विरोधका लागि विरोध फोहोर व्यवस्थापनमा अवरोध



लक्ष्मीनरसिंह बादे श्रेष्ठ
प्रमुख,बनेपा नगरपालिका

फोहोर व्यवस्थापन स्थानीय सरकारको प्रमुख चुनौती बन्दै गएको छ। देशभर रहेको यो चुनौती बनेपा नगरपालिकामा पनि छ। क्षेत्रफलको आधारमा काभ्रे जिल्लाको बनेपा सबैभन्दा सानो नगरपालिका हो भने जनसंख्याको आधारमा जिल्लाको यो सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिका हो। घरधुरी संख्या १२ हजार १ सय ६ भएको यस नगरपालिकामा पुरुष २७ हजार ३ सय ५ र महिला २८ हजार ३ सय २३ गरी जम्मा ५५ हजार ६ सय २८ जनसंख्या रहेको छ। दीर्घकालीन र अल्पकालीन रूपमा फोहोर व्यवस्थापनमा जुटेको नगरपालिकालाई राजनीतिकरूपले अवरोध पुर्याउने काम शुरू भएको छ। बनेपा नगरपालिकामा इतिहासमै पहिलो पटक नेकपा निकट नेताहरूले प्रमुख, उपप्रमुखमा विजय हासिल गरेका छन्। केही वडाध्यक्षबाहेक कार्यपालिकामा समेत नेकपाकै सदस्यहरूको बाहुल्यता छ। नेपाली कांग्रेसले फोहोर व्यवस्थापनमा घोषणा गरेरै अवरोध खडा गरेको छ। नगरपालिकाको योजनामा अवरोध गरेपछि तत्कालको योजना, विकास निर्माण तथा नगरपालिकाका समग्र विषयवस्तुमाथि नगरप्रमुख लक्ष्मीनरसिंह बादेसँग नेपाल समाचारपत्रका लागि मोतीराम तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप:

बनेपामा शुरू भएको फोहोर व्यवस्थापनको विरोध के हो ?

बनेपा नगर क्षेत्रभित्र उत्पादन हुने फोहोर व्यवस्थापन गरिँदै आएको साविकको स्थानमा बस्ती विकास भइसकेको हुनाले सो स्थानमा फोहोर व्यवस्थापन हुन नसकेको स्थितिको विकल्पमा नयाँ स्थान पहिचान गरी जग्गा प्राप्तिको काम भइरहेको छ।

आवश्यक पूर्वाधार तयार गर्न समय लाग्ने हुनाले दैनिक उत्पादन हुने फोहोर व्यवस्थापन गर्नै पर्ने भएकाले निजी क्षेत्रसँगको सहकार्यमा फोहोर व्यवस्थापन गर्ने व्यवस्था मिलाइएको हो।

यस क्रममा जापानी प्रविधिबाट तयार भएको फोहोर जलाउने मेसिन (इन्सिनिरेटर)को प्रयोग गरी फोहोर व्यवस्थापन गर्ने योजना रहेको छ। नगरपालिकासँग भएको सम्झौताबमोजिम ग्रिन पिस इन्भारोमेन्ट प्रालि नामको संस्थाले उक्त मेसिन जडान गर्न जग्गा व्यवस्था गरेर काम थालेपछि स्थानीयको विरोध भएको हो।

जसका कारण मेसिन जडान हुन नसकेपछि नगरपालिकाले आफ्नै नाममा रहेको बनेपा नगरपालिका–९ स्थित जग्गामा मेसिन जडान गर्न लागिएको हो। मेसिन जडान हुने स्थान नजिकै बस्ती नरहेको, उच्च स्थानमा जग्गा रहेको र पहुँच मार्गसमेत चालू अवस्थामा रहेकाले सो स्थानमा मेसिन जडान गर्न लागिएको थियो तर केही मानिसको निराधार प्रचारका कारण सो स्थानमा पनि उक्त मेसिन जडान गर्न नहुने भन्ने मानसिकता बनाइयो।

हामीले मेसिनका विशेषतासहित पटक पटक सम्बन्धित पक्षसँग छलफल गरिरहेका छौं। तथापि विरोधका लागि विरोध गर्नेहरूबाट मेसिन राख्ने स्थानको पूर्वाधार तयार गर्न जाने जेसीभी तोडफोडलगायतका अवाञ्छित काम भएका छन्।

स्थानीय जनतालाई मेसिनका विशेषता बुझाउन सोही स्थानमा प्रदर्शन गर्ने सामाग्रीसहित हामी उपस्थित भयौं तर सहभागी हुन चाहनेलाई समेत रोकेर अवरोध गरियो। बनेपा नगरपालिकाको हलमा राखेर त धेरै पटक प्रदर्शन तथा छलफल गरिएको छ। पछिल्लो पटक जिल्ला समन्वय समिति, काभे्रको हलमा सर्वपक्षीय बैठक बसेरसमेत मेसिनका बारेका यथार्थ जानकारी गराउने काम भएको छ।

विरोधीहरू नगरवासीप्रति जिम्मेवार नभएको हो कि राजनीतिक विचारले अवरोध भएको ?

फोहोर व्यवस्थापन कुनै राजनीतिक दल विशेषको समस्या होइन। यो आमनगरवासीको समस्या हो। तसर्थ हरेक नागरिकले जिम्मेवारी बोध गर्नुपर्छ भने राजनीतिक दल र तिनका नेता वा कार्यकर्ताले जिम्मेवारी बोध गर्नु नपर्ने भन्ने विषय नै होइन।

फोहोर व्यवस्थापनजस्तो विषयलाई मुद्दा बनाएर गरिने राजनीतिले सम्बन्धित राजनीतिक दललाई नै नोक्सान हुने हो। तर बिडम्बना अहिले फोहोर व्यवस्थापनजस्तो विषयलाई राजनीतिक दलले मुद्दा बनाएर अगाडि बढ्न खोजेको देखिन्छ।

जनतालाई असर पुर्याउँदैन भन्ने आधार के हो ?

चुवा स्टार नामको जापानी कम्पनीबाट निर्माण भएको इन्सिनिरेटरले फोहोर जलाउँदा धुँवा, धुलो र ध्वनि प्रदुषण नहुने कुरा उक्त कम्पनीबाट उत्पादित मेसिनका विशेषता हेर्दा थाहा हुन्छ।

हामीले काठमाडौंमा रहेको मेसिनमा टायरलगायतका फोहोर राखेर जलाएको प्रत्यक्ष हेरेर आएका हौं। साथै उक्त मेसिन अन्य देशहरूमा प्रयोग भएर सञ्चालनमा आइरहेको हुँदा हल्ला गरेजस्तो असर पुर्याउने होइन।

जनताले कसरी त्याग गर्ने त ? त्यस क्षेत्रका नागरिकले के प्राप्त गर्दछन् ?

यहाँ त्याग गर्नुपर्ने भन्ने विषय नै छैन। नगपालिकाले आफ्नो जग्गामा मेसिन राख्छ र वरिपरीको क्षेत्रमा असर पर्ने विषयलाई सावधानीपूर्वक समाधान गरेर मात्र काम गर्छ र गर्न लगाउँछ। जहाँसम्म स्थानीय जनताले के पाउँछन् भन्ने प्रश्न छ उक्त मेसिन रहने स्थानसम्मको पहुँच मार्गलाई अझ व्यवस्थित गरिन्छ।

साथै वैकल्पिक मार्गसमेत तयार गरिन्छ। जुन स्थानीय जनताको उपयोगको लागि नै हुन्छ। मेसिन राखिने क्षेत्र भन्दामाथिका जनताको मागलाई सम्बोधन गरेर खानेपानीको व्यवस्थातथा सडक स्तरोन्नति गरिने कुरा नगरले जनाइ सकेको छ।

साथै मेसिन जडान भएर फोहोर व्यवस्थापन हुँदा सो क्षेत्रका जनताको फोहोर व्यवस्थापनसमेत सहज हुने नै छ। उक्त क्षेत्रमा खानेपानी, सडकलगायतका अन्य पूर्वाधारमा थप सहयोग प्राप्त हुनेछ। रोजगारको अवसर सिर्जना हुँदा सोही क्षेत्रका नागरिकलाई पहिलो प्राथमिकतामा राखिएको छ।

स्थानीयहरूलाई बुझाउन किन सकिएन ? नगर सुन्दर हुने कुरामा राजनीतिक अबरोध हुँदा नगरपालिकाले कस्तो योजना बनाएको छ ?

स्थानीय जनतालाई मेसिनका विशेषता बुझाउन सोही स्थानमा प्रदर्शन गर्ने सामाग्रीसहित हामी उपस्थित भयौं तर सहभागी हुन चाहनेलाई समेत रोकेर अवरोध गरियो। बनेपा नगरपालिकाको हलमा राखेर त धेरै पटक प्रदर्शन तथा छलफल गरिएको छ।

पछिल्लो पटक जिल्ला समन्वय समिति, काभे्रको हलमा सर्वपक्षीय बैठक बसेरसमेत मेसिनका बारेका यथार्थ जानकारी गराउने काम भएको छ। तसर्थ बुझाउने प्रयास नभएको होइन बुझ्ने प्रयास नभएको हो। बनेपा नगरपालिका नगरलाई सुन्दर बनाउने कुरामा प्रतिबद्ध छ।

नगर र नगरवासीको हितमा हुने राजनीतिका बारेमा पार्टी पङ्तिमा समेत छलफल गरेर यथार्थता आम नगरवासीमा जानकारी गराइ विकासका काममा हुने अवरोधलाई जनताको साथ लिएर नगरपालिकाले कामका माध्यमबाट चिर्दै जानेछ।

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले किनेको जग्गामै त्यसको व्यवस्थापन गर्न सकिँदैन ?

मैले माथि पनि उल्लेख गरिसकें, दीर्घकालीन व्यवस्थापन गर्नकै लागि जग्गा खरिद भइरहेको हो। तर पूर्वाधार तयार नगरी फोहोर व्यवस्थापन गर्न सकिन्न। बाह्रै महिना चल्ने सडक तयार हुनुपर्छ। साथै हिजोको जसरी फोहोर लगेर थुपार्ने विधिले अब फोहोरको व्यवस्थापन हुन्न।

त्यसका लागि आधुनिक प्रविधिसहितको व्यवस्थापन स्थल बनाउन पर्ने हुन्छ। हामी त्यस किसिमका पूर्वाधार तयारीका लागि क्रियाशील छौं। तर पूर्वाधार तयार नभएसम्मका लागि फोहोर व्यवस्थान त गर्नैपर्ने हुन्छ।

त्यस क्षेत्रमा विरोध र अवरोध हुँदा अरू क्षेत्रका नगरवासीलाई जगाउने योजना छैन ?

आम नगरवासीले बुझेका छन्। विरोध किन र कसले गरेको हो भन्ने प्रस्टै छ। तर पनि मुठभेड हुने परिस्थिति सिर्जना गरेर समस्याको समाधान हुन्न भनेर नै हामीले संयमता अपनाएर काम गरिरहेका छौं।

नगरको फोहोर नगरकै जग्गामा व्यवस्थापन गर्ने विषयमा कसैबाट राजनीति नहोस र सहज ढंगबाट काम गर्ने वातावरण बनोस भन्नेमै हाम्रो जोड छ।

बनेपा नगरपालिकाको समस्या फोहोर मात्र हो कि फुटपाथ पनि हो ?

फुटपाथ समस्या होइन। फुटपाथको सदुपयोगको विषय चाहीँ छ। हामीले आम नगरवासीकै सहयोग र सद्भावका साथ राजमार्ग दायाँबायाँको फुटपाथको सदुपयोगका लागि पहल गरिरहेका छौं। नगर प्रहरी राखेर अवरोध गर्ने उपर कारबाही पनि भएको छ।

तथापि सम्बन्धित घर धनीहरू कडारूपमा प्रस्तुुत नहुनाले पनि फुटपाथमा पसल राख्न चाहनेहरू कर्मचारीको आँखा छलेर व्यापार गर्न चाहान्छन्। तर हामीले छोडेका छैनौं। साथै बाटो चौडा हुने काम भएपछि त यो समस्या समस्याका रूपमा नै नरहनेमा हामी विश्वस्त छौं।

खानेपानीको समस्या कहिले समाधान हुन्छ ?

तीन वटै नगरका लागि तर्जुमा भई कार्यान्वय भइरहेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। यो योजना पूरा भएपछि बनेपा नगर क्षेत्रभित्रका पनि धेरै जनताले खानेपानीको अहिलेको अवस्थाबाट मुक्त हुने अवस्था हुन्छ। साथै यो योजनाबाट नसमेटिने क्षेत्रका लागि नयाँ योजनामार्फत खानीपानीको आपूर्तिका लागिसमेत काम भइरहेको छ।

निर्वाचित भएको साढे दुई वर्षमा नगरवासीले महसुस गर्ने परिवर्तन के के हुन ?

हामी निर्वाचित भएर आएपछि धेरै महत्वपूर्ण काम भएका छन्। सबै वडाका मुख्यमुख्य सडकहरूको स्तरोन्नति र पिच हुने काम भएको छ। स्थानीय स्तरमा रहेका खानीपानीका स्रोतहरूको सदुपयोग गरी पानी आपूर्तिलाई सहज बनाउने काम पनि भएका छ।

अरनिको राजमार्ग दायाँबायाँ सडक सीमाभित्र रहेका घर भवनहरू हटाएर सुन्दर बनाउने काम भएको छ। हामी काम गरिरहेका छौं र परिणाम पनि क्रमशः देखिँदै गएको छ।

बनेपा नगरपालिकाका प्राथमिकता के के हुन् ?

फोहोरमैलाको समुचित व्यवस्थापन, शुद्ध पिउने पानीको व्यवस्था, आवश्यक पूर्वाधारको निर्माण सुधार, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रको सुधार र प्रवर्धन जस्ता विषय नै हाम्रा प्राथमिकताका क्षेत्र हुन।

आगामी योजना के छ ?

स्वच्छ र सफा नगर बनाउनु नगरपालिकाको पहिलो प्राथमिकता हो। हामी त्यसमा डटेर लागेका छौं। साथै हरेक वडाका आफ्नै कार्यालय भवन बनाउन र हरेक वडावासी कार्यालय भवनसम्म हिलो धुलो टेकेर आउन नपरोस भन्नेमा हामी लागेका छौं।

बनेपा भएर बहने पूण्यमाता नदी दायाँबायाँको क्षेत्रलाई करिडोरका रूपमा विकसित गरी समग्र नगरलाई जोड्ने हाम्रो योजना रहेको छ। साथै चण्डेश्वरी मन्दिरबाट गोसाईं स्थानस्थित भ्युटावरसम्म सिढी बनाएर पर्यटन प्रवर्धन गर्ने योजना पनि रहेको छ।

विभिन्न स्रोतहरूको उपयोग गरी सबै नगरवासीले शुद्ध पिउने पानी पाउन भनेर पनि नगरपालिकाले कार्यक्रमहरू अगाडि सारेको छ। साथै पारदर्शी र गतिशील प्रशासन कायम गर्नमा लागि परेका छौं।

योजनामा रकम विनियोजन हुने तर खर्च नहुने समस्या बनेपा नगरपालिकामा छ कि छैन ? योजना कार्यान्वयनको अवस्था कस्तो छ ?
अन्य सरकारको यस किसिमको समस्या रहेको हामीले पनि सुनेका छौं।

तर बनेपा नगरपालिकाको अघिल्लो दुई वर्षको अनुभव हेर्दा हामीमा त्यस किसिमको समस्या निकै कम छ। नब्बे प्रतिशतभन्दा बढी योजना हामीले सम्पन्न गरेका छौं। डटेर लाग्दालाग्दै पनि विविध कारणले लक्षित केही योजनाहरू भने समयमा पूरा नहुँदा रहेछन्।

उपभोक्ता समिति ठेक्कामा चल्छन् भन्ने गुनासो बनेपा नगरपालिकामा छ कि छैन ?

प्रतिस्पर्धामार्फत ठेक्कामै दिनु पर्ने योजनाबाहेक उपभोक्ता समितिमार्फत सञ्चालित योजनामा उपभोक्ताकै भूमिका रहेको छ। उपभोक्ताले पुनः ठेक्का दिएर काम गराउने परिपाटी बनेपा नगरपालिकामा छैन।

अन्त्यमा केही भन्नु छ कि ?

बनेपा नगरपालिकामा हामी निर्वाचित भएर आएपछि हामीले भनेका छौं। बनेपाको विकास र बनेपालीको सेवा नै हाम्रो एकमात्र उद्देश्य र लक्ष्य हो। भ्रष्टाचार प्रति शून्य सहनशीलताको नीतिलाई कडाइका साथ पालना गर्दै उपलब्ध स्रोत र साधनको उचित परिचालन गर्न हामी प्रतिबद्ध छौं।

नगरवासीले भोग्ने समस्या समाधान गर्न नगरवासीसँगै मिलेर काम गर्न नगरपालिका तत्पर छ। राजनीतिक स्वार्थ मिसाएर विकासका कामलाई हेर्नुहुँदैन भन्नेमा हामी प्रतिबद्ध छौं र आमनगरवासी दाजुभाइ दिदीबहिनीमा समेत सोहीबमोजिम विकासमा साथ दिन आग्रह गर्न चाहन्छौं।

 

प्रतिक्रिया दिनुहोस्