काम नगर्ने ठेकेदार पोस्टरमा



चिरञ्जीवी मास्के, दोलखा। 

लामोसाँगु–जिरी सडकको खाडीचौर–चरिकोट सडक विस्तार तथा स्तरोन्नतिको काममा ठेकेदारले लापर्बाही गरेपछि दोलाखका स्थानीयले ठेकेदारको फोटो सार्वजनिक गर्दै नैतिक दवाव अभियान शुरू गरेका छन्। नगरकोटबाट शुरू भएको यो अभियान दोलखाको चरिकोट आइपुगेको हो।

दोलखाका स्थानीयले चार वर्षदेखि काम अलपत्र पारेर जनतालाई दुःख दिने मुडे–चरिकोट सडक विस्तार तथा स्तरोन्नतिको जिम्मेवारी पाएका ठेकेदार दीपक सापकोटाको फोटो सार्वजनिक गरेका हुन्।

उनीहरूले सार्वजनिक बसहरूमा ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका प्रबन्धक निर्देशक दीपक सापकोटाको तीन थरी फोटो सार्वजनिक गर्दै नैतिक दवाव अभियान शुरू गरेका छन्।

सापकोटाको फोटोसँगै ‘ठेकेदार दीपक सापकोटा मूडे–चरिकोट सडक किन अलपत्र पारेको ?,’ ‘मूडे चरिकोट सडक विगत चार वर्षदेखि अलपत्र पार्ने ठेकेदार दीपक सापकोटा मै हुँ। चिन्नु हुन्छ ?’, ‘जनतालाई सास्ती दिने ठेकेदार दीपक सापकोटा कालोपत्र छिटो गर।’ जस्ता नारासमेत लेखिएको छ।

शनिबार बिहान जम्मा भएका स्थानीयले काठमाडौं जाने यात्रु बाहक बसहरूमा सापकोटाको फोटोसहितको पोस्टर टाँस्न थालेपछि बसका स्टाफहरूले पनि सडकको कारण आफूहरूले आर्थिक नोक्सानीसँगै यात्रुहरूको गालीसमेत खानु परेको भन्दै आफै पनि पोस्टर टाँस्ने अभियानमा सहभागी भएका थिए।

अभियानमा सक्रिय होटल व्यवसायी भरतरोशन श्रेष्ठले सडकका कारण पर्यटकीय गन्तव्य दोलखामा पर्यटकसँगै स्थानीयले समेत सास्ती भोग्नु परेको बताउनुभयो। अर्का होटल व्यवसायी पुष्कर अधिकारीले स्थानीयले सडक विस्तारको काम समयमै सक्न पटकपटक दवाव दिँदासमेत बेवास्ता गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो।

भारतीय एक्जिम बैंकको झन्डै एक अरब २४ करोड ऋण सहयोगमा ५५ किलोमिटरको लामोसाँगु–चरिकोट सडक विस्तारका क्रममा विभिन्न ठाँउमा थुपारिएको माटो र खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा समस्या देखिएको छ।

सडक विस्तारमा भएको लापर्बाही कै कारण काठमाडौं–चरिकोटको १ सय ३३ किलोमीटरको दुरी तयगर्न १२ घण्टा भन्दा बढी समय लाग्ने गरेको व्यवसायी कमल चौहान बताउनुहुन्छ।

लामोसाँगु–चरिकोट सडक विस्तार कार्यक्रमअन्र्तगत लामोसाँगु–मूडे २५ किलोमिटर सडक विस्तार र मूडे–चरिकोट ३० किलोमिटर सडक विस्तारको कामको सम्झौता २०७२ भदौमा भएको थियो।

दुवै कामको सम्पन्न अवधि दुई वर्षको थियो। तर सम्पन्न अवधि सकिएर दुई वर्ष नाघिसक्दासमेत दवै कामको प्रगति हुन सकेको छैन। लामोसाँगु–मूडे सडक खण्डअन्र्तगत चेनेज जिरो किमिदेखि २५ किमिसम्म लामोसाँगु–मूडे सडक खण्डको काम सिमान्चल, गौरी पार्वती, सुनौलो खिम्ती जेभीले गरिरहेको छ भने चेनेज २५ किमीदेखि ५५ किमीसम्म मूडे–चरिकोट सडक खण्डको काम शकिल हेदर, शंकरमाली, सुनौला खिम्ती जेभीले गरिरहेकोे छ।

सडक आयोजनाका नयाँ प्रमुख दीप बाराही सडक विस्तार तथा स्तरोन्नतिको काम वर्षाअघि नै सक्ने गरी अगाडि बढाउन आफूले दुवै खण्डको निर्माण कम्पनीलाई निर्देशन दिएको र उनीहरूले काम शुरू गरेकोले चाँडै समस्या समाधान हुने बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्