शम्भु थापालाई हटाउन सर्वोच्चमा निवेदन



काठमाडौं, (नेस)।

बम विस्फोटमा परेर घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाउने नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहमद अफताव आलमको पक्षमा वकालत गर्ने वरिष्ठ कानुन व्यवसायी शम्भु थापालाई कानुन व्यवसायीबाट हटाइदिन सर्वोच्चमा निवेदन परेको छ।

नेपाल प्रहरीमा कार्यरत एक प्रहरी जवानले १६ वर्षमा नै पेन्सन पाऊँ भन्दै सर्वोच्च अदालतमा दायर गरेको उत्प्रेषणयुक्त आदेशको माग गर्दै दायर गरेको मुद्दामा वादीका तर्फबाट बहस गर्न थापालाई कानुन व्यवसायीका रूपमा नियुक्त गरिएको थियो।

बैतडीका दीपेन्द्रबहादुर चन्दले दायर गरेको मुद्दामा आफूले वरिष्ठ अधिवक्ता थापालाई कानुन व्यवसायीका रूपमा नियुक्त गरेका थिए।

थापाप्रति आफ्नो अगाध विश्वास र सम्मान भएकाले कानुन व्यवसायीको रुपमा नियुक्त गरेको भए पनि पछिल्लोपटक उहाँले खुंखार अभियुक्त आलमको पक्षमा बहस गर्ने घोषणा गरेपछि उहाँप्रति विश्वास घटेकाले अधिवक्ताबाट हटाउन सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो।

उहाँजस्तो वरिष्ठ कानुन व्यवसायीबाट समाजले नै वहिष्कार गर्न खोजेको व्यक्तिको पक्षबाट वकालत गर्न खोजेकाले आफ्नो मन मस्तिष्कले त्यस्ता व्यक्तिलाई कानुन व्यवसायी राख्न उचित नदेखी कानुन राख्न मन नलागेकाले हटाई पाऊँ भन्दै सर्वोच्चमा निवेदन दिएको चन्दले सर्वोच्च अदालतमा दिएको निवेदनमा उल्लेख गरिएको छ।

सर्वोच्चमा चन्दले चढाएको निवेदनमा आफ्नो उचाइ र प्रतिष्ठाको ख्याल नगरी पैसाका लागि आलमजस्तो व्यक्तिको पक्षमा लाग्ने अधिवक्ताले हजारौं निमुखा प्रहरी जवानको पक्षमा बहस गर्न नसक्ने ठहर गरी आफ्नो कानुन व्यवसायीबाट हटाउन निवेदन दिएको पनि उहाँले बताउनुभयो।

थापासँगै आलमको पक्षमा वकालत गर्र्ने रमण श्रेष्ठ, पूर्णबहादुर खड्काजस्ता वकिलको पनि आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्