डम्पिङसाइडको फोहरको दुर्घन्ध सदरमुकामसम्म, फैलियो स्याल आतङ्क



अमरगढी । डडेल्धुरा सदरमुकाम क्षेत्रमा जम्मा भएको फोहर फाल्नका लागि व्यवस्थित स्थान नहुँदा नगरको सौन्दर्य बिग्रनुको साथै दुर्घन्धको समस्या बढ्न थालेको छ । अमरगढी नगरपालिका–७ को कुयली गाउँमा निर्माण गरिएको डम्पिङसाइडमा फालिएको फोहरको दुर्घन्ध सदरमुकामसम्म फैलिएको छ ।

झण्डै १५ वर्ष पहिले स्थानीय बासिन्दाको जमीन भाडामा लिई निर्माण गरिएको डम्पिङसाइटमा खुलारुपमा फोहर फाल्ने गरिएको छ । फोहरका कारण नजिकै रहेको धार्मिक क्षेत्र र आसपासका आधा दर्जन गाउँ प्रभावित भएका छन् ।

डम्पिङसाइट छेउमै अमरगढी–७ कुयली खोलाको मुहान भएकाले खोलाको पानीमा फोहर मिसिने गरेको छ । स्थानीय बासिन्दाले पशु चौपायालाई खोलाको पानी खुवाउनेदेखि दैनिक सरसफाइका लागि प्रयोगमा ल्याउने गरेका छन् । डम्पिङसाइट हाल गाउँको बीचमा र सडक छेउमा रहेकाले अर्को स्थानमा सारिनुपर्ने या व्यवस्थित गर्नुपर्ने भन्दै स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएका छन् ।

डम्पिङसाइटमा फोहर खुलारुपमा फालिने गरेकाले स्याल, कुकुरको समेत गाउँमा आतङ्क फैलिएको स्थानीय अमरगढी–८ का लोकबहादर कैनीले बताउनुभयो । डम्पिङसाइट नजिकै हुँदा सुदूरपश्चिमको महत्वपूर्ण धार्मिक क्षेत्र उग्रतारा मन्दिरसमेत प्रभावित भएको उहाँको भनाइ छ । अमरगढी नगरपालिकाले भने डम्पिङसाइडका लागि उपयुक्त जमिन नपाएको भन्दै खोजी कार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्