खानेपानी मन्त्रीको अर्को दाबी



ललितपुर, (नेस)।

मेलम्ची खानेपानी नपुग्ने काठमाडौं उपत्यकाका केही भागमा सरकारले सिस्नेरी खोलाको पानी ल्याउने तयारी थालेको छ।सरकारले उपत्यकाको ललितपुर क्षेत्रभित्र खानेपानी आपूर्तिलाई सहज पार्ने उद्देश्यले मकवानपुरको सिस्नेरी खोलाबाट पानी ल्याउने तयारी थालेको हो।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन (भ्याली) बोर्डले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन थालेको खानेपानीमन्त्री विना मगरले जानकारी दिनुभयो।उहाँको नेतृत्वमा शुक्रबार बोर्डका पदाधिकारीसहितको टोलीले उक्त खोलाको अवलोकन र निरीक्षणसमेत थालेको थियो।

खानेपानीमन्त्री मगरले ललितपुरका धेरै ठाउँमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी आयोजना अघि बढाउन लागिएको जानकारी दिनुभयो।उपत्यकाको जनसंख्यालाई मेलम्ची खोलाको पानीले सन् २०३० सम्म धान्न सक्ने आकलन गर्दै उहाँले बढ्दो जनसंख्यालाई समेत मध्यनजर गरी त्यसको विकल्प पनि हेर्नुपर्नेमा जोड दिनुभयो।

सरकारले गरेको आकलनलाई मध्यनजर गर्दै ललितपुर क्षेत्रका लागि सिस्नेरी खोला आयोजनालाई प्रमुखताका साथ अगाडि बढाउन लागिएको उहाँको दाबी थियो।

‘अहिले यसको सम्भाव्यता अध्ययन अघि बढेको छ। चाँडै नै सिस्नेरी खोलाको डिपीआर सकेर काम थाल्छौं।’ –मन्त्री मगरको भनाइ थियो।यस आयोजनाअन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा संकलन गरिनेछ र संकलित पानी पम्प गरी सैंबु जलाशयमा पठाई ललितपुर महानगर क्षेत्रभित्र वितरण गरिनेछ।

सिस्नेरीमा बनाइने बाँधको लम्बाइ १ सय ९० मिटर र चौडाइ ७५ मिटर रहने बताइएको छ। सिस्नेरी बाँध स्थलदेखि सैंबु पानी प्रशोधन केन्द्रसम्म कुल १९ किलोमिटर रहेको छ।

निर्माणाधीन काठमाडौं निजगढ द्रुत मार्ग हुँदै सिस्नेरीदेखि सैंबुसम्म पाइपलाइन निर्माण गरेर पानी लैजान सकिने आकलन गरिएको छ। ललितपुरमा दैनिक १३ देखि १४ करोड लिटर पानी आपूर्ति गर्ने यस आयोजनाको कुल लागत २६ अर्ब रुपियाँ आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्