कैलालीको टीकापुरमा सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी प्रशिक्षण



सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी प्रदेश स्तरीय तीन दिने प्रशिक्षण कैलालीको टीकापुरमा आज मंसिर १ गतेदेखि शुरु भएको छ।

मानवीय गतिविधिहरूलाई अझै प्रभावकारी बनाउनका साथै सामुदायिक संलग्नता तथा जवाफदेहितालाई संस्थागत गर्न मुलुकका सबै प्रदेश र जिल्लाहरूका रेडक्रसका निकायहरूलाई सचेतना अभियानअन्र्तगत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले प्रशिक्षण आयोजना गरेको हो।

प्रशिक्षणमा नेपाल रेडक्रसका कर्णाली र सुदूरपश्चिम प्रदेश समितिहरू र दुवै प्रदेशभित्र रहेका १९ वटै जिल्ला रेडक्रसका प्रतिनिधिहरू र केन्द्रीय कार्यालयका गरी २४ जना सहभागी हुनुहुन्छ।

कार्यक्रमको शुभारम्भ गर्नु हुँदै नेपाल रेडक्रस सोसाइटीका निर्देशक दिव्यराज पौडेलले भन्नुभयो– ‘संकटासन्नता वा विपद्मा परेका मानिसहरूलाई सहयोगको योजना तर्जुमा तथा सेवा गतिविधिहरूको कार्यान्वयन गर्दा समुदायका मानिसहरूलाई संलग्न गराउने, उनीहरूको आवाज, सवाल र पृष्ठपोषणप्रति संवेदनशील भई कार्यक्रमलाई अनुकुलित बनाउँदै लैजानेतर्फ रेडक्रस संवेदनशील छ।’

रेडक्रसका गतिविधिमा समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न र उनीहरूप्रतिको जवाफदेहितालाई सुदृढ गर्न अवलम्बन गरिने रणनीति र न्यूनतम् गतिविधिबारे जानकारी गराउन प्रशिक्षणले सहयोग पुर्याउने निर्देशक पौडेलले अपेक्षा गर्नुभयो।

फरक–फरक लक्षित समूहका लागि फरक–फरक तरिकाले कार्यक्रम र गतिविधिमा संलग्नता गराउने विधिमा अभ्यास र छलफल गरिने कार्यक्रम रहेको छ।

यसअघि प्रदेश नं २ र ३ को धुलिखेलमा तथा गण्डकी र प्रदेश ५ को कास्कीमा यस्तै खालको प्रशिक्षण गरिसकिएको छ। प्रशिक्षणमा बेलायती रेडक्रसको आर्थिक सहयोग रहेको छ।

प्रतिक्रिया दिनुहोस्