छालादान गरौं रोगीको ज्यान बचाऔं



नेपाल समाचारपत्र, काठमाडौं।

रोटरी क्लब अफ बालाजुको आयोजनामा मानिसको मृत्युपछि छालादान गर्नेसम्बन्धी एक छलफल कार्यक्रम होटल प्यागोडा कान्तिपथ, काठमाडौंमा सम्पन्न भयो। क्लबका प्रेसिडेन्ट रामराज्य लक्ष्मी जोशीको अध्यक्षतामा आयोजना उक्त कार्यक्रम भएको थियो।

कार्यक्रममा कीर्तिपुर अस्पतालका छालारोग विशेषज्ञ डा. शंकरमान राई, डा. किरण नकर्मी र डा. सञ्जीव श्रेष्ठले समेत छाला प्रत्यारोपण सम्बन्धमा आ–आफ्नो धारणा प्रस्तुत गर्नुभयो। दुर्घटनामा परी नष्ट भएको मानिसको ९५ प्रतिशत पोलेको छाला प्रत्यारोपण गर्न सकिने धारणा राख्नुभयो।

मानिसको मृत्यु भएको ६ घण्टा वा फ्रिजमा राखेको २४ घण्टामा निकालिएको छालाबाट तीन जनासम्म छालाका बिरामीलाई प्रत्यारोपण गरी बचाउन सकिने धारणा राख्नुभयो। नेपाल सरकारको तथ्याङ्कअनुसार वर्षेनी ५६ हजार मानिस शरीर आगोले पालेर अस्पताल आउने गर्छन्।

कीर्तिपुर अस्पतालले सन् २००४ देखि वर्षेनी ६ सयभन्दा बढी छाला पोलिएका बिरामीको उपचार गरेको डा. राईले बताउनुभयो। बिरामीको एकतिहाइभन्दा बढी भाग जलेर नष्ट भएको अवस्थामा अन्य मानिसको शरीरबाट छाला निकाली प्रत्यारोपण गर्न छाला दानको आवश्यकता पर्दछ।

१६ वर्षमुनिका नाबालक, एचआईभी एड्स भएका, छालाको रोग लागेका, संक्रमण भई मरेका र जन्डिस भएका मानिसको छाला दान गर्न हुँदैन।
युना माथेमालीले छालादान सम्बन्धमा महत्वपूर्ण नोट्स प्रस्तुत गर्नुहुँदै मानिसको छालारोगका सम्बन्धमा हालसम्म गरेका क्रियाकलाप र भविष्यमा गर्नुपर्ने छालारोगका बिरामीलाई गर्नुपर्ने उपचारको पद्धतिसम्बन्धी आफ्नो महत्वपूर्ण सुझाब दिनुुभयो।

डा. राईले नेपालमा छाला रोगका बिरामीलाई छाला प्रत्यारोपण गर्ने तरिका र गरिएको प्रक्रियाबारे बताउनुहुँदै कानुनी समस्याका र पौराणिक रूढीवादी अवस्थाबारे समेत प्रकाश पार्नुभएको थियो।

डा. सञ्जीव श्रेष्ठले अमेरिकामा ड्राइभिङ लाइसेन्समा छालादानको छाप लगाएपछि परिवारका सदस्यको मन्जुरीबिना मृतकको शरीरबाट छाला निकाली अन्य दुईजना रोगीलाई छाला प्रत्यारोपण गर्नसकिने अनुभव दिनुभयो।

कार्यक्रममा रोटर अफ बालाजुका पूर्व प्रेसिडेन्ट धर्मराज अधिकारीले नेपालमा आँखा दानजस्तै पौराणिक अवस्थादेखि नै छालादान गर्न कुनै समस्या नभएकाले प्रचार–प्रसारको अभावमा छालादान ओझेलमा परेको अनुभव सुनाउनुभयो। उहाँले कार्र्यक्रमस्थलबाटै आफ्नो भविष्यमा आफ्नो मृत शरीरको छालादान गर्ने इच्छापत्र भरी सहीछापसमेत गर्नुभयो।

रोट्याट मनबहादुर लामिछानेले नेपालका कुन–कुन अस्पतालमा छाला प्रत्यारोपण गर्न सकिन्छ र यसको प्रचारप्रसारको अवस्था कस्तो रहेको छ भन्ने जिज्ञासामा डा. राईले काठमाडौंका पाँचवटा अस्पतालमा यो उपचार गर्नसकिने अबस्था रहेको र मोफसलका अस्पतालमा महँगो प्रविधि भएकोेले हाल सम्भव नभएको बिचार राख्नुभयो।

उहाँले सरकारले क्यान्सर र किड्नीलगायत विशेष उपचारमा दिने सहुलियत छाला प्रत्यारोपणमा पनि अत्यावश्यक उपचार हो भन्ने महसुस गरी प्राथमिकता दिएमा यसले अझ व्यापकता पाउने बताउनुभयो। कार्यक्रममा रोटर अफ बालाजुका अन्य सदस्यले पनि आफ्नो धारणा राख्नुभएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्