. पुरुषोत्तम श्रेष्ठले बताउनुभयो।

प्रति किलोवाट ३ लाख रुपियाँ खर्च भएको उक्त परियोजनाका लागि सभासद् रामहरी सुवेदीको विकास कोषमार्फत १० लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइएको थियो। खानिखोलामा सम्पन्न परियोजनाका लागि २२ लाख ८७ हजार खर्च भएकोमा १० लाख र प्राविधिक सहयोग परियोजनाका तर्फबाट उपलब्ध गराईएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर थोकरले जानकारी दिनु भयो।

‘परियोजनाको कारण स्थानीयले आय आर्जनका व्यवसाय फर्निचर तथा अन्य व्यवसायिक कार्य गर्न सहज भएको छ’ –अध्यक्ष थोकरले भन्नु भयो।

परियोजना समापन कार्यक्रमा संविधान सभा सदस्य रामहरी सुवेदी, खानिखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलाल, उपाध्यक्ष रुकमणी गुरुङ, नेकपा नेता शेखर लामा, केशव बडाल, उपभोक्ता समितिका अध्यक्षहरू चन्द्रबहादुर थोकर, डम्बर तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, घट्टधनी संघ काभ्रेका अध्यक्ष शिवशरण श्रेष्ठ, सचिव रामहरी श्रेष्ठ, ग्रामिण प्रविधि केन्द्रका सन्तोष मण्डल र सानुबाबु पण्डित, बनेपा नगरपालिकाका सामाजिक विकास शाखाका शाखा अधिकृत चिरञ्जिीवी अर्याल, ग्रामिण प्रविधि केन्द्रकी टिम लिडर शोभना महर्जन लगायतले पिको हाईड्रो समुदायमा आधारित भएकाले समुदायको हितमा कार्य गर्न सहज भएको बताउनु भयो।

घट्ट संघ काभ्रे जिल्लामा रहेको १ हजार १ सय २० पानी घट्टमध्ये ९ सय २० वटालाई सुधार गरिएको अध्यक्ष शिवशरण श्रेष्ठले बताउनु भयो। जसमध्ये ४० वटा घट्टबाट विजुली उत्पादन भएको छ भने १ सय ३५ वटा घट्टबाट परिप्रयोग गरिएको छ।

जिल्लाका महाभारत र खानीखोला गाउँपालिकामा विद्युत्त प्राधिकरणको केन्द्रीय प्रसारण लाईनका लागि झण्डै १ अर्ब रुपियाँको लागतमा केही महिना अघि मात्रै ठेक्का लगाईएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्