चितवनमा चौकीबाट भाग्ने सेनाका जवानको मृत्यु, राजमार्ग अवरुद्ध



न्युज अफ नेपाल चितवन ।

चितवनको इच्छाकामना गाउँपालिका–३ पृथ्वीराजमार्गस्थित फिस्लिङमा बाटो अवरुद्ध भएको छ । आज दिउँसो १२ बजेदखी स्थानीयले काठमाडौं जोड्ने राजमार्ग अवरुद्ध गरेको मुग्लिन प्रहरीले जनाएको छ ।

इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको अस्थाइ प्रहरी पोष्ट फिस्लिङ नजिकैको भीरबाट लडेर मृत्यु भएपछि स्थानीयले बाटो अवरुद्ध गरेको हो जनाएको छ । मृतक कँडेल नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । अहिले बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेला हेरेर आज विहान फर्किने क्रममा गाडी भित्र कँडेलले अभद्र व्यवहार गरेपछि उनलाईसंगै रहेका प्रहरी जवानले अस्थाइ प्रहरी पोष्ट फिस्लिङमा राखेको थियो । प्रहरी जवान शौचालय गएपछि चौकीबाट भाग्न खोज्दा कँडेलको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले जानकारी दिए । मृतक कँडेलको शव भरतपुर अस्पताल शव गृहमा राखिएको छ ।

स्थानीयका अनुसार इच्छाकामना मन्दिरबाट मृतक कँडेल र प्रहरी जवानसंगै गाडीमा फर्किएका थिए । फिस्लिङमा गाडीबाट ओर्लिएपछि कँडेललाई चौकीमा लगिएको थियो । सोही बेला कँडेल भीरबाट लडेको प्रहरीले जनाएको छ । स्थानीय र मृतकका परिवारले प्रहरी चौकीमा लगिएको व्यक्तिको रहस्यमय मृत्यु भएको भन्दै घटनाको निश्पक्ष छानविन गर्न माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्