अमेरिकाबाट सिकौं !



विश्वको शक्तिशाली मुलुक भएकाले संयुक्त राज्य अमेरिकाका प्रमुख गतिविधिले नेपालजस्ता मुलुकलाई पनि छोइरहेका हुन्छन्। कुनै मुलुकसँग अमेरिकाले गर्ने सम्झौता या उसले लिने नीतिले विश्व बजारमा प्रभाव पार्ने भएकाले सबैको चासो रहन्छ।

वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्ति र कार्यशैलीलाई लिएर विश्वले अहिले झनै चासो बढाइरहेको छ। ट्रम्पविरुद्ध अमेरिकी संसद्मा महाअभियोगको प्रक्रिया शुरू भएपछि विश्वको चासो उतै मोडिनु झनै स्वाभाविक भएको छ।

युक्रेनका लागि पूर्वअमेरिकी राजदूत बिल टेलरले डेमोक्रेटिक नेता जोय बाइडेनविरुद्ध युक्रेनमा जाँच शुरू गराउन राष्ट्रपति ट्रम्प आफैंले भनेको बयान दिएपछि उहाँमाथिको कारबाही प्रक्रिया अघि बढेको हो। ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया शुरू गर्ने क्रममा कांग्रेसको तल्लो सदनमा भएको सुनुवाइका क्रममा पूर्वराजदूत टेलरले ट्रम्पको दबाबबारे खुलासा गर्नुभएको हो।

महाअभियोग कारबाहीमा वरिष्ठ अमेरिकी राजनीतिज्ञले पनि ट्रम्पमाथि गम्भीर आरोप लगाएका छन्। ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी बाइडेनमाथि भ्रष्टाचार मामिलामा छानबिन गर्न युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीमाथि दबाब दिएको आरोप लगाइएको छ।

वाइडेनविरुद्ध जाँचका लागि ट्रम्पले आफ्ना कर्मचारीलाई नियोजित रूपमा खटाइएको टेलरले संसद्लाई बताउनुभएको छ। अमेरिकी राजनीतिज्ञ जर्ज केन्टले पनि ट्रम्पका वकिल रुडी गुलियानीले युक्रेनमा अमेरिकी अधिकारीको बदनाम गर्ने प्रयास भएको बताउनुभएको छ।

प्रतिनिधिसभामा गत बुधबारको पहिलो सुनुवाइमा तीनजना महत्वपूर्ण साक्षीको बयान टेलिभिजनबाट समेत प्रसारण गरिएको थियो। तर ट्रम्पले आफूूमाथिको आरोप खण्डन गर्दै नियोजित ढंगबाट प्रेरित षड्यन्त्र भएको र आफूविरुद्धको महाअभियोगको सुनुवाइमा आफूलाई कुनै चासो नभएको बताउनुभएको छ।

ट्रम्पका जेठा छोराले सो अभियोग राजनीतिक सम्भ्रान्तको सटिक उदाहरण भएको र वास्तविक अमेरिकीले सो कार्यलाई घृणा गर्ने बताउँदै सामाजिक सञ्जालमा ट्वीट गर्नुभएको छ।

डेमोक्रेटिक पार्टीका आफ्ना सहयोगीहरूसँगको बैठकमा अमेरिकी प्रतिनिधिसभाका सभामुख नेन्सी पेलोसीले मुलुकको सबैभन्दा गम्भीर घटना भएकाले ट्रम्पको जवाफदेहीता तय हुनुपर्ने बताउनुभएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।

ट्रम्प विवादमा तानिएको यो नै पहिलो घटना भने होइन, राष्ट्रपति पद सम्हालेयता उहाँ पटक–पटक विवादमा तानिनुभएको छ। उहाँमाथि युक्रेनलाई दिनुपर्ने सैन्य सहायता रोकेको आरोप छ। वाइडेनविरुद्ध जाँच निश्चित गर्न युक्रेनका नयाँ राष्ट्रपति जेलेन्स्कीलाई ट्रम्पले दबाब दिएको आरोप छ।

अमेरिकामा सन् २०२० मा राष्ट्रपतिको पदका लागि चुनाव हुँदै छ। डेमोक्रेटिक पार्टीका तर्फबाट सम्भावित उम्मेदवारमा जोय बाइडेन चर्चामा हुनुहुन्छ। दोस्रो कार्यकालका लागि ट्रम्प फेरि दोहोरिने चर्चा भइरहेका बेला निर्वाचनलाई प्रभावित पार्न नियोजित ढंगमा बाइडेनमाथि षड्यन्त्र रचिएको चर्चा हुन थालेको छ।

ट्रम्पविरुद्धको महाअभियोग छानविन एक महिनायता हुँदै आएको छ। छानविनबाट तर्किनु, आरोपबाट पन्छिनु, आफूलाई कानुनभन्दा माथि राखेर सोच्नु अमेरिकाजस्तो लोकतन्त्र र मानवअधिकारको अगुवा भनेर हेर्नेगरिएको मुलुकका राष्ट्रपतिलाई सुहाउने कुरा होइन।

हामी अल्पविकसित मुलुकले अमेरिकाजस्ता प्रभावशाली मुलुकबाट जे पनि सिक्नु हाम्रो हितमा हुँदैन। कार्यकारी प्रमुख भएपछि सबैतिर अपमानकोे भाषा बोल्न र कानुनको अपहेलना गर्नमिल्छ भन्ने पाठ सिकियो भने प्रतिगमनको यात्रा तय हुनेछ।

प्रतिक्रिया दिनुहोस्