७५ प्रतिशत मजदुर व्यवसायजन्य रोगबारे बेखबर



इँटा भट्टामा कार्यरत ७५ प्रतिशत मजदुरलाई कार्यस्थलमा रहेको धूलोधूवाँका कारण दीर्घ रोग लाग्नेबारे थाहा नभएको र सोही नै संख्यामा दीर्घरोगीहरू रहेको पाइएको छ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले काठमाडौं उपत्यकाका इँटा भट्टाहरूमा गरेको अध्ययन प्रतिवेदनअनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र निमोनिया भएको देखिएको छ।

सो सम्बन्धमा आयोजना गरेको व्यवसायजन्य स्वास्थ्य र सुरक्षासम्बन्धी कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सुजन जोजीजूले भन्नुभयो– ‘नेपालमा व्यवसायजन्य दुर्घटनामा वर्षेनी २ सयभन्दा बढीको मृत्यु हुन्छ तर विभाग वा मन्त्रालयमा रिपोर्ट नै आउँदैन।’

हरेक उद्योग प्रतिष्ठानले श्रम अडिट र व्यवसायजन्य स्वास्थ्यमा वर्षेनी अडिट गरेको खण्डमा मजदुरहरूको स्वास्थ्य र जीवन सुरक्षित हुने उहाँको कथन थियो। मजदुरहरूमा सचेतना नहुँदा व्यवसायजन्य सुरक्षा नभएको र रोजगारदाताले व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यान्वयन गर्न नसक्दा धेरै मजदुरहरू अंगभंग भइरहेको उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘उद्योग प्रतिष्ठानमा दुर्घटना भई मजदुर अशक्त भएमा वा व्यवसायजन्य रोग लागेमा मजदुरले खाई पाई आएको ६० प्रतिशतबराबरको मासिक पेन्सन दिनुपर्ने प्रावधान छ।

यसैले यो अवस्था आउनै नदिनका लागि उद्योग प्रतिष्ठान व्यवसायजन्य स्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनुपर्छ।’अध्ययनकर्ता पूर्णभक्त दुवालले इँटा भट्टामा मजदुरहरूको स्वास्थ्यस्थिति भयावह रहेको र मजदुरहरूले घाम र चिसोबाट बच्नका लागि आश्रमस्थल नै नभएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘६९ दशमलव ५ प्रतिशत मजदुरले कामकै कारण स्वास्थ्य बिग्रिएमा उपचार खर्च आफैले बेहोर्दै आएको र दुर्घटना भएको अवस्थामा पनि रोजगारदाताले केही अंश मात्र बेहोर्दै आएका छन्।’

अध्ययनमा सहभागी ३२ दशमलव ५ प्रतिशत उद्यमीलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका बारेमा जानकारी नै नभएको र ७ दशमलव ५ प्रतिशतले यस सम्बन्धमा सुन्दै नसुनेको पाएको उहाँले बताउनुभयो।

मजदुरहरूको बासस्थान ४ फिटभन्दा अग्लो नभएको र भुइँको चिसोमा सुत्न बाध्य भएको पनि उहाँले अध्ययनको क्रममा पाएको बताउनुभयो। शौचालय पनि अव्यवस्थित र खानेपानी पनि स्वस्थकर नभएको पाइएको अध्ययनकर्ता दुवालले जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल इँटा उद्योग व्यवसायी महासंघका महासचिव केपी अवालले इँटा भट्टामा मजदुरहरू मौसमी हुने गरेकाले र वर्षेनी कामदार फेरिने गरेकाले श्रम ऐनअनुसार मजदुरहरूलाई बुझाउन गाह्रो भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सरकारको नीति नियम एकातिर छ र वस्तुस्थिति अर्कै हुँदा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यान्वयन गर्न समस्या भइरहेको छ।’
इँटा भट्टाबाट हुने प्रदूषण अत्यन्तै कम भइसकेको र सरकारी मापदण्डअनुरूप काम भइरहेको बताउँदै उहाँले ५ वटा प्रदेशमा इँटा प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो।

व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा इँटा उद्योग महासंघ एकदमै संवेदनशील रहेको र यसमा सबै पक्षको उत्तिकै सहयोग आवश्यक रहेको उहाँको टिप्पणी थियो।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले जनताको स्वास्थ्य अधिकारका लागि रेस्फेकले काम गर्दै आएको र मजदुरहरूको स्वास्थ्य राम्रो भएमा मात्र उत्पादन बढ्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘व्यवसायी, मजदुर र सरकारसँग मिलेर इँटा भट्टामा देखिएको समस्यालाई समाधान गर्न त्रिपक्षीय छलफल निरन्तर गरी कार्यक्रम अगाडि बढाइनेछ र नीति तथा कानुन कार्यान्वयनमा रहेका व्यावहारिक कठिनाइ पहिल्याई भावी कार्यक्रम तय गरिनेछ।’ उहाँले अध्ययन प्रतिवेदनका आधारमा इँटा भट्टामा सचेतनामूलक तालिम चलाइने पनि जानकारी उहाँले दिनुभयो।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष विदुर कार्कीले कुनै पनि पेसा वा व्यवसायको प्रकृतिअनुसार कार्यथलोमा काम गर्दा श्रमिकहरूको स्वास्थ्यमा पर्ने शारीरिक, मानसिक वा जोखिमयुक्त असुरक्षित वातावरणलाई घटाउँदै स्वस्थ्य र सुरक्षित वातावरण स्थापित गर्न विकसित भएको अवधारणालाई नै व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य भनिने जानकारी दिनुभयो। उहाँका अनुसार व्यवसायजन्य स्वास्थ्य र सुरक्षामा ध्यान दिए औद्योगिक दुर्घटना ९० प्रतिशत रोक्न सकिन्छ।

नेपाल ट्रेड युनियन कंग्रेसका महासचिव योगेन्द्र कुँवरले कुनै पेसा/व्यवसायमा संलग्न भएकै कारण काम वा पेसाको प्रकृतिअनुसारको लाग्ने अल्पकालीन तथा दीर्घकालीन विभिन्न रोगहरू व्यवसायजन्य रोग भएको जानकारी दिनुभयो। यस्तो किसिमको रोग बैंकमा काम गर्ने कर्मचारीदेखि उद्योगमा काम गर्ने मजदुरसम्मलाई लाग्ने जानकारी उहाँले दिनुभयो।

जनस्वास्थ्य अभियन्ता प्राडा शरदराज वन्तले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका सम्बन्धमा नेपालमा खासै अध्ययन नभएको र रेस्फेकले
गरेको अध्ययन नीति निर्मातादेखि मजदुरसम्मका लागि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्