मेगा बैंकको लाभांश पारित



काठमाडौं, (नेस)। 

मेगा बैंक नेपालले शेयरधनीलाई ११ दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको छ। बैंकको नवौं बार्षिक साधारण सभाले प्रस्ताव पारित गरेको हो।
आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४ सय ५४ रुपियाँको ११ दशमलव ७५ प्रतिशतले हुन आउने १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपियाँ ८१ पैसालाई नगद लाभांश स्वरुप शेयरधनीलाई वितरणका लागि पारित गरेको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिनुभयो।

साधारण सभामा अध्यक्ष शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि प्रस्ताव पेश गर्नुभएको थियो। सो सम्बन्धी प्रस्तावलाई पारित गर्दै साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

अध्यक्ष शाहले मेगा बैंकलाई देशकै अग्रणी र अलगै पहिचान सहितको बैंक बनाउने उद्देश्यले मर्जर तथा एक्वीजिशनलाई पनि प्राथमिकता दिएको साधारण सभालाई जानकारी दिनुभयो।

गत आर्थिक बर्षमा २३ दशमलव ७१ प्रतिशत मुनाफा बृद्धि गर्न सफल भएको जानकारी दिँदै बैंकका सीईओ अनुपमा खुञ्जेलीले मुनाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि बैंकले उत्तिकै प्राथमिकता दिएको बताउनुभयो।

सोही बमोजिम देशभरका प्रत्येक शाखाबाट एक–एक जना गरी १ सय २ जना असहाय छात्राहरू लगायत डोल्पा जिल्लास्थित उत्पीडित जनजाति समुदायको तर्फबाट एसईई परीक्षामा एक प्लस ग्रेड हासिल गर्न सफल विद्यार्थी छिरिङ दावा बुढामगरलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरी कक्षा १ देखि १२ सम्मको पठनपाठनका लागि शैक्षिक सामाग्री लगायत छात्रवृत्तिको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो।

मेगा बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, १११ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ केन्द्र रहेका छन्।

प्रतिक्रिया दिनुहोस्