बिजुलीको खपत बढाउने रणनीति बन्दै



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल विद्युत प्रधिकरणले विद्युत्को खपत बढाउने रणनीतिक योजना अगाडि सारेको छ। प्राधिकरणले उपभोक्तालाई चाहिए जति विद्युत् प्रयोग गर्न पाउने गरी हरेक वितरण ट्रान्सफर्ममा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्ने योजना अगाडि सारेको हो।

प्राधिकरणले वितरण लाइन प्रणालीको संरचनागत सुधार पनि समानान्तर रुपमा अगाडि बढाएको छ। प्राधिकरणले वितरण केन्द्रलाई आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण ट्रान्सफर्मरमा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी ट्रान्सफर्मर थप्प र स्तरोन्नति गर्न निर्देशन दिएको छ।

प्रदेश ३ को प्रादेशिक कार्यालय काठमाडौंअन्तर्गतका वितरण केन्द्र प्रमुखसँग आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् खेर जान नदिई खपत गर्नका लागि वितरण प्रणालीको सुदृढीकरण गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो।

‘विद्युत् खपत बढाउन घरघरमा विद्युतीय चुलो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टसेन खोल्ने गरी अगाडि बढिरहेका छौं, इन्डक्सन चुलो र चार्जिङ स्टेसनको लोडलाई धान्ने गरी संरचना बनाउनुपर्छ, त्यसका लागि आफ्नो क्षेत्रमा रहेका ट्रान्सफर्मरको लोड ५० प्रतिशतभन्दा तल रहने गरी ट्रान्सफर्मरको सुदृढीकरण गर्नुहोस्,’ वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिँदै घिसिङले भन्नुभयो।

‘यसबाट एकतर्फ उपभोक्ताले चाहिएजति विद्युत् खपत गर्ने पाउँछन् भने अर्कोतर्फ वितरण प्रणाली पनि विश्वसनीय र भरपर्दो बन्ने छ।’ प्राधिकरणले उपभोक्ताकोमा विद्युत् पुर्याउन ५०, १००, २००, ३०० र ५०० केभीएका वितरण ट्रान्सफर्मर प्रयोग गर्दै आएको छ। प्राधिकरणले तीन वर्षमा नयाँ निर्माण तथा स्तरोन्नति गरी ७६५ एमभीए क्षमताका वितरण सबस्टेसनहरू प्रणालीमा थप गरेको छ।

करिब दश हजार वितरण ट्रान्स्फर्मर थप जडान गरी करिव एक हजार मेगावाट वरावरको वितरण क्षमता बढाइएको छ। चालू आर्थिक वर्षमा निर्माणाधीन माथिल्लो तामाकोसीलगायतका जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई करिब एक हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने प्रक्षेपण गरिएको छ।

सरकारले विद्युत्को पहुँच र खपत बढाउन तीन वर्षभित्रमा मुलकभर शतप्रतिशत विद्युतीकरण गर्ने घोषणा गरेको छ। प्राधिकरणले यसलाई कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण भएको जिल्लाको रुपमा घोषणा गर्ने गरी काम गरिरहेको छ।

उत्पादित विद्युत्लाई खेर जान नदिन खपत बढाउनु नै अहिलेको मुख्य चुनौती र समस्या रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यसको समाधानका लागि माग बढाउन बढीभन्दा बढी मिटर वितरण गर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन र उद्योगलाई विद्यत् आपूर्ति दिन सहजीकरण गर्नु पर्नेमा जोड दिनुभयो।

वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता

नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनले प्रदेश ३ को प्रादेशिक कार्यालय काडमाडौंअन्तर्गतका २० वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ।विद्युत् चुहावट नियन्त्रण, राजस्व संकलन र ग्राहकसँगको सेवा प्रवाह सुधारमा केन्द्रित भई केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालयका प्रमुख अनिरुद्रप्रसाद यादवले कार्यसम्पादन सम्झौता गर्नु भएको हो।

प्रतिक्रिया दिनुहोस्