चेसको विकास गर्न राज्यले सहयोग गर्नुपर्छ : श्रेष्ठ



मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसिप गत बिहीबार भव्यताका बूढानीलकण्ठको पार्क भिलेज रिसोर्टमा भव्यवताका साथ सम्पन्न भएको छ। सो च्याम्पियनसिपमा नेपालका खेलाडीले उपाधि जितेका छन्। उक्त प्रतियोगिता सुव्यवस्थित ढंगले सम्पन्न गर्न सकेकोमा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठले खुसी व्यक्त गर्नुभएको छ। हेटांैडामा जिल्ला खेलकुद समितिमा नेतृत्व गर्ने उहाँ बुद्धिचाल संघका अध्यक्षसमेत हुनुभएको छ। श्रेष्ठ पछिल्लो निर्वाचन २०७२ मा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँको कार्यकाल अब सकिँदैछ। बुद्धिचाल संघको चुनाव पनि आउन लागेको छ। चेससम्बन्धी र अन्यबारे संघका अध्यक्ष श्रेष्ठसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानीको सारसंक्षेपः

एसियन एमेच्योर चेस च्याम्पियनसिप आयोजना कस्तो भयो ?

एसियन एमेच्योर चेस च्याम्पियनसिप समुद्घाटन सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभयो। नेपालमा यस्तो ठूलो प्रतियोगिता गर्न पाएको छ। यसको लागि एसियन चेस फेडेरेसनको पनि सहयोग मिलेको छ। प्रतियोगिता निकै प्रतिस्पर्धामा चलेको थियो। १५ वटा देशका खेलाडीको सहभागिता रहेको थियो।

प्रतियोगितामा खेलाडीको चासो पनि बढेको पाइयो। यसमा नेपाली खेलाडीले जुन अवसर प्राप्त गरेका छन्। उनीहरूलाई हौसला प्राप्त भएको छ।

राज्यले चेसमा ग्लेमर नदेखेको हो कि ? क्रिकेट र फुटबलजस्तो ग्लेमर खेल होइन चेस। तर राम्रा खेलाडी जन्माउन सकेमा चेस खेलाडीले देशकै इज्जत राखिदिन्छन्।

यस्ता प्रतियोगिता गरेर नेपाली खेलाडीको प्रदर्शनमा विकास पनि हुन्छ। यसैगरी व्यवस्थापनमा कतै कहीँ पनि चुकेका छैनौ। प्रतियोगिता बडो उत्साहका साथ सम्पन्न भएको छ। यसमा हामी निकै खुसी छौं।

बाहिरका खेलाडीको कस्तो प्रतिक्रिया रह्यो ?

बाहिरका खेलाडीले पनि बडो उत्साहका साथ प्रतिस्पर्धा गरेका थिए। पाहुनालाई राम्रो सत्कार गर्नु नेपालीको संस्कार पनि हो। कहीँ कतै पनि उहाँहरूलाई कुनै समस्या भएको थिएन। बुद्धिचाल संघले राम्रै सत्कार गरेको छ। अब अरू प्रतियोगिता गर्न पनि हौसला मिलेको छ।

यो प्रतियोगिता आयोजना गर्न कहाँ कहाँबाट सहयोग मिलेको छ।हामीले सबै संघसंस्थाहरू, नेपाल सरकारको खेलकुद निकाय राष्ट्रिय खेलकुद परिषद्, नगरपालिका, बूढानीलकण्ठलगायत विभिन्न सामाजिक संस्था, व्यवसाय संस्थाको सहयोगमा यति ठूलो प्रतियोगिता आयोजना गरेका हौं। हुन त प्रायोजन बिना सम्भव पनि छैन यस्ता अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न।

प्रायोजक पाउनुभएको छ ?

कतै कहीँबाट पनि प्रतियोगिता आयोजना गर्न भनेर बजेट छुट्टयाएको छैन। फिडे भन्ने विश्व चेस महासंघले हामीलाई पुरस्कार रकम भनेर १० हजार डलर दिएको थियो।

केही थप गरेर हामीले पुरस्कार राशि १३ हजार ५ सय डलरमा पुर्याए। एउटा प्रतियोगिता आयोजना गर्न करिब डेढ लाख जति खर्च हुन्छ। यसको बाबजुद हामीले प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्यौं।

चेस नेपालमा कस्तो स्थितिमा रहेको छ ?

विगतको तुलनामा भन्ने हो भने नेपालमा चेस निकै फस्टाएको छ। प्रतियोगिता आयोजना गरिरहँदा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न सक्षम भइरहेका छन्। चेस प्रतियोगिता आयोजना गर्ने पनि बढिरहेको छ।

मेरो चार वर्षको कार्यकालमा खेलाडीको संख्यामा बढोत्तरी भइरहेको मैले पाएको पनि छु। अहिले नै भनौं न नेपाली खेलाडीले नै उपाधि जितेर इतिहास रचिदिनुभयो। यो भनेको नेपालमा चेसकोे स्थिति माथि उक्लिँदै गरेको हो।

नयाँ पुस्तालाई चेसमा कसरी आकर्षित गर्न सकिन्छ ?

चेसमा आकर्षित गर्न विद्यालयस्तरदेखि नै शुरू गर्नुपर्छ। विद्यालयमा चेस प्रतियोगिता गरेमा यसबारे ज्ञान आर्जन हुन्छ। विद्यार्थीको बौद्धिकस्तर पनि बढ्नेछ। साथै चेस के हो ? भनेर बुझेपछि यसमा आकर्षित हुनेछ।

चेस स्कुल भन्ने प्रोजेक्ट सञ्चालन पनि गरेका थियौं। फेरि यो प्रोजेक्ट सञ्चालन गर्दैछौं। तर आथिर्क लगानी धेरै लाग्ने भएको हुँदा यसमा होमवर्क भइरहेको छ। यो वर्ष नै यसको टुंगो लाग्ने पनि आसा गरेको छु। तर यसका लागि चेस खेल र तालिम सँगैसँगै लानु पर्ने पनि आवश्यक छ। राज्यसँग पनि कोचहरूको माग गरेका छौं।

स्कुल प्रोजेक्ट भन्नाले के हो ?

स्कुल प्रोजेक्ट भन्नाले विद्यालयमा विद्यार्थीलाई चेस सिकाउनु हो। खास गरी विद्यार्थीहरूलाई चेस सिकाउन सक्यो भने उनीहरूको कलिलो दिमागमा क्षमता पनि बढ्नेछ। हुन त कुनै पनि खेल सानै उमेरमा लागेमा बढी प्रभावकारी र भविष्यमा राम्रो नतिजा निस्कन सक्छ।

अझ चेस बौद्धिक खेल भएकोले उनीहरूको दिमागको पनि अभ्यास हुनेछ। सानै उमेरमा चेस सिकाएमा पछि गएर नेपालमा राम्राराम्रा खेलाडीको जन्मिनेछन्। आर्थिक काराणले गर्दा यो प्रोजेक्ट छिटै शुरू गर्ने स्थिति पनि छैन। यसका लागि प्रशिक्षकको आवश्यकता हुन्छ। अहिलेको राखेपको नयाँ नेतृत्वले हेरिदिन्छ भन्ने हाम्रो आशा छ।

चेस प्रतियोगिता सोचेजस्तो भइरहेको छ ?

चेस प्रतियोगिता बढी भन्दा बढी नै आयोजना गर्नैपर्छ। यसका साथै प्रशिक्षणलाई पनि सँगसँगै लानु आवश्यक छ। यसले खेलाडी र देशलाई फाइदा नै हुन्छ।
नेपालमा चेसको विकास गर्न के गर्नुपर्छ?

खास गरी चेस स्कुल प्रोजेक्ट देशव्यापीरूपमा लानुपर्छ। त्यसो भयो भने नयाँ खेलाडी जन्माउन सकिन्छ। दोस्रो कुरा हामीले धेरै भन्दा धेरै प्रतियोगिता आयोजना गर्नुपर्छ। यसले खेलाडीको प्रदर्शन माथि उठ्नेछ। तालिमको व्यवस्था हुनुपर्छ।

यसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गराउन सक्षमता प्रदान गर्छ। सबैभन्दा आवश्यक भएको कुरा भनेको राज्यको खेलकुद निकायले चेस खेलाडीलाई सुबिधा दिनुका साथै आर्थिकरूपमा बलियो बनाइदिनुपर्छ।

यसले नेपाली चेसको विकास हुन सहयोग मिल्नेछ। चेसको विकासका लागि अभिभावकले पनि चेसमा लागेका आफ्ना छोराछोरीलाई प्रोत्साहन गरिदिनुपर्छ। विदेशमा हेर्ने हो भने अभिभावकहरूले छोरा छोरीलाई प्रतियोगितामा भाग लिन प्रोत्साहन गरिरहेका हुन्छन्।

सानो छ भने आफै पनि बोकेर प्रतियोगिता खेलाउन ल्याउँछन्। अहिले यहाँ पनि विदेशबाट छोराछोरीका साथ अभिभावकहरू आउनुभएको छ।

खेलाडीको आर्थिक स्थिति बलियो छ त ?

आर्थिक स्थितिमा भन्ने हो भने जति हुनुपर्छ त्यति भएका छैनन्। कतिपय पुराना खेलाडीहरूले विद्यालयमा चेस सिकाइ रहेका छन्। संघले मात्रै हेरेर पनि खेलाडी आर्थिक स्थितिले बलिया नहुने रहेछन्। यसका लागि राज्यले पनि अवश्य हेरिदिनुपर्छ। कति खेलाडी आफ्नै पैसाले खेलिरहेका छन्।

यस्तो अवस्थालाई निर्मूल पार्न राज्यकै सहयोग चाहिन्छ। ग्लेमर खेललाई मात्रै हेर्नुहुन्न। चेस जस्तो इन्डोर खेललाई प्रोत्साहन गर्नु आवश्यक भइसकेको छ। यो कुरा बुझिदिनुपर्छ राज्यको खेलकुद निकायले राम्रो परिणाम निकाल्न थोरै लगानीले पनि सकिन्छ।

यसमा राज्यले नहेरेकै हो त ?

राज्यले चेसमा ग्लेमर नदेखेको हो कि ? क्रिकेट र फुटबल जस्तो ग्लेमर खेल होइन चेस। तर राम्रा खेलाडी जन्माउन सकेमा चेस खेलाडीले देशकै इज्जत राखिदिन्छन्। राष्ट्रिय प्रतियोगितामा धेरै खेलाडीले सहभागिता जनाइरहेका पनि छन्। तर पनि यो कुरा आममानसमा देखिएको छैन।

आउँदो चुनावबारे केही भन्नुहुन्छ कि ?

मेरो ४ वर्ष कार्यकाल आउँदो चैतमा पूरा हुँदैछ। नयाँ नेतृत्व आउनेछ। को आउँछ अहिले नै थाहा हुँदैन। सीमित छ यो संघ। यो ठूलो सर्कल पनि छैन। चेस देशव्यापी फैलिएको संघ छैन। चेस संघ एक हिसाबले भन्ने हो बामे सर्दैछ। त्यसले गर्दा अस्वस्थ प्रतिस्पर्धा नहोस भन्ने मेरो विचार छ।

सबै मिलेर वा समेटेर गएमा संघलाई राम्रै हुनेछ। चुनाव गर्ने वा सर्वसम्मति हुने त्यो चुनावको समयमा थाहा हुनेछ। तर कसैलाई फ्याँक्ने भनेर गएमा भने त्यो चेसका लागि राम्रो हुँदैन पनि। सबै मिलेर गएमा पक्कै पनि चेसको विकास हुनेछ।

तपाईंले अध्यक्ष पदलाई निरन्तरता दिनुहुन्छ कि ?

यो मैले मात्रै निर्णय गर्ने विषय होइन। किनभने अध्यक्ष पदका लागि सबैको सर्वसम्मत हुनुपर्छ। साथीहरूसँग सरसल्लाह हुन्छ त्यसले के निचोड निस्कन्छ त्यसमै मेरो स्वीकार्य हुनेछ। विगतमा पनि म नभइनहुने भनेर अध्यक्षमा आएको पनि होइन। परिस्थितिले गर्दा यहाँसम्म आइपुगेको हुँ।

तस्वीर ः उजोल डंगोल

 

 

प्रतिक्रिया दिनुहोस्