कामनपाले चार दिनमात्रै फोहोर उठाउने



ईश्वरराज ढकाल, काठमाडौं।

काठमाडौं महानगरपालिकाले हप्ताको चार दिन मात्रै फोहोर उठाउने तयारी गरेको छ। नकुहिने फोहोरको घरमै व्यवस्थापन गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरी कुहिने फोहोर संकलन गर्न लागेको हो।

यसअघि १२, १८ र २१ वडामा शुरू गरिएको उक्त योजना अब सबै वडामा लागू गर्न लागिएको कामनपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालले बताउनुभयो।

उहाँका अनुसार अबको एक महिनाभित्र सो व्यवस्था लागू भइसक्नेछ। विभागले ३२ वटै वडाका वडाध्यक्ष र सदस्यहरूलाई विशेष तालिम दिएपछि नयाँ व्यवस्था शुरू गर्न लागेको हो।

‘पहिलो चरणमा वडाध्यक्ष र सदस्यलाई यसबारे तालिम दिन्छौं, त्यसपछि उहाँहरूको अग्रसरतामा फोहोर व्यवस्थापन शुरू गछौं।’ –विभागका प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेलले भन्नुभयो।

विभागले उक्त कामका लागि स्थानीय क्लब, पुचः महिला समूहलगायत सामाजिक निकायसँग पनि समन्वय गर्नेछ।

कामपामा दैनिक करिब ६ सय टन फोहोर व्यवस्थापन हुने गरेको छ।उपत्यकाका १८ स्थानीय तहसहित धादिङ, काभ्रे र नुवाकोट जिल्लाका केही स्थानीय तहको फोहोर व्यवस्थापन हुने गरेको छ।

सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदा समस्या बढ्दै गएको छ। उपत्यकाको सिसडोलमा कामपाको करिब २० सवारी साधनबाट दैनिक फोहोर ओसार्ने गरिएको छ।

उता टेकु ट्रान्फर स्टेसनमा पुनः फोहोर थुप्रिन थालेको छ। तिहारमा कार्यकारी अधिकृत केदार न्यौपानेले ट्रान्सफर स्टेसन सफा गरी फोहोर नथुपार्न निर्देशन दिनुभएको थियो।

तर हिजो सोमबार उक्त स्टेसन अवलोकन गर्दा फोहोर थुप्रिएको भेटिएको हो। बिग्रिएर थन्किएको सवारी साधन मर्मत नहँुदा समस्या परेको महाशाखा प्रमुख बरालले दावी गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्