संस्कृतिको ठेक्का गर्भवती महिलाको हुँदैन : सिर्जना सुब्बा



 

रंगमञ्चबाट फिल्म क्षेत्रमा होमिएकी अभिनेत्री सिर्जना सुब्बाले लुटमार्फत् फिल्मी कलाकारिता शुरु गरेकी थिइन्। फिल्म डाइङ क्यान्डलमा गरेको सशक्त अभिनयका कारण धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डका साथै धेरैको वाहवाही पाइन्।३ दर्जनभन्दा नाटक र आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी सिर्जनाले लुट, लुट २, सूर्यग्रहण, डाइङ क्यान्डल (निभ्न लागेको दियो), चक्कर, मिस्टर भर्जिन, कबड्डी कबडड्ीजस्ता थोरै फिल्ममा अभिनय गरेर पनि दर्शकको मन जित्दै आएकी छिन् भने उनको आउने फिल्म घरजम हो। उर्लाबारी, मोरङकी सिर्जना घरको नाटकमय वातावरणबाट प्रभावित भएर कलाकारितामा आएकी थिइन्। नाट्य क्षेत्रमा लागेको एक दशक बितिसक्दा पनि अभिनयको भोक नमेटिएको बताउने सिर्जनालाई बोल्ड लुक र अभिनयका लागि धेरैले चिन्ने गर्छिन्। स्पष्ट वक्ताको छवि बनाएकी सिर्जनाले केहीअघि फिल्मकर्मी पदम सुब्बासँग विवाह बन्धनमा बाँधिएकी थिइन् भने अहिले ८ महिनाको गर्भवती छिन्। प्रेमविवाह तथा बच्चाको विषय गोप्य राख्न चाहने नायिकाहरूलाई चुनौती दिँदै उनले गर्भवती अवस्थामा केही समयअघि प्रेग्नेन्सी फोटोसुटसमेत गराइन्। केहीअघि मण्डला थिएटरमा मञ्चित महाभोज नामक नाटकमा समेत गर्भवती प्रहरीको भूमिकामा प्रस्तुत भएकी सिर्जना मण्डला थिएटरको संस्थापक र सञ्चालकसमेत हुन्। सिर्जनासँग नेपाल समाचारपत्रकी संवाददाता रश्मी थापाले गरेको कुराकानी यहाँ प्रस्तुत छः


हाल के गर्दै हुनुहुन्छ?

 

अहिले त रेस्ट गरिरहेको छु। डेलिभरी डेट नजिक आएको कारणले गर्दा एक्साइटेड छु, डर पनि लागिरहेको छ।

गर्भवती अवस्थामा गर्भवती महिलाकै भूमिकामा महाभोज नाटकमा अभिनय गर्नुभयो, कतिको गाह्रो भयो?

गर्भवती अवस्थामा शारीरिक र मानसिक दुवैरूपमा गाह्रो त हुन्छ नै। म गर्भवती भएर पनि पेट लुकाएर सामान्य अवस्थाको भूमिकामा देखिनुपरेको भए झन गाह्रो हुन्थ्यो होला। तर गर्भवती प्रहरीको भूमिका थियो। त्यसले गर्दा धेरै गाह्रो भने भएन।

यस्तो संयोग र अवसर कमैले पाउँछन्। वातावरण पनि राम्रो र रोल पनि स्विटेबल थियो। आफ्नै अर्गनाइजेसन भएका कारण पनि सहज भयो। कथा पनि निकै राम्रो भएकाले दर्शकबाट धेरै राम्रो फिडब्याक पाएँ।

यति सशक्त अभिनेत्री र रंगकर्मी तपाईंले अकस्मात प्रेगेन्सी अवस्थामै बोल्ड फोटो सुट गर्नुभयो नि?

हाम्रो इन्डिस्ट्रिमा भएका लेडिजहरूका लागि यस्तो अवस्थामा फोटोसुट गराउनु भनेको एक प्रकारको ड्रिम हुन्छ। नेपालमा ३÷४ वर्ष अघिदेखि धेरै जनाले यस्तो फोटोसुट गराउनुभएको छ। ती फोटो हेरेर म पनि आफ्नो फोटोसुट बारे सोच्थेँ र प्लान बनाएको थिएँ।

यसका लागि मैले धेरैवटा फोटो र ड्रेसहरू कलेक्सन गरेको थिएँ। त्यहीअनुसार आफँैले फोटोसुट गराएको हुँ। खासमा आफ्नो ड्रिम पुरा गर्न र गर्भावस्था लाज मान्नुपर्ने विषय होइन भन्ने भ्रम चिर्नका लागि पनि मैले प्रेग्नेन्सी फोटोसुट गराएको हँु।

यो फोटोसुटपछि कस्तो प्रतिक्रिया पाउनुभयो?

यसमा मिश्रित प्रतिक्रिया पाएँ। कतिपयले एकदमै राम्रो लाग्यो, म पनि यस्तै फोटोसुट गराउँदै छु, यो महिलाका लागि महत्वपूर्ण क्षण हो भन्नुभयो भने कतिपय सन्तान जन्मिसकेका साथीहरूले मैले त यस्तो फोटोसुट मिस गरेँ पनि भन्नुभयो।

कतिपय मानिसहरू हुनुहुन्छ, जो आफूलाई एकदमै मोर्डन ठान्नुहुन्छ। तर विचारधारा चाहिँ संकुचित छ। त्यसमा मानिसले नेपाली संस्कृतिलाई बिगार्यो, यो एकदमै भल्गर भयो भन्ने पनि कमेन्ट गरे। मलाई लाग्छ कुनै पनि गर्भवती महिलाले नेपाली संस्कृतिको ठेक्का लिएर बसेको हुँदैन।

कतिपय महिलाले नै यो भल्गर भयो। म त यस्तो बेलामा पेट लुकाउँथे, डाक्टरकोमा जान पनि लाज मान्थेँजस्ता प्रतिक्रिया दिएको पनि पाएँ। तर गर्भवती भएकै कारण लाज मानेर बस्नुपर्दैन भन्ने लाग्छ।

यस्तो अवस्था भनेको खुशी भएर बस्नुपर्ने र आफ्नो नराम्रा बानी छन् भने बच्चाका लागि चेन्ज गर्नुपर्ने अवस्था हो। आमा बन्नु भनेको महिलाले जीवनमा पाएको राम्रो अवसर हो।


नाटकमा स्थापित भइसकेपछि फिल्म क्षेत्रमा आउनुभयो। फिल्म क्षेत्रबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?

नाटक खेल्दाखेल्दै पनि फाट्टफुट्ट फिल्ममा अभिनय गरिरहेकै थिएँ। मेरो खासै धेरै फिल्म पनि छैनन्। ६/७ वटा फिल्मबाट राम्रै प्रतिक्रिया पाएको छु। निराश हुनुपर्ने अवस्था छैन। फेरि हाम्रो समाजमा हिरोइनको मापदण्ड फरक छ।

हिरोइनलाई डमी क्यारेक्टरका रूपमा मात्र उभ्याइन्छ। त्यस कारण पनि कुन ठीक कुन बेठीक छानेर मात्र काम गर्छु। यसकारण पनि फिल्मको संख्या कम छन्। खेलेको फिल्ममा ५० पर्सेन्ट मार्क हुनुभनेको राम्रै हो। आफूले चाहेको जस्तो फिल्म भने अझै पनि खेल्न पाएको छैन।

अब कस्तो प्रकारको भूमिकामा अभिनय गर्ने चाहना छ?

अहिले नेपालमा बनिरहेका भन्दा फरक खालका आर्ट मुभिहरू गर्न मन छ। मलाई डमी क्यारेक्टरभन्दा पनि साहसी महिलाका बोयोपिकमा अभिनय गर्ने मन छ।

नेपालमा राजनीतिक तथा खेल क्षेत्रका महिलाको बायोपिक बनायो भने धेरै छन्। तर म मंगोलियन भएका कारण फिट नहुन पनि सक्छु। चाहना हो पुरा नहुन पनि सक्छ।

नाटक र फिल्मको अभिनयमा कुनमा सरल र कुनमा कठिन लाग्छ?

नाटक र फिल्म दुवैमा काम गर्न मज्जा लाग्छ। नाटकमा दर्शकका अगाडि प्रत्यक्ष अभिनय गर्नुपर्छ। बिग्रियो भने सच्याउन पाइँदैन। तर जीवन्त हुन्छ। फिल्ममा काम गर्दा चाहिँ नमिलेसम्म सच्याउन पाइन्छ। नाटकमा तन, मन, श्रम, दिमाग सबै लगाउनुपर्छ। फिल्ममा चाहिँ धेरै मेहनत नगरे पनि राम्रै पैसा पाइन्छ।


नाटक त निर्देशन गर्नुभयो, फिल्म निर्देशनबारे के सोच्नुभएको छ?

अहिले भर्खर एउटा मात्र नाटक निर्देशन गरेको छु। त्यो पनि साथीभाइले अभिनयमा १०/१२ वर्ष भयो, अब निर्देशनमा हात हाल्दा हुन्छ भनेपछि गरेको हुँ।
मलाई नाटक निर्देशकभन्दा पनि कलाकारको रूपमै काम गर्न पुगेको छैन। फिल्म निर्देशन गर्छु भनेर प्लान त बनाएको छैन। यहि क्षेत्रमा भएका कारण केही वर्षमा फिल्म निर्देशन गरँे भने अचम्म चाहिँ हुँदैन।

फिल्म क्षेत्रको कमीकमजोरी के देख्नुहुन्छ?

फिल्म क्षेत्रको कमीकमजोरी केलाउने हो भने धेरै छन्। मुख्य कुरा कथामै कमजोरी छ। फिल्मको जग भनेकै कथा हो, कथा नै बिग्रिसकेपछि अरू चिज जति नै सशक्त भए पनि फिल्म राम्रो हुँदैन।

तर पछिल्लो समय आशा लाग्दो न्यु जेनेरेसन फिल्म क्षेत्रमा भित्रिएका छन्। जसले गर्दा २० पर्सेन्ट फिल्म राम्रो बनेका छन्। तर ८० पर्सेन्ट फिल्महरूको हालत उस्तै छ।

नाट्य क्षेत्रको कमीकमजोरी चाहिँ के पाउनुभएको छ?

नाट्य क्षेत्रमा पनि कथाकै समस्या छ। एक त यो क्षेत्रमा कथा लेखकहरू कम छन्, अर्को जति छन् उनीहरूले पनि पुराना धारका कथा मात्रै पस्केको पाउँछु। जमिनदार, गरिबी रंगमञ्चमा बढी प्रस्तुत हुने विषय हुन्। समयअनुसारका कथाको कमी छ र सबै कुरा राम्रो भएर पनि कथामा चिप्लिएको हुन्छ।

हामी आफैं कथा लेख्न सक्दैनौँ भने कथा लेख्नेलाई फिल्मको जस्तो ३/४ लाख पनि दिन सकिँदैन। नाटकबाट लगानी मात्र उठ्छ। नेपालमा राम्रा कथा नभएका कारण हामी बाहिरका कथा एडप्ट गरेर पनि काम गरिरहेका हुन्छौँ। नाट्य क्षेत्रमा केही गर्छु भनेर आउनका लागि भने देखाउने ठाउँ प्रशस्त छ।

नेपाली फिल्म क्षेत्रमा दिइने पारिश्रमिकदेखि कत्तिको सन्तुष्ट हुनुहुन्छ?

पहिले मैले गर्दा ठिकै थियो। अहिले बढिरहेको छ। कोही नायिकाहरूले २० लाख लिएको पनि सुनेको छु। साँच्चिकै लिएको हो र लिन सकिन्छ भने एकदम राम्रो कुरा हो। यस्तो सुन्दा खुशी लाग्छ।

तर सबैभन्दा मन नपर्ने कुरा भनेको हिरो र हिरोइनबीच पारिश्रमिकमा धेरै नै डिफिरेन्स छ। हिरोले अढाइ ३ लाख दिँदा हिरोइनलाई ५० हजारदेखि डेढ लाखसम्म दिन्छन्।

हुन त नायिकाहरूलाई क्यारेक्टर नै त्यस्तै दिन्छन्। डोमिनेट क्यारेक्टर दिइने भएकाले पारिश्रमिक पनि त्यहीअनुसार दिएका होलान्। जुन कुरा मलाई एकदमै चित्त बुझ्दैन।

फिल्म तथा नाटकमा बोल्ड देखिनु तपाईंको रुचि हो कि आवश्यकता?

रुचि र आवश्यकताभन्दा पनि मलाई अफर आउने भूमिका प्रायः त्यस्तै हुन्छ। मानिसको आइडेन्टिटी जति नै लुकाउँभन्दा पनि सकिँदो रहेनछ। मलाई नजिकबाट संगत गर्ने व्यक्तिहरूले म रियलमा पनि बोल्ड छु भन्नुहुन्छ र म आफूलाई पनि त्यस्तै लाग्छ।

रियलमा देखेका मानिसहरूले मलाई पर्दामा पनि त्यस्तै बोल्ड क्यारेक्टर सुहाउँछ भनेर अफर गर्नुहुन्छ। मलाई रोनाधोना त्यति मन पर्दैन र गरेको पनि सुहाएन। मलाई बोल्ड सिनमा काम गर्दा नै कम्फर्ट महसुस हुन्छ।

सन्तानको आमा भएपछि तपाईंको कलायात्राले कस्तो मोड लेला?

त्यो त पछि थाहा हुने कुरा हो हेर्दै जाऊँ तर यो क्षेत्र छोडेर अर्कोमा लाग्ने सोच छैन। आमा भइसकेको पछि ५/१० वर्ष नै हराउने चाहिँ हँुदैन। बच्चा सानो रहुन्जेल समय दिनुपर्छ। अन्य कुराले मलाई बाधा गर्दैन, पर्दामा आउन केही समय लागे पनि नाटकमा त एक वर्षपछि नै सक्रिय हुन्छु।

मेरो परिवार निकै सर्पोटिभ भएको कारणले गर्दा उहाँहरूबाट पनि कुनै बाधा हुँदैन। यदि भयो भने म चुप लागेर पनि बस्दिन। श्रीमान् यही क्षेत्रमा हुनुभएकाले पनि सजिलो छ। अब उहाँहरूको फिल्म निर्माण गर्दै हुनुहुन्छ, म पर्दामा नदेखिए पनि ब्याकबाट केही न केही गर्ने नै छु।

छोरा वा छोरी के होस् भन्ने चाहनुहुन्छ?


पहिलो बच्चा भएको भएर यो होस् त्यो होस् भन्ने नै सोचेको छैन। अबको जमानामा पनि छोरा या छोरी भनेर भेद्भाव गर्न मिल्दैन। जे भए पनि बच्चा हेल्दि होस् र उसलाई राम्रो मान्छे बनाउन सकाँै भन्ने सोच छ।

छोराछोरी के छ भन्ने जानकारी त लिइसक्नुभयो नि?

नेपालमा छोरा या छोरी भनेर भन्दो रहेनछ। हामीले के छ होला भन्ने क्युरिसिटिले गर्दा २ चोटिसम्म डाक्टरलाई सोध्यौँ। नभनेपछि सरप्राइजका रूपमा लिएका छौँ।

जे भए पनि जन्मेपछि नै थाहा हुन्छ भन्ने हिसाबले बसेका छौँ। तर बाहिरबाट आमा दिदी साथीहरूले छोरा र छोरी दुवैको लुगा र सामानहरू पठाइरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्