ब्लड क्यान्सरपीडितलाई छात्रा टियाको ११ हजार सहयोग



आफ्नो जन्मोत्सवको खर्च जोगाएर विगतदेखि नै गरिब तथा विपन्नहरूको उपचारका लागि सहयोग गर्दै आएकी पेप्सीकोला टाउनप्लानिङकी १३ वर्षीया छात्रा टिया श्रेष्ठले यस वर्ष रक्तक्यान्सर पीडित एक युवाको उपचारका लागि आर्थिक सहयोग गरेकी छिन्।

गएको कात्तिक २७ गते १२ वर्ष पुगी १३ वर्ष लागेकी टियाले आफ्नो जन्मोत्सवको खर्च जोगाएर राखेकी थिइन्।

७ कक्षामा अध्यनरत छात्रा टियाले आइतबार मीनभवनस्थित सिभिल अस्पतालको बेड नं २३० मा भर्ना भई उपचार गराइराखेका इनरुवा सुनसरीका २२ वर्षीय आशिष पोखरेलको उपचारका लागि ११ हजार नगद सहयोग गरेकी हुन्।

उनको उपचारका लागि १५ देखि २० लाख रूपियाँ लाग्ने बताइएको छ।
पत्रकार एवं स्काउट गुरु बलराम प्यासीको पहलमा टियाले सो रकम बिरामीका बुबालाई हस्तान्तरण गरेकी थिइन्।

आफ्ना बुबा एभरेस्ट फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष एवं करियर विल्डिङ इन्टरनेसनल एकेडेमी पेप्सीकोला टाउनप्लानिङका संस्थापक अध्यक्ष तेज श्रेष्ठ र दिदी रिजा श्रेष्ठसँग सिभिल अस्पताल पुगेर टियाले आशिषका बुबा झलकमणि (विष्णु) पोखरेललाई सो रकम हस्तान्तरण  गरेकी थिइन्।

टियाले यसअघि पनि दुईजना मिर्गाैलापीडित बिरामीलाई १०/१० हजार रुपियाँ आर्थिक सहयोग गरिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्