शिवाकोटीलाई १ हजार डलरको इन्जा पुरस्कार



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले एक समारोहबीच इन्जा अन्तर्राष्ट्रिय पुरस्कार पत्रकार अजयबाबु शिवाकोटीलाई प्रदान गरेको छ।
इन्जा एसियाले लेखनकुञ्जमा गरेको कार्यक्रममा मानव अधिकारकर्मी कृष्ण पहाडी, इन्जा एसियाका अध्यक्ष टंक पन्त र पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले एक हजार डलरसहित प्रशंसापत्र हस्तान्तरण गर्नुभयो। पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत सो पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा मानव अधिकारकर्मी पहाडीले मिडियाले प्रेस स्वतन्त्रता, मौलिक हक, लोकतान्त्रिक आन्दोलनका लागि सबैभन्दा प्रभावकारी भूमिका खेलेको उल्लेख गर्नुभयो। प्रेस स्वतन्त्रबिना लोकतन्त्र, गणतन्त्रको विकास हुन नसक्ने भन्दै पहाडीले मानव अधिकार र प्रेस स्वतन्त्रता हनन हुने अवस्था आउन नदिन अहिले पनि खबरदारीको आवश्यकता रहेको औंल्याउनुभएको छ।

संसारभर छरिएका नेपाली पत्रकारको साझा सञ्जाल (इन्जा)को मुख्यालय अमेरिकाको भर्जिनियामा रहेको छ भने एसिया, युरोप, अस्ट्रेलिया र अमेरिकामा यसका महादेशीय शाखाहरू क्रियाशील छन्। इन्जा एसियाका अध्यक्ष टंक पन्तले इन्जाले आफ्ना कार्यक्रम कार्यान्वयन गर्न नेपाली पत्रकारहरू कार्यरत सबै देशमा फ्रेन्ड्स अफ इन्जा गठन गरेको बताउनुभयो।

उहाँले इन्जाले प्रेस स्वतन्त्रता र मानव अधिकारको पक्षमा काम गर्ने अन्य संस्थासँग सहकार्यसमेत गर्दै आएको बताउनुभयो। इन्जाले प्रेस स्वतन्त्रताको पक्षमा वकालत र पहरेदारी सँगसँगै मर्यादित र विश्वसनीय पत्रकारितामासमेत जोड दिँदै आएको उहाँले बताउनुभयो।

नेपाली पत्रकारको व्यावसायिक विकासका लागि आवश्यकताअनुसार तालिम, सामग्री र भ्रमणसमेत उपलब्ध गराउँदै आएको इन्जाले कानुनी राज्य स्थापनामा सहयोग पुग्ने गरी खोजमूलक उत्कृष्ट समाचारहरू सम्प्रेषण गर्ने पत्रकारलाई प्रोत्साहन दिन यस वर्षदेखि इन्जा अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने नीति लिएको छ।

नेपाली पत्रकार, व्यावसायिक तथा मर्यादित पत्रकारिताको विकासका लागि इन्जाले नोभेम्बर १७ अर्थात् मंसिर २ गते अमेरिकाको भर्जिनियामा ‘नेपाली पत्रकारितामा सहयोग गरौं’ भन्ने विशेष कार्यक्रम गर्न लागेको जानकारी पनि अध्यक्ष पन्तले गराउनुभएको छ।

पुरस्कृत पत्रकार हाम्रा कुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले पुरस्कारबाट आफूलाई थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभएको छ। उहाँले प्राप्त गरेको एक हजार डलरको पुरस्कारको राशिमध्ये २५ हजार नेपाली रुपियाँ उपचारका क्रममा मृत्यु भएका पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हस्तान्तरण गर्ने जानकारी गराउनुभएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसभापति तथा इन्जाका सल्लाहकार तारानाथ दाहाल, लेखन कुञ्जका अध्यक्ष कमल ढकाल, ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन, इन्जा एसियाका महासचिव दीपेन्द्रदोङ तामाङले सरकार जति मिडियाप्रति उदार हुन्छ त्यति लोकतन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रताका लागि सहयोग पुग्ने उल्लेख गर्नुभएको छ।

कार्यक्रममा पत्रकार महासंघका उपसभापति दिलीप थापा, सचिव रामप्रसाद दाहाल, संसदीय मामिला पत्रकार समाजका उपाध्यक्ष कृष्णा पौडेल, इन्जाका सल्लाहकार किस्मत भण्डारीलगायतले पुरस्कृत पत्रकारलाई बधाई दिनुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्