फरार भए जेलका सहनाइके



नेपाल समाचारपत्र, हेटौंडा। 

मकवानपुरको क्षेत्रीयस्तरको भीमफेदी कारागारबाट एक कैदी फरार भएका छन्। सजाय काटिरहेका करिब ३० वर्षीय कुलदीपराज धामी फरार भएको कारागार प्रमुख जेलर प्रकाश खनालले जानकारी दिनुभयो। धामी भरतपुर जेलबाट करिब १५ महिनाअघि भीमफेदी कारागार ल्याइएका थिए।

धामीले जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामी ५ वर्षदेखि सजाय काटिरहेका थिए। सुरक्षामा सशस्त्र प्रहरी खटिए पनि कैदी भाग्न सफल भएका हुन्। कारागार सुरक्षामा सशस्त्र प्रहरीका डीएसपीको कमान्डमा ५९ सशस्त्र तैनाथ छन्।

कारागारमा रहेका कैदीको आन्तरिक प्रशासनले शनिबार राति पौने १० बजे आफूलाई खबर गरेपछि तत्काल खोजी कार्य अघि बढाइएको खनालले बताउनुभयो। शनिबार राति करिब ९ देखि ११ बजेबीचमा धामी भागेको हुनसक्ने जेल प्रशासनले बताएको छ।

कारागार वरिपरी १२ फिट अग्लो पर्खाल रहेकोले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। कारागारबाट कैदी फरार भएपछि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी बताउनुभयो।

पर्खालको केही सानो भागमा खाली रहेका र त्यहाँ तार तानिएको भेटिएकोले धामी त्यहीँबाट भागेको हुनसक्ने अनुमान गरिको उहाँले बताउनुभयो। धामीको खोजीका लागि उनको स्थायी घर चितवन र पुरानो ठेगाना सुनसरीको साविक बकलौरी गाविस–४ मा अर्लट गरिएको खनालले जानकारी दिनुभयो।

कारागारको ‘क’ ब्लकमा रहेका धामी जेलका सहनाइके हुन्। वर्ण कालो, हरियो सर्ट लगाएको, तराई मुलका जस्तो देखिने, कपाल छोटो, फुलेको, होचो शरीर भएका उनलाई देख्नेले खबर गरिदिन आग्रह गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्