१३औं सागको टेलिभिजन प्रशारण सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं। 

यही मंसीरमा नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को टेलिभिजन प्रसारण अधिकार सम्बन्धी सम्झौता भएको छ। आईतबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले तीन पक्षसँग टेलिभिजन सम्झौतासम्बन्धी पत्रमा हस्ताक्षर गरेको छ।

एसएओसी र भारतको टेलिभिजन कम्पनी एनके मिडिया भेन्चर प्रालिबीच प्रशारण अधिकार सम्बन्धी सम्झौता भएको हो। योसँगै सागको इतिहासमा पहिलो पटक टेलिभिजन प्रशारणसम्बन्धी सम्झौता समेत गरिएको छ।

एसएओसी तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र एनके मिडिया भेन्चरका सिएमजी प्रभात रञ्जन मल्लिकले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार प्रशारण अधिकार वापत उक्त कम्पनीले एसएओसीलाई ८ करोड रुपैयाँ प्रदान गर्ने छ।

त्यसवापत एनके मिडिया सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण गर्नेछ। त्यसैगरी एनके मिडियाले ल्याउने विज्ञापनको ५० प्रतिशत एसएओसीले पाउनेछ।एनके मिडियाले नेपाली दर्शकका लागि नेपाल टेलिभिजन मार्फत सबैको खेलका प्रत्यक्ष प्रसारण गर्नेछ।

यसका लागि एनके मिडियाले नेपाल टेलिभिजनसँग सहकार्य गर्नेछ। एनके मिडियाले सहभागी सातै राष्ट्रमा १५ टिभी च्यानलद्वारा सागको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ।दोश्रो सम्झौता एसएओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच भयो। जसअनुसार एसएओसीले प्रशारण अधिकारी र विज्ञापनवापत पाउने रकमको ५० प्रतिशत राखेपले प्राप्त गर्ने छ।

राखेप आफैले ल्याउने विज्ञापनमा भने कसैको अधिकारी हुने छैन। तेश्रो सम्झौता एसएओसी र एजेन्ट कम्पनी फिस्कल एजेन्टका प्रतिनिधि प्रियानाथ चट्टोपाध्यायसंग भएको थियो। उक्त एजेन्ट कम्पनीले प्रशारण र विज्ञापन वापतको कमिसन प्राप्त गर्ने छ।

सम्झौता कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) तथा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले यस प्रसारण सम्झौतालाई ऐतिहासिक भनेका छन्।

प्रशारण अधिकारको सम्झौतापछि अब कुनै पनि मिडियाले भिडियोको प्रत्यक्ष प्रशारण गर्न पाउने छैन। एनके मिडिय सीएमडि मलिकले खेल लगत्तै मिडियाका लागि भिडियाहरू उपलब्ध गराउने बताए। त्यस्तै एक्रिएडेटेड फोटो पत्रकारले भने फोटो खिच्न पाउने मलिकले बताए।

 

प्रतिक्रिया दिनुहोस्