लागूऔषध कारोबारी महिला समात्न गाह्रो



नेपाल समाचारपत्र, बाँके।

बाँकेको हवल्दारपुरबाट २६ वर्षकी मीना गुभाजु ब्राउनसुगरसहित पक्राउ परिन्। स–साना पुरिया बनाएर बेच्दै गरेकी मीनालाई लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गर्यो। महिला प्रहरीलाई लगाएर मीनालाई समातिएको थियो। मीनाको साथबाट ७० मिलिग्राम ब्राउनसुगर बरामद भयो।

मीना अहिले प्रहरी हिरासतमा रहेकी छन्।पछिल्लो दिनमा सीमावर्ती भातीय शहर रुपैडिहाबाट लागूऔषध ल्याएर बेच्नेमा महिला पनि भेटिएका छन्। प्रहरीका अनुसार लागूऔषधको लतमा फस्ने महिलाको संख्या बढ्दो छ। अहिले त महिलाले कारोबार पनि गर्न थालेका छन्।

अधिक महिलाले घरपरिवारकै सदस्यसँग मिलेर कारोबार गर्ने गरेको पाइएको छ। आफूलाई नभई नहुने केहीले बचाएर बेच्ने र अर्को ‘डोज’ किन्ने पैसा बनाउने गरेका छन्।महिलाले पुरुषको तुलनामा सहजरूपमा लागूऔषध भित्रयाउने गरेको भुक्तभोगीहरू बताउँछन्।

प्रायः ब्राउनसुगर गोप्य अंगमा राखेर भित्रयाइन्छ। चाहे त्यो पुरुष हुन् या महिला। महिलाले स्तन र यौनाङ्गको आसपासमा राखेर ब्राउनसुगर ल्याउने गरेका छन्। लागूऔषध नियन्त्रण ब्युरोमा महिला प्रहरी नहुँदा कतिपय बेलामा समस्या भएको छ।

ब्युरोमा खटिएका एक प्रहरी भन्छन्– ‘महिलाले रजस्वला भएको भन्दै प्याड लगाएर त्यहीभित्र राखेर ल्याउँछन्। हामीलाई शंका लागेपछि महिला प्रहरी बोलाएर जाँच्न लगायौं। उनले घिन मानेर प्याड खोलेर हेरिदिइनन्।’

ब्युरोका इन्चार्ज वीरबहादुर थापाले ब्युरोमा महिला प्रहरी नहुँदा खासै समस्या नभएको बताउनुभयो। ‘हामीसँग नभए पनि छेउछाउका चौकीमा महिला प्रहरी छन्। उनीहरूलाई भनेर जाँच गर्ने गरेका छौं’, थापाले भन्नुभयो– ‘महिलालाई जाँच गर्न भने गाह्रो छ। सुराक पक्का हुनुपर्यो। गोपनीयताको कुरा पनि आउँछ।’

नाकामा खटिएको ब्युरोको टोलीले पुरुषलाई सजिलै खानतलासी गर्छन्। महिलालाई जाँच गर्न केही दिनदेखि ‘रेक्की’ गर्नुपर्छ। सुराक आए पनि पक्का गर्नुपर्छ। अनि मात्रै महिला बोलाएर जाँच गर्ने गरिएको छ। प्रहरीलाई कतिपय महिलाले बुर्का लगाएर कारोबार गरिरहेको सुराक आएको छ। तर, उसलाई समात्न भने सकेको छैन।

ब्युरोका इन्चार्ज थापाका अनुसार गत वर्ष पक्राउ परेकामध्ये ८ प्रतिशत महिला थिए। तथ्यांकले महिला प्रयोगकर्ताको संख्या बढ्दो नै देखाइरहेको छ। साउनयता भने धेरै महिला पक्राउ परेका छैनन्। ब्युरोले ६६ वटा कारबाहीमा ९६ जनालाई पक्राउ गरेर कारबाही गरेको छ।

यसमा महिला एक जना मात्रै छन्। नेपालगन्ज कारागारमा लागूऔषध मुद्दामा १६ जना महिलाले सजाय काटिरहेका छन्।सीमावर्ती भारतीय बजार रुपैडिहामा एक ग्राम ब्राउनसुगरलाई दुई हजारमा ल्याइन्छ।

त्यसलाई यता ल्याएर १५ वटासम्म पुरिया बनाएर बेच्ने गरिन्छ। एक पुरियाको कम्तीमा एक हजार रुपियाँ पर्छ।चरेस, अफिम बोक्नेमा भने महिला अधिक छन्। यिनीहरू भने प्रयोगकर्ता हुँदैनन्। कारोबारीले केही रकम दिएर निश्चित ठाउँसम्म पुर्याउन लगाएको हुन्छ।

चरेस बोक्दा पक्राउ पर्ने महिलाको संख्या नेपालमा मात्रै होइन, भारतीय कारागारमा पनि छन्। बहराइच जेलमा १० जना नेपाली महिलाले सजाय काटिरहेका छन्।

‘महिला, बालबालिका, अशक्तलाई कारोबारीले प्रयोग गर्छन्’, ब्युरोका इन्चार्ज थापाले भन्नुभयो– ‘धेरैजसो त भरिया हुन्छन्। केहीचाहिँ कारोबारी नै हुन्छन्।’

प्रतिक्रिया दिनुहोस्