पशुकल्याणसम्बन्धी पत्रकारलाई तालिम



नेपाल समाचारपत्र, काठमाडौं।

पशुकल्याणसम्बन्धी पत्रकार तालिम हेटौंडामा शनिबारदेखि शुरू भएको छ। नेपालकै इतिहासमा पत्रकारलाई यस्तो तालिम पहिलोपटक दिइएको हो।
पशु र मानवबीचको सम्बन्धलाई मध्यनजर गर्दै ह्युम्यान सोसाइटी इन्टरनेसनल नेपालको साझेदारी र नेपाल पशुकल्याण संघसँगको सहकार्यमा नेपाल प्रेस इन्स्टिच्युटले सो तालिमको आयोजना गरेको हो।

तालिममा परम्परागतलगायत विभिन्न सञ्चारमाध्यम सम्बद्ध देशभरका २५ पत्रकार सहभागी छन्।धार्मिक मान्यताअनुरूप नेपालमा एकातिर पशुपक्षीलाई पुज्ने गरिन्छ भने अर्कातिर उल्लेख्य संख्यामा विद्यमान पशु क्रूरतालाई बेवास्ता गरेको पाइन्छ।

पशु क्रूरताको चरमरूप परम्परागत बलिप्रथा नेपालमा यत्रतत्र पाइन्छ। पशुकल्याणसम्बन्धी रिर्पोटिङको अवसर उजागर गर्नु तालिमको मूल उद्देश्य रहेको जनाइएको छ। यसले पशुकल्याणसम्बन्धी पशु तथा प्रकृतिप्रेमी पत्रकार सञ्जाल निर्माणमा सघाउ पुर्याउनेछ।

नेपाल पशुकल्याण संघसँगका अध्यक्ष तथा पशु अधिकारकर्मी स्नेह श्रेष्ठ तथा ह्युम्यान सोसाइटी इन्टरनेसनल नेपालका नेपाल निर्देशक तनुजा बस्नेतले बलिप्रथा, कानुनी संयन्त्रलगायत पशुकल्याणका विभिन्न पक्षमा प्रकाश पार्नेछन् भने वरिष्ठ पत्रकार मण्टेश्वरी राजभण्डारी, चन्द्रकिशोर, लक्ष्मण उप्रेती र चुनबहादुर गुरुङले सहजीकरणको भूमिका निर्वाह गर्नेछन्।

भूमि सुधार, कृषि तथा सहकारीमन्त्री दाबा दोर्जे लामाद्वारा उद्घाटित सो कार्यक्रमको उद्घाटन सत्रमा मुनु सिग्देल, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, तथा नेपाल पत्रकार महासंघ प्रदेश ३ का सभापति प्रताप विष्टसमेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्