भारतका चर्चित क्रिकेटर सचिन पात्लेखेतमा



रवि धिताल, पात्लेखेत ।

विश्व क्रिकेट जगतमै चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर काभ्रेको पात्लेखेत पुगेका छन् । क्रिकेटर तेन्दुलकरले नेपालकै पहिलो सुरक्षित खानेपानी घोषणा गरिएको धुलिखेल नगरपालिकाको वडा नम्बर ११ धिताल टोलमा पुगेर धाराको अवलोकन गरेको वडाध्यक्ष विष्णु धिताल काभ्रेलीले जानकारी दिए ।

युनिसेफको सद्भावना दूतका रुपमा नेपाल आएका तेन्तुलकरले धिताल टोल पुगेर खानेपानी धाराको अवलोकन गर्नुका साथै किशोरी समूहले आयोजना गरेको हातधुने कार्यक्रममा समेत सहभागिता जनाएका थिए ।

गाउँमा विश्वकै चर्चित क्रिकेट खेलाडी आउनेसुनेपछि टाढा टाढादेखिका बालबालिका समेत तेन्दुलकरलाई हेर्न धिताल टोलमा आइपुगेका थिए ।

धिताल टोलमा एकघर, एक धारा कार्यक्रम अन्तर्गत २० घर धुरीमा खानेपानीको धारा निर्माण गरिएको अध्यक्ष काभ्रेलीले बताए ।

धुलिखेल नगरपालिकाको समन्वय र सिविक फोरमको सहजीकरणमा धिताल टोल पुगेका तेन्दुलकरले त्यहाँका बालबालिकासँग आफ्नो अनुभव समेत साटासाट गरेका थिए ।

बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफले नेपाल ल्याएको मौकामा तेन्दुलकर पात्लेखेत पनि पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्