मनाङको ‘अर्गानिक’ स्याउ काठमाडौँमा कहाँ पाइन्छ ?



बिरेन्द्र रिमाल, काठमाडौँ ।

मनाङको अर्गानिक स्याउको काठमाडौंमा ब्यवसायीक कारोबार सुरु भएको छ । एग्रो मनाङले उत्पादन गरेको स्याउको दशैंको घटस्थापनाबाट काठमाडौँमा व्यवसायीक कारोबार सुरु भएको हो ।

भ्रातङमा उत्पादन भएको ‘हिमालयन फ्रेस’ ब्राण्डको मनाङे स्याउ काठमाडौंमा जिके एण्ड सन्स एग्रो प्रा.लि.ले आधिकारिक रुपमा बिक्री सुरु गरेको हो । जिकेले मनाङ अर्गानिक स्याउको व्यवसायीक कारोबार सुरु गरेको एक महिना पूरा भएको छ । यसले काठमाडौँको सिता पाइलामा ‘कोल्ड स्टोर’ पनि संचालन गरेको छ ।

मनाङबाट आइपुगेको स्याउ स्टोरमा राखेर मागअनुसार बजारमा पुर्याउने गरेको छ । जिकेसँग लिएर काठमाडौँमा भाटभटेनी, बिगमार्टलगायत डिपार्टमेन्ट स्टोरहरुले ठूलो परिणाममा स्याउ बिक्री गर्ने गरेका छन् । ‘हिमालयन फ्रेस’ स्याउको जिके नेपालकै एकमात्रै आधिकारिक बिक्रेता हो । जिकेले एक महिनाको अवधिमा काठमाडौँमा मात्र ८ टन स्याउ बिक्री भएको जिकेका प्रमुख गणेश चालिसेले बताए ।

उनका अनुसार कोल्ड स्टोरबाटै दैनिक एकलाख रपैयाँको स्याउ बिक्री भइरहेको छ भने मागअनुसार घरघरमै पुर्याउने व्यवस्था गरिएको छ । उच्च हिमाली क्षेत्रमा उत्पादन भएको, कुनैपनि विषादी प्रयोग नभएकोले स्याउको माग सोचेभन्दा राम्रो भएको चालिसे बताउँछन् ।

“हामीले दशैंको घटस्थापनाको दिनदेखि व्यवसायीक रुपमा काठमाडौँमा बिक्री सुरु गरेका हौं । छोटै समयमा बजारबाट राम्रो माग आएको छ, यो हामीले सोँचेभन्दा सन्तोषजनक छ” उनले भने । समुन्द्री सतहभन्दा २५ सयदेखि ३ हजार मिटर उचाईमा उत्पादन भएकोले बजारमा आउने अन्य स्याउभन्दा रसिलो र स्वादिलो हुने भएकोले माग बढेको चालिसे बताउँछन् ।

मनाङमा केही स्याउ अझै टिप्न बेला नभएको भन्दै चालिसेले अहिले तीन जातीको स्याउ आफूसँग भएको बताए । उनको स्टोरमा फुजी, गाला र गोल्डेन गरी तीन जातका स्याउ छन् । फुजी अझै टिप्ने समय नभएकोले मागअनुसार मात्रै मगाउने गरेको उनको भनाई छ ।

उच्च हिमाली क्षेत्रमा उत्पादन हुने अर्गानिक स्याउको स्वाद लिएकाहरुले माग गर्ने गरेको चालिसे बताउँछन् । उनलका अनुसार काठमाडौँमा रहेका बौद्ध गुम्बामा स्याउको माग बढी छ । चिनियाँ वा तिब्बती पर्यटकहरुले समेत अत्याधिक मन पराएका छन् । उनीहरुको माग पनि दिनदिनै बढिरहेको छ । नेपालमा उत्पादन हुने स्याउ ‘ग्रेडिङ’ नगरी बजारमा ल्याउने गरिएपनि मनाङ एग्रोले भने सबै स्याउको साइजअनुसार ग्रेडिङ गरेको छ । त्यहीअनुसार मूल्य निर्धारण गरिएको छ ।

भाटभटेनी, बिगमार्टले जिकेको स्टोरमै पुगेर ठूलो परिणाममा स्याउ उठाउँछन् । त्यस्तै मागअनुसार जिकेले आफै पनि सेवा दिने गरेको छ । बजार प्रमुखसहितको जनशक्ति त्यसको लागि खटिएको छ । अहिले जिकेले काठमाडौँमा रहेको बौद्ध गुम्बाको साथै कलंकी, जडीबुटी, बुद्धनगरलगायतका क्षेत्रमा पनि स्याउ पुर्याउँदै आएको छ ।

त्यस्तै पहिले दशैं तिहारमा कर्मचारीहरुलाई मिठाई बढ्थे चलन थियो । तर, यसपटक भने केही बैंक र सरकारी कार्यालयहरुले दशैंमा कर्मचारी तथा साथीहरुलाई मनाङको स्याउ बितरण गरेका थिए । अझैं तिहारको लागि भन्दै माग भइरहेको छ । त्यसको लागि बैक तथा अन्य कार्यालयले सिधैं जिकेसँग सम्पर्क गरिरहेका छन् ।

“स्वास्थ्यका दृष्टिले मिठाईभन्दा अर्गानिक स्याउ धेरै फाइदा हुने भएकोले केही बैंक तथा अन्य कार्यालयहरुले हामीसँग सम्पर्क गरिरहेका छन् । उनीहरुले थोक मूल्यमै स्टोरबाटै उठाउँछन्” जिकेका मार्केटिङ प्रमुख बिरेन्द्रले बताए ।

जिकेले नेपालमात्रै नभएर कतार, मलेसिया र दुबईमा हिमाली फ्रेस ब्राण्डको स्याउ पुर्याउने तयारी गरिरहेको छ । “नेपालमा सिजन नभएको बेला हामीले कतार, मलेसिया र दुबईमा पुर्याउने तयारीमा छौं । उताका व्यवसायी साथीहरुसँग कुरा भइरहेको छ । उनीहरुको माग ठूलो परिणाममा छ, त्यो अनुसार हामीले पुर्याउन सक्छौं की सक्दैनौ भन्नेमा हामी छलफल गरिरहेका छौं” चालिसेले भने ।

उनले कतारमा हुन लागेको विश्वकपमा समेत नेपाली स्याउ पुर्याउने तयारी भइरहेको छ । एग्रो मनाङले भार्ताङमा ७३५ रोपनीमा गरेको स्याउ फर्म दक्षिण एसियाकै ठूलो मानिन्छ । यो वर्ष थप एकलाख स्याउका विरुवा रोप्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्