मधुमेहले आँखामा असर

विश्व मधुमेह दिवस/डायवेटिक रेटिनोप्याथी दिवस



मधुमेहबाट परिवार सुरक्षित गरौं भन्ने मूल भावअनुरूप तिलगंगा आँखा प्रतिष्ठानले कात्तिक २४ देखि ३० गतेसम्म मधुमेहबाट आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रूपमा विशेष कार्यक्रमका साथ मनायो।

यसअन्तर्गत मधुमेहको आँखामा असरसम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरियो। साथै मधुमेहका बिरामीलाई कात्तिक २८ गतेका दिन तिलगंगा आँखा प्रतिष्ठानमा निःशुल्क आँखा जाँचको व्यवस्था गरिएको थियो।

यस वर्षको डायवेटिक रेटिनोप्याथी दिवस पनि ‘मधुमेहबाट परिवार सुरक्षित गरौं, अन्धोपनबाट बचौं’ भन्ने नाराका साथ निरन्तर छैठौं वर्षका रूपमा मनाइयो।

अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन्। अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदयरोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणका रूपमा मधुमेह देखिएको छ।

हरेक तीनमध्ये एकजना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टिमा क्षति बेहोर्नुपर्ने हुन्छ। मधुमेह लागेका व्यक्तिमा हृदय रोगको जोखिम सामान्य मानिसमा भन्दा तीन गुणा बढी हुन्छ।

मिर्गौलाले काम नगर्ने जोखिम मधुमेहका बिरामीमा १० गुणा बढी हुन्छ। संसारभर प्रत्येक ३० सेकेन्डमा कुनै एक मधुमेही व्यक्तिले आफ्नो खुट्टा गुमाइरहेका छन्।

मधुमेह रोग आफैमा जति संवेदनशील छ यो रोगको दूरगामी असर न्यूनीकरणका लागि धेरै पहल गर्न सकिन्छ। जस्तो कि दोस्रो प्रकारको मधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापन र औषधोपचारका माध्यमबाट सजिलै ५ सय ५ भन्दा बढीमा रोकथाम गर्न सकिन्छ।

त्यसैले, हरेक परिवारको मधुमेह व्यवस्थापन, रोकथाम तथा शिक्षाप्रतिको भूमिकालाई व्यापक बनाउने अभियानअनुरूप यस वर्ष ‘मधुमेहबाट परिवारलाई सुरक्षित गरौं’ भन्ने नाराका साथ विश्वभर मनाइयो।

डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो। मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब २ तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ।

मधुमेही बिरामीमा आँखाको पर्दामा असर गरे पनि यसको लक्षण तत्कालै नदेखिन सक्छ। आँखामा धेरै असर गरिसकेपछि मात्र रोगका बारेमा थाहा हुन सक्छ जतिबेला उपचारपश्चात् पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ।

मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरूमा असर गरी पर्दाको रक्तसञ्चारमा प्रभाव पार्दछ। जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुन गई दृष्टि कमजोर हुन जान्छ।

संसारमा कुल अन्धोपनामध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यही डायबेटिक रेटिनोप्याथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ।

मधुमेहको आँखामा असर डायबेटिक रेटिनोप्याथीसम्बन्धी जनचेतना जगाउनका लागि सन् २०१४ देखि नै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले ‘डायबेटिक रेटिनोप्याथी दिवस’ मनाउँदै आएको छ।

मधुमेह रोगको पहिचान हुनासाथ आँखाको डाक्टरको सल्लाहअनुसार नियमितरूपमा आँखा परीक्षण गराआंै। समयमै मधुमेह रोग र यसबाट हुन सक्ने असरहरूका बारेमा आफू पनि सचेत बनौं र आफ्नो परिवारलाई पनि
सचेत गराआंै।

प्रतिक्रिया दिनुहोस्